एउटा कविताको शक्ति
‘क्यारूँ म यो देशनिमित्त क्यारूँ
नाचूँ कि गाऊँ कि गला मिलाऊँ
काटेर आफ्नो शिर यो चढाऊँ
या श्वास जम्मै यसमै मिसाऊँ...’
देशमाथि योभन्दा उच्च भक्तिगान सम्भवतः अर्को लेखिन सक्दैन। यो देशभक्ति भावमा शब्दहरू पोख्ने युगकवि सिद्धिचरण श्रेष्ठ आज हाममिाझ छैनन्। तर उनका शब्दहरू अमर रूपमा जीवित छन्। त्यसो त, विद्रोही कविता लेखेवापत सर्वस्वहरणसहित ६ वर्षको काराबास–सजाय भोग्ने कवि पनि उनै थिए। विडम्बना ! शासनसत्ताको गान गाएर मन्त्री बन्ने पनि यही देशका कवि भए। ज्ञात रहोस्, कविहरू सदैव सत्ताको विपक्षमा हुन्छन्। एक हिसाबले भन्नुपर्दा, कविहरू कहिल्यै सन्तोकी हुँदैनन्। पूर्ण सन्तुष्ट भएको दिन कविमा ‘कवित्व’ रहँदैन, ती सामान्य मान्छे बन्छन्। तिनै सामान्य मान्छेका बीचमा जन्मेका थिए असन्तोकी युगकवि सिद्धिचरण श्रेष्ठ।
यो माघ महिनाको मध्य दिन। एउटा विशेष दिन। र, यो दिनको नजिकको नाता छ सिद्धिचरण श्रेष्ठसँग।
‘चम्क युवक चम्क न चम्क
बरु बाँच युवक दुई घडी मात्र
चम्की उज्यालो पारी समस्त
के छ र बाँची लाखन वर्ष
पारी अँध्यारो भित्र बाहिर
चम्क युवक चम्क न चम्क...’
यो बहुचर्चित कविता उनै सिद्धिचरणद्वारा लेखिएको हो। यसलाई बहुचर्चित किन भनिएको भने यो त्यही कविता हो; जसले गंगालाललाई सहिद बनाउने भूमिका खेलेको थियो। सुन्दा नमीठो लाग्छ। जिउँदोजाग्दो मान्छेलाई सहिद बनाउन भूमिका निर्वाह गर्ने विषय वा वस्तुलाई सकारात्मक रूपमा लिन सकिन्छ र ? तर कुरो त्यसो होइन। कसैलाई सहिद बनाउने सपना बोकेर त्यो कविताको रचना पक्कै पनि गरिएको थिएन होला। कुरो यत्ति हो कि त्यो कविता ऊर्जाशील थियो। त्यही ऊर्जाका साथ त्यसबेलाका चेतनशील युवा गंगालाल श्रेष्ठ तत्कालीन राणाशासनको विपक्षमा लागिपरेका थिए।
सिद्धिचरण श्रेष्ठको कविता सुन्ने क्रममा दशरथचन्दले भनेका थिए, ‘कविजी, देशको अवस्था यस्तो छ। तपाईं भने यस्तो फरफर र सरसर के कविता लेख्नुहुन्छ ? युवाहरूलाई राणाशासनविरुद्ध जुर्मुराउने खालको कविता लेख्नोस् न ! अनि पो लेखेको सार्थकता रहन्छ।’
राणाकालको दबदबाबीच यस्तो विद्रोही कविता लेखिनु स्वयंमा कविका लागि एकातिर जोखिम त थिँदै थियो; अझ त्यसभन्दा पनि बढी जोखिम मोलेका थिए गंगालाल श्रेष्ठले। त्यसै पनि तातो युवा रगत, त्यसमाथि यस्तो कविता ! यो कविताबाट उनी यो हदसम्म प्रभावित थिए कि कुनै मञ्च पाउनासाथ यही कविता वाचन गरिहाल्थे। कतिसम्म भने मन्त्र जपे झैं जतिखेर पनि गाउँदै हिँडेका भेटिन्थे। यही प्रसंगमा प्राध्यापक देवीलाल श्रेष्ठ (सहिद गंगालाल तथा पुष्पलालका भाइ) ले भनेअनुसार, उनीहरूका घर राजधानीस्थित प्याफल टोलमा थियो। त्यो टोलको एउटा गल्लीमा रहेको उनीहरूको घरमा ४+३० फिटको एउटा बरन्डा थियो। त्यही बरन्डामा ठूल्ठूलो स्वरले उक्त कविता पाठ गर्दै उनी ओहोरदोहोर गरिरहन्थे। त्यसो त, तत्कालीन रूपमा गठन गरिएको नेपाल प्रजापरिषद्को सदस्य बनेपछि गंगालाल स्वयंले पनि यस्तो कविता रचेका थिए–
‘नेता नेतादि सबले मर्नु साझा सबको
सब शव गई बस्छन् काखमा चिताको
किन डरूँ मृत्युदेखि मर्न कम्बर कसेको
हुँ एक वीर पुत्र वीर माता नेपालीको... ’
राणाशासकका लागि किन सह्य हुन्थ्यो गंगाललालको यस्तो प्रवृत्ति ? अन्ततः एक दिन उनी पक्राउ परे। भनिन्छ, गंगाललालको जोसले चरम यातनायुक्त बन्दी जीवनमा पनि कहिल्यै हरेश खाएन; त्यहाँ पनि उनी यही कविता गुनगुनाइरहन्थे। मनमा रहेपछि कसको के लाग्छ र ? जतिसुकै कठोर बन्धन होस्; मनको आवेगलाई छेक्न नसक्ने रहेछ ! यही विषयलाई लिएर प्राध्यापक श्रेष्ठले ०५६ सालतिर मसँग भनेका थिए, ‘दाजु गंगालालको सहादतसँग सिद्धिचरणको यो कविताको प्रसँग जोडेर मैले एउटा उपन्यास लेखेको छु।’ उनले मलाई उपन्यासको शीर्षकसमेत बताएका थिए, ‘हत्यारा सिद्धिचरण’। छाप्ने सिलसिलामै थिए, दुर्भाग्यवश केही समयपश्चात् उनको निधन भयो। र, त्यो उपन्यासको पाण्डुलिपि त्यत्तिकै हरायो। मलाई लाग्छ, गंगालाल र त्यो कविताको भित्री सम्बन्धलाई राम्रोसँग बुझ्ने एक्लो जीवित व्यक्ति उनै थिए। सम्भवतः उपन्यासमा त्यसको गहिरो व्याख्या थियो।
हुन पनि देवीलालले भनेकै थिए, ‘मैले यो उपन्यासमा एकदमै सत्य लेखेको छु।’ उनी निश्चिन्त थिए, कदाचित् गंगालालले त्यो कविता नपढेका भए उनी सहिद हुँदैनथे।
प्रश्न उठ्छ– के त्यसो भए सिद्धिचरण अपराधी थिए ? त्यो कविता लेखेर सिद्धिचरण पछि पछुताएका थिए ? गंगालाल जेलमा पर्नु र झन् सहिद नै बनाइनुले सिद्धिचरणलाई आत्मग्लानिबोध भएको थियो ? सायद यी प्रश्नहरूको सहज उत्तर त्यो उपन्यासमा थियो। तर देवीललालको निधनसँगै त्यो अध्याय समाप्त भइसकेको छ।
त्यसो त, सिद्धिचरणले यो कविता यत्तिकै लेखेका थिएनन्। यसको रचनागर्भ चाखलाग्दो छ। एक दिन सिद्धिचरणले दशरथचन्दलाई आफूले रचना प्रकृतिवादी गरेका कविता सुनाइरहेका थिए। सबै कविता श्रवण गरिसकेपछि दशरथचन्दले प्रतिक्रिया व्यक्त गरे, ‘कविजी, देशको अवस्था यस्तो छ। तपाईं भने यस्तो फरफर र सरसर के कविता लेख्नुहुन्छ ? युवाहरूलाई राणाशासनविरुद्ध जुर्मुराउने खालको कविता लेख्नोस् न ! अनि पो लेखेको सार्थकता रहन्छ।’
यही प्रतिक्रियाको फल थियो– चम्क युवक चम्क न चम्क। र, सिद्धिचरणको यो कविताले रङ देखायो। उक्त कविताले आफ्ना पिताजीको आज्ञापालन गरिबस्ने गंगालालको अठोटलाई धैर्यपूर्वक रहन दिएन। घरपरिवारप्रतिको मायामोहलाई उनले तिलाञ्जली दिए र पूर्व १ नम्बर चौतारामा मालका हाकिम भई बसेका आफ्ना बाबुलाई एउटा यस्तो व्यहोराको चिठी लेखे–
‘तपाईं मेरो पिता हुनुहुन्छ।... म जन्मभूमिप्रतिको कर्तव्यमा तपाईंको आज्ञाले पछि हट्न सक्दिनँ,... चुपचाप राष्ट्रको पाप बोक्न सक्दिनँ। अब मेरो माया मारिदिनोस्। मेरा अरू भाइ छँदै छन्। देशभक्त पुत्र गंगालालको निवेदन छ– एउटा छोरालाई नेपालआमाको निम्ति बलिदान दिनुहोला। अन्याय र अत्याचारविरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु।’
आजको मितिमा, कुनै काल्पनिक कथाका जस्ता यी शब्दले छुन्छन् होला– देशका लागि काम गर्छु भन्ने राजनीतिज्ञहरूलाई ?