एपीएफको अपराजित यात्रा : सावित्राको अर्को ह्याट्रिक (फोटो फिचर)
काठमाडौं : विभागीय टोली एपीएफ क्लबले महिला लिग फुटबलमा अपराजित यात्रा जारी राखेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । जारी लिगमा एपीएफको यो लगातार चौथो जित हो ।
जितसँगै १२ अंक बनाएको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । पुलिसको भने पहिलो हार हो । पुलिसले समान खेलबाट पाँच अंक बनाएको छ । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । सावित्रा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।
अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलले हरायो । वालिङलाई जिताउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् । सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले एक÷एक गोल थपेका थिए । वालिङकी मिथो रुथ प्लेयर अफ दी म्याच घोषित भइन् । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाइन् ।
फागुन ७ गतेसम्म चल्ने लिगमा तीन विभागीय टोली र चार नगरपालिका गरी सात टोलीको सहभागिता छ । लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । तस्बिर : सुनिता डंगोल

















प्रतिक्रिया दिनुहोस !