संकटमा भोजपुरे करुवा
भोजपुर : भोजपुरे करुवा उद्योग संकटमा पर्न थालेका छन्। कोइला, काठलगायतका वनपैदावरको कमी हुन थालेपछि कलात्मक करुवा उद्योग बन्द हुने क्रममा पुगेका छन्।
भोजपुरे खुकुरीपछि करुवाले देशविदेशमा ख्याति कमाएको छ। भोजपुर नगरपालिका–१२ टक्सार क्षेत्रमा कुनै बेला घरैपिच्छे कलात्मक धातुका सामान बनाइन्थ्यो। तर, अहिले गाह्रो, अप्ठ्यारो, फोहोरी काम भन्दै नयाँ पुस्ताले यो पेसा छाडिसकेको छ। केही घरधुरीले जसोतसो कच्चापदार्थ जुटाएर यो पेसा धानिरहेका छन्। नयाँ वन ऐनले खुला रूपमा काठ, कोइला जस्ता वनपैदावर निकासीमा कडाइ गरेपछि सहज रूपमा कच्चा पदार्थ जुटाउन समस्या भएको उद्योगी बताउँछन्।
वनको प्रतिबन्धले कच्चा पदार्थ नपाउँदा गाउँका सबैले परम्परागत पेसा छाडिसकेका स्थानीय बुद्धराज शाक्यले बताए। ‘एकातिर साल, सिसौ, खयरका रूख पाउनै गाह्रो, अर्कोतिर वनले रोक लगाएपछि कच्चा पदार्थ ठप्पै छ, व्यवसाय चलाउनै गाह्रो छ’, विगत २८ वर्षदेखि करुवा बनाउँदै आएका उनले भने, ‘कच्चा पदार्थ अभावले बाँकी उद्योग पनि बन्द हुने अवस्थामा छन्।’ धातु उद्योगसम्बन्धी तालिम, प्रवद्र्धन गर्ने निकाय, सरकारी बजेट नहुँदा यो पेसा संकटमा परेको शाक्यसहितका उद्योगीको गुनासो छ। घरेलु उद्योग विकास समितिले पनि धातु उद्यमीका लागि तालिम र अनुदानमा बेवास्ता गरेको अर्का उद्यमी देव शाक्यले बताए। पुख्र्यौली पुरानो पेसाप्रति ऊर्जा थप्न र जनशक्ति टिकाउन प्रशिक्षण आवश्यक रहेको उनको ठहर छ। ‘बेलाबेला हामीलाई तालिम, प्रशिक्षण गराए सबै जातिले यो पेसा गर्न सिक्थे, जसले हाम्रा कला, पेसाको पनि सम्वद्र्धन हुने थियो’, उनले भने।
नयाँ पुस्ताले यो पेसामा चासो नलिएको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले जनाएको छ। सो कार्यालयका निमित्त प्रमुख गुरुभक्त श्रेष्ठले भने, ‘नयाँ पुस्तामा यो पेसाप्रति कुनै चासो देखिँदैन, भएका धातु उद्यमीले पनि परम्परागत शैली नै रुचाएका छन्।’ समितिले धातुका सामग्रीलाई प्रवद्र्धन र सहजीकरण गर्न देशविदेशका प्रदर्शनीमा सहभागी गराउने गरेको उनले बताए। व्यवसायी बद्री श्रेष्ठका अनुसार पछिल्लो समय भोजपुर बजारमा दक्ष कालिगड अभावले मागअनुसारका सामग्री तयार गर्न समस्या भएको छ। यहाँ उत्पादित सामग्री सात दिनसम्म पानीमा राख्दा पनि लेउ र खिया नलाग्ने भएकाले गुणस्तरमा शंका गर्ने ठाउँ नभएको उनको भनाइ छ।
एउटा बुट्टे करुवा तयार गर्न ३ महिनासम्म लाग्छ। यहाँको करुवा अन्यत्रका आयातीतभन्दा कलात्मक र टिकाउ भएकाले माग धेरै हुने गरेको अर्का व्यवसायी ईश्वर श्रेष्ठले बताए। भोजपुरमा उत्पादित कलात्मक करुवाको मूल्य १ हजार १ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा किनबेच हुन्छ।
अन्यत्रका काँसे थाल १८ सयदेखि ३५ सय रुपैयाँसम्म पर्छ भने यहाँ उत्पादित त्यस्ता थाल ३ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बेचबिखन हुने व्यवसायी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !