खेतखेतमा पानी

खेतखेतमा पानी

सुदूरपश्चिम प्रदेशमै संघीय सरकारबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको एकमात्र आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले वैशाख १ गते किसानको खेतमा सिँचाइ पुर्‍याउने भएको छ। 


टीकापुर /कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमै संघीय सरकारबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको एकमात्र आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले वैशाख १ गते किसानको खेतमा सिँचाइ पुर्‍याउने भएको छ। 

आयोजनाले मूल नहरदेखि क्यानल निर्माणको काम सम्पन्न गरिसकेको छ। कटासेमा निर्माण भइरहेको ४.७ मेगावाट विद्युत्् क्षमताको पावरहाउसमा साइड क्यानल निर्माण गरेर आयोजनाले वैशाख १ गते किसानको खेतमा सिँचाइ पुर्‍याउने भएको हो। पावरहाउसको बाइपास क्यानल निर्माणको काम सम्पन्न भइसकेको छ। 

मूल नहरबाट आउने पानीलाई बाइपास क्यानलबाट परम्परागत रूपमा सञ्चालनमा आएका रानी जमरा र कुलरिया कुला हुँदै किसानको खेतसम्म छोडिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अनुभव चौधरीले बताए। ‘वैशाख १ गते मूल नहरबाट क्यानल हुँदै रानी जमरा र कुलरिया कुलामा सिँचाइको पानी छोड्ने गरी काम भइरहेको छ’ इन्जिनियर चौधरीले भने ‘निर्माणमा कुनै अवरोध नभए वैशाखमा किसानको खेतमा आयोजनाको पानी पुग्नेछ।’

चौधरीका अनुसार नहरमा ४० मिटरक्युव परसेकेन्ड पानी छोडेर सिँचाइ पुर्‍याइनेछ। मुल नहरमा १०० मिटरक्युज परसेकेन्ड पानी छोड्न सकिनेछ। मूल नहर सञ्चालन भए कैलालीको पूर्वी क्षेत्रको १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुग्नेछ। 

सिँचाइ उपभोक्ता किसानहरूको संस्था रानी जमरा कुलरिया जल उपभोक्ता संस्थाका उपाध्यक्ष लालवीर चौधरीले आयोजना, मन्त्रालय र किसानहरूका बीच वैशाखमा सिँचाइ पुर्‍याउने गरी सम्झौता भएको बताए। 

‘सिँचाइ सञ्चालनका लागि अधिकांश कामहरू सम्पन्न भएका छन्, पावरहाउसमा बाइपासबाट पानी छोडेर वैशाखमै सिँचाइ किसानको खेतमा पुग्नेछ’ उपाध्यक्ष चौधरीले भने ‘किसानहरूले लगाउने चैते धानमै सिँचाइ पुग्ने विश्वास छ, अब किसानहरूले ढुक्कले सिँचाइ सुविधा पाउने छन्, हाम्रा लागि निकै खुसीको कुरा हो।’
आयोजनाको पहिलो चरणअन्तर्गत बाँकी रहेका कामहरूसमेत धमाधम भइरहेका छन्। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठले पहिलो चरणअन्तर्गत बाँकी रहेको पावरहाउस निर्माणको काम समेत अन्तिम चरणमा पुगेको बताए। डिजाइन परिवर्तन भएका कारण निर्माणमा ढिलाइ भएको पावरहाउसमा सिभिलतर्फ झन्डै ९० प्रतिशत काम भइसकेको श्रेष्ठले बताए। 
‘हाइड्रो मेकानिकलको काम केही बाँकी छ, त्यसका लागि तीन महिना थप लाग्न सक्छ’ श्रेष्ठले भने ‘असार अन्तिम साता विद्युत् उत्पादन गरेर परीक्षण गर्ने आयोजनाको लक्ष्य छ।’ नेपाल सरकार र विश्व बैंकको लगानीमा निर्माण भइरहेको आयोजनामध्ये नेपाल सरकारको लगानीमा कटासेमा सिँचाइकै पानी प्रयोग गरेर विद्युत् उत्पादन गरिनेछ। 

आयोजनाको मुख्य इन्टेक क्षेत्रबाट बग्ने पानीबाट ४.७ मेगावाट विद्युत् उत्पादन गर्न १ अर्ब ७३ करोड रुपैयाँ लागत लाग्नेछ ।    आयोजनाको दोस्रो चरणअन्तर्गत परम्परागत रूपमा सञ्चालित रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको नहर व्यवस्थित गरिनेछ। मुख्य तीनवटा शाखाबाट अन्य प्रशाखाहरूमा पानी व्यवस्थित गर्नका लागि निर्माणका कामहरू सुरु भएको इन्जिनयर चौधरीले बताए। 

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गतको नहर निर्माण हुँदै । तस्बिर : महादेव अवस्थी

कर्णाली नदीको पानीले कैलाली जिल्लाको मध्य क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले लम्की शाखा विस्तारको कामसमेत अघि बढाइरहेको छ। लम्की शाखाअन्तर्गत १४.६ किलोमिटर नहर निर्माण हुनेछ। इन्जिनियर चौधरीका अनुसार लम्की शाखातर्फ झन्डै १२ किलोमिटर नहर निर्माणको काम अन्तिम चरणमा छ। 
‘८५ प्रतिशत जति काम सम्पन्न भएको छ, ६.२ किलोमिटर नहर सम्पन्न र झन्डै १२ किलोमिटरमा काम अन्तिम चरणमा छ’ चौधरीले भने ‘लम्की शाखा सञ्चालन हुन भने अझै दुई वर्ष बढी समय लाग्नेछ।’ लम्की शाखा सञ्चालन भए आयोजनाबाट कुल १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। 

१ अर्ब ७१ करोड रुपैयाँको लागतमा लम्की शाखाअन्तर्गत दुई वर्षभित्र १४ किलोमिटर नहर निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो। बल्चौर क्षेत्रदेखि रोरा नदीसम्मको झन्डै ६ किलोमिटर क्षेत्रमा नहर निर्माण भएको भए पनि जग्गाको मुआब्जा वितरणमै दुई वर्ष समय सकिएपछि गत वर्ष निर्माण कम्पनीलाई एक वर्ष समय थप गरिएको थियो। नहर निर्माणको काम कालिका कुमार जेभीले गरिरहेको छ।

आयोजनाले विश्व बैंकको दोस्रो चरणको कार्यक्रमअन्तर्गत १८ जुलाई २०१९ बाट काम सुरु गरेको हो। दोस्रो चरणमा ३१ डिसेम्बर २०२३ मा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैंकले ६६ मिलियन डलर ऋण लगानी गरेको गरेको छ। 

७२ मिलियर डलरको दोस्रो चरणको कार्यक्रममा नेपाल सरकारको ३ मिलियन म्याचिङ फन्ड र उपभोक्ताको श्रमदान गरी ३ मिलियन डलर लगानी रहेको छ। दोस्रो चरणमा कुला प्रणाली आधुनिकीकरण, कृषि सुधार र आयोजना व्यवस्थापनका कार्यक्रमहरू सञ्चालित छन्। 

कैलालीको पूर्वी क्षेत्रका किसानका लागि आर्थिक क्रान्ति हुने विश्वास गरिएको राष्ट्रिय गौरवको आयोजनाबाट सिँचाइ सुविधा पुगे कृषि खेती विस्तार हुनेछ। कृषि खेती विस्तारका लागि आयोजनाले छुट्टै कृषि कार्यक्रम कार्यान्वयन इकाइसमेत सञ्चालनमा छ। 

महाकाली सिँचाइ आयोजना
कञ्चनपुर र कैलालीका किसानका लागि सुरु भएको महाकाली सिँचाइ आयोजनाको काम भने सुस्त छ। आर्थिक वर्ष २०६३÷०६४ मा सुरु भएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको कामले गति लिन सकेको छैन।

अन्न भण्डारका रूपमा चिनिने कैलाली र कञ्चनपुरको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने योजनाअनुसार निर्माण सुरु गरिएको नहर निर्माणकार्य सुस्त गतिमा छ। आयोजनाको १ सय ५२ किमि मूल नहर निर्माण गर्नुपर्नेमा १४ वर्ष बितिसक्दासमेत १३ किमि मूल नहर मात्र निर्माण भएको छ। 
आयोजनको काम सकाउने अवधि एक वर्ष मात्रै छ। महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयले बजेट अभाव, मुआब्जा वितरण र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटानीको अवरोधका कारण आयोजना निर्माणमा ढिलाइ भएको जनाएको छ।

महाकाली सन्धिअनुसार टनकपुरबाट एक हजार क्युसेक पानी पाउने प्रावधानअनुसार ३३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने आयोजनाको लक्ष्य रहेको छ । सरकारले यस वर्ष महाकाली सिँचाइ तेस्रो चरण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारेकोले अब पर्याप्त बजेट र कामले गति लिने महाकाली सिँचाइ आयोजना तेस्रो चरणका इन्जिनियर मोहन टेलरले जानकारी दिए।

मूल नहर निर्माणको कामलाई तीनवटा प्याकेजमा गरी काम अगाडि बढाएको छ। आयोजनाको १५ किलोमिटर मूल नहर निर्माणाधीन चरणमा छ। १५ किमि मूल नहरलाई तीनवटा प्याकेजमा ठेक्का दिएको छ। 

पहिलो प्याकेजअन्तर्गत ५ किमि मूल नहर निर्माणको काम लुम्बिनी राजेन्द्र आशिष जेभीसँग ७८ करोड २४ लाखमा ठेक्का सम्झौता भएको छ। दोस्रो प्याकेजअन्तर्गत ४.८ किमि मूल नहर निर्माण गर्न कुमार स्वच्छन्द शर्मा जेभीसँग ७९ करोड ५६ लाख ६३ हजारमा ठेक्का सम्झौता भएको छ भने तेस्रो प्याकेजअन्तर्गत ५.५ किमि मूल नहर निर्माण गर्न टुन्टी एन्ड रसुवा लामा जेभीसँग ७९ करोड २१ लाख ९६ हजारमा ठेक्का सम्झौता भएको छ। 

तीनवटै प्याकेजका लागि २०७४ साल माघ १५ गते ३६ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि एक महिना मात्रै बाँकी छ र नहर निर्माणको काम ५५ प्रतिशत बाँकी नै छ। 

त्यसैगरी शारदा ब्यारेजबाट दोधारा चाँदनीको सिँचाइका लागि डीपीआरसमेत तयार भइसकेको टेलरले बताए। अर्को वर्षदेखि शारदा ब्यारेजबाट दोधारा चाँदनीका लागि समेत नहर निर्माणको काम सुरु हुने उनले बताए। शारदा ब्यारेजबाट दोधारा चाँदनीमा २५ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। 

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गतको भारतीय पक्षले निर्माण गर्नुपर्ने १.२ किमि नहरसमेत निर्माणधीन चरणमा छ। भारतीय पक्षले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम गरिरहेको आयोजनाले जनाएको छ। भारतीय पक्षले एक वर्षभित्र नहरमा पानी बगाउने योजनाअनुसार काम गरिरहेको भए पनि नेपालतर्फ सिँचाइका लागि शाखा नहर निर्माण हुन नसक्दा अझै सिँचाइ सुविधा पाउनेबारे अन्योल कायमै रहेको छ। 

आयोजनाले हालसम्म साढे ३ अर्ब बजेट खर्च गरिसकेको नहर निर्माणका लागि वार्षिक ४० करोड बजेट आउने गरेको आयोजनाले जनाएको छ। सन् २०२२ सम्म पूरा गर्ने लक्ष्य रहे पनि आयोजना सम्पन्न गर्नका लागि अझै १० वर्ष लाग्ने आयोजना कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.