भीड : एउटा रोमाञ्चक भ्रम
सही र गलत छुट्याउने आधार के हो ? एक हिसाबले सामान्य रूपबाट यसको जवाफ खोज्न त्यत्ति सहज छैन, तर अलिक फरक दृष्टिकोणले हेर्ने हो भने, यसलाई छुट्याउन एउटा उपाय अवलम्बन गर्ने गरेको देखिन्छ। तर त्यसबाट आउने निष्कर्ष नै आधिकारिक हो भन्नेमा चाहिँ सहमत हुन सकिन्न। जस्तो कि– कुनै एउटा विषयलाई लिएर ‘त्यो’ लोकप्रिय भएको कुरामा सत्यता छ कि छैन भन्नेमा परीक्षणका लागि मान्छेहरूबीचमा गएर अभिलेख लिन्छन्, जहाँबाट बहुमतको आधारमा त्यसको लोकप्रियताको आकलन गरिन्छ।
उदाहरणका लागि– कुनै एउटा नयाँ किताब, जसको बजारबाट भएको बिक्रीलाई त्यसको लोकप्रियताको द्योतक मानिन्छ। तर त्यसो होइन कि ! बिक्री हुनु भनेको त के केवल दोस्रोले खरिद गरेको मात्रै होइन र ? यस आधारमा भन्नुपर्ने हुन्छ– खरिदको अर्थ त्यो पैसाको विनिमय मात्रै हो। अर्थात्, त्यो विनिमयले लोकप्रियताको पुष्टि गर्दैन। लोकप्रिय भनेर त त्यतिबेला भन्न सकिन्छ, जब त्यो किताब पढेर बढीसे बढी मन पराइन्छ र मन पराइएपछि किताबको राम्रो पक्षबारेमा चर्चा–परिचर्चा–बहस हुने गर्छन्। अन्यथा, बिकेकै भरमा लोकप्रिय भएको ठान्ने हो भने हाम्रो जस्तो देशमा नयाँ वर्ष लाग्दानलाग्दै बिक्री हुन सुरु गर्ने नयाँ वर्षको ‘पात्रो’ नै लोकप्रिय हुनुपर्ने हो। तर पात्रोको बिकाइलाई लोकप्रिय मान्न सकिन्छ र ? थाहा छ, पात्रो लोकप्रिय भएर बिक्री भएको होइन। आवश्यकताले बजारमा त्यसो भएको हो। यस अर्थमा, लोकप्रियतालाई संख्याको कसीमा आकलन गर्न मिल्दैन।
आज बजारमा यत्रतत्र जुलुस छ, नारा छ, अर्थात् भीड छ। यही भीडको प्रसंगलाई लोकप्रियतासँग जोडेर हेरौँ। भीड, राजनीतिक माहोल तात्तिएर बनेको छ। एकातिर, सरकारी भीड छ, अर्थात् संसद् विघटन गर्ने सरकार समर्थकहरूको भीड। अर्कोतर्फ, संसद् किन विघटन गरेको ? पुनस्र्थापना हुनुपर्छ भन्ने सरकारविरोधीको भीड छ। त्यहीँनिर फरक धारमा उभिएका राजावादी÷राजतन्त्रवादीको जमात छ भने फेरि नेपाली कांग्रेसलगायतकाको समूह भिन्नै छ। यी एकै प्रसंगभित्रका भिन्न–भिन्न भीडले आफूलाई लोकप्रिय सावित गर्न शब्दहरूका कुनै कसर बाँकी राखेका छैनन्। वास्तवमा, यी भीडहरूमध्ये लोकप्रिय कुनचाहिँ, अझ भनूँ– सबैभन्दा लोकप्रिय भीड कुनचाहिँ हो ? छुट्याउन बडो मुश्किल छ। प्रत्येक भीडमा नेताहरू बोलिराखेका छन्, उत्तेजक भाषण दिइराखेका छन् र तिनका वाक्यैपिच्छे परर... ताली बजिराखेको छ। प्रधानमन्त्री ओलीले केही दिनअघि सम्भवत: आफैँलाई समेत व्यंग्य गर्दै भनेको वाक्य स्मरणीय र सायद सही पनि छ। भनेका बेहोरा यस्तो थियो, ‘भीड त चटक देखाउनेले पनि बटुल्छ। भीड रत्नपार्क–टुँडिखेलतिर बाकसमा औषधि बेच्नेको वरिपरि पनि हुन्छ।’
भीडको कुनै भर हुन्न। भीड स्वयंमा भीड हो, भीडले केवल भीडमा विश्वास गर्छ। आफू मिसिएको भीड देखेर एक–आपसमै रमाउँछन्।
प्रधामन्त्रीको भनाइको अर्थ यसरी लगाउन सकिन्छ, औषधि बेच्नेका अगाडि उभिएका सबैले उसको औषधि पक्कै किन्दैनन्। वा चटक देखाउनेको चर्तिकला हेर्ने सबै तमासेहरूले ताली त एकै लयमा बजाउलान्, तर चटक हेरेबापत् खुसी भएर सबैले त्यो चटकेलाई पैसा दान दिँदैनन्। सबै ठाउँमा सम्पूर्ण विषयमा सर्वसहमति हुनै सक्तैन। औषधि बेच्नेले आफ्नो औषधि सक्कली भएको तथ्य प्रमाणहरूलाई बोलेर–देखाएर पुष्टि गर्न खोज्छ। तर कतिपयलाई उसको औषधि नक्कली लाग्छ। जस–जसलाई नक्कली लाग्छ, तिनले किन्दैनन्। फेरि कतिपयलाई सक्कली लाग्छ, सक्कली ठान्नेहरूले किन्छन्। त्यसरी नै, चटक देखाउनेप्रति कसैले विश्वास गर्छन् पनि र कसैले विश्वास गर्दैनन्। यसको अर्थ स्पष्ट रूपमा सही र गलतको फरक छुट्याउने त्यो भीडसँग कुनै आधार हुँदैन। अर्थात्, तमासेहरूले ताली पिटेकै भरमा चटकेको विश्वसनीयतालाई आकलन गर्न सकिन्न, जसरी औषधि बिक्री भएको संख्याकै आधारमा औषधि पनि सक्कली र नक्कली के हो, पहिचान गर्न सकिन्न।
आजको राजनीतिक (?) भीड ठीक त्यस्तै छ। भीडमा उपस्थित जनसंख्याको आधारमा अथवा तिनले बजाएको ताली देखेर भीडनेताले आफू सही हुँ भन्ने आधार मान्न खोजिएको देखिन्छ। कहीँ, शायद नेपोलियन बोनापार्टको इतिहासमा यस्तो पढ्न पाइन्छ–
एक दिन, नेपोलियन भाषण गर्न गए। उनको भाषण सुन्न अनगिन्ती जनता उर्लिएका थिए। यसैक्रममा उनका एक सहयोगीले जनताको भीडतर्फ लक्षित गर्दै भने– ‘महाशय, तपाईं कति लोकप्रिय हुनुहुन्छ ! हेर्नुस् त, तपाईंका भाषण सुन्न कति धेरै मान्छे जम्मा भएका !’ तत्काल नेपोलियनले तार्किक प्रतिक्रिया जनाए– ‘म मरेँ भने योभन्दा ठूलो भीड मेरो लाश हेर्न आउँछ।’ यो भनाइको अर्थ हो, मान्छे सधैँ तमासा हेर्न लालायित रहन्छन्। यसबाट बुझ्न सकिन्छ, तमासा हेर्न आउनेहरू तमासा हेरेर रमाउँछन्, ती आउनेहरू त्यसका समर्थक हुँदैनन्। त्यसैले निश्चित रूपमा भन्न सकिन्छ– देखिएको भीडले लोकप्रियताको पुष्टि गर्दैन। यस दृष्टिकोणले हेर्दा, आज सडक–पार्क–चउर–सभाहलहरूमा जम्मा भएको भीड पनि लोकप्रियताको कसी होइन।
भीडको मनोविज्ञान जे–जस्तोसुकै होस्, भीडको खास विश्लेषण गर्ने हो भने यति खुलेरै भन्नुपर्ने हुन्छ– यो भीड एउटा रोमाञ्चक भ्रम हो। एकछिन यसले मीठो खुसी दिन सक्छ, रमाइलो अनुभूति पैदा गर्न सक्छ, यसले देखाउने हाउभाउले कुनै नाटक हेरेको भान पर्न सक्छ। तर यी सबै क्षणभंगुर हुन्, एकैछिनको बालुवाको पानी। जुन भीड भाषणस्थलमा भाषण सुनेर थप्पडी बजाइराखेको छ, त्यही भीड भाषण सुनिसकेर एक–आपसमा छुट्टिन्छन् र आ–आफ्ना घरमा पुग्छन्। घरको रेडियो या टेलिभिजनमा फेरि अर्को पक्षको भाषण सुन्छन्÷हेर्छन् र मख्ख पर्छन्।
भीडको कुनै भर हुन्न। भीड स्वयंमा भीड हो, भीडले केवल भीडमा विश्वास गर्छ। आफू मिसिएको भीड देखेर एक–आपसमै रमाउँछन्। र, ती रमाएका देखेर ऊ पनि रमाउँछ जो भीड बटुली भाषण गरिरहेको हुन्छ। उसलाई थाहै हुन्न, वास्तवमा त्यो रमाउनु उसको अन्तत: आत्मरति मात्रै हो। भीड सम्पूर्ण सत्य होइन। चेतना भया !