तापक्रम माइनसमा

तापक्रम माइनसमा

बेंसीसहर : शुक्रबार बिहानदेखिको हिमपातले मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १० डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘चिसो अत्यधिक बढेको छ । कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । शुक्रबार र शनिबार गरेर एक फुटभन्दा बढी हिउँ जमेको छ ।’ शनिबार सुरक्षा निकायले हिउँ पन्छाएर बाटो खोल्ने प्रयास गरे पनि पुनः हिमपात दोहोरिएर बाटो अवरुद्ध भएको छ ।

आइतबार गोरेटो तथा मोटरबाटो खुलाउन पहल गरिने प्रजिअ लामिछानेले बताए । मनाङको नासों गाउँपालिका–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको छ । मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकामा एक फिटभन्दा बाक्लो हिमपात भएको हो । सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।

हिमपातले जनजीवन कष्टकर भए पनि किसानहरू भने खुसी छन् । हिमपातले आलु, फापर, गहुँ, जौ,  उवालगायत बालीलाई राम्रो गर्ने गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल गुरुङले बताए । निस्याङ गाउँपालिका–१ ढिकुरपोखरीका पर्यटन व्यवसायी समीरबाबु घलेका अनुसार मनाङमा यो वर्षको पहिलो हिमपात हो । शनिबार लमजुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।
 
निभ्यो डढेलो
हिमपातले मनाङको ताचैमा लागेको डढेलो निभेको छ । दुई सातादेखि लागेको आगो शुक्रबारको हिमपातले निभेको हो । मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाको जंगलमा पुनः आगो लागेको थियो ।

जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग गर्दा पनि नियन्त्रणमा नआएको आगो अब भने रोकथाम भएको प्रजिअ लामिछानेले बताए । उनले भने, ‘हिमपातले मनाङको डढेलो नियन्त्रण भएको छ ।’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पनि हिमपातपछि डढेलो नियन्त्रणमा आएको बताए । ‘गाउँको चारैतिरका डाँडाकाँडामा आगलागी भएको थियो, अहिले नियन्त्रणमा आयो’, उनले भने, ‘आगो निभाउन नसक्दा साह्रै चिन्तामा थियौं, हिमपातले हाइसन्चो बनायो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.