ऊर्जाको ‘हब’ बन्दै कालीकोट

ऊर्जाको ‘हब’ बन्दै कालीकोट

कालीकोट : कर्णालीकै दोस्रो ठूलो जलविद्युत् आयोजनाको रूपमा लिइएको फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्यले तीव्रता पाएको छ। कर्णालीकै गौरवको आयोजनाका रूपमा हेरिएको हाइड्रोको निर्माणकार्यले तीव्रता पाएसँगै कालीकोट ऊर्जाको हबका रूपमा विकास हुने भएको हो।

हालसम्म बिजुलीको राष्ट्रिय प्रसारण लाइनले समेत नछोएको यस जिल्लामा मुलुककै ऊर्जा क्षेत्रमा योगदान दिने गौरवको आयोजना निर्माण थालिँदा स्थानीय नागरिक पनि हर्षित छन्। सान्नीगाड साना जलविद्युत् आयोजना बाढी र पहिरोमा परेर बर्सेनि अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य यहाँका नागरिक फुकोट कर्णाली हाइड्रोको सुरुङ निर्माणकार्य सुरु भएपछि उत्साही छन्। 

कोरोना भाइरसका कारणले निर्माणकार्यमा ढिलाइ भएको यो हाइड्रोको एक सय मिटरभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ। आयोजना प्रमुख हिरावान वाइवाले आयोजनाको कुल लागत एक खर्ब रहेको बताए। सिस्नेगडामा ड्याम बनाई लुसाको मुनि पावर हाउस निर्माण गरी रेङगेलको मन्दिर र नरहरिनाथको सिमानाको बीचमा पानी खसालिनेछ। 

कुल ४ सय ८० मेघावाट क्षमताको यो आयोजनामा एक दशमलव पाँच किलोमिटर लामो र ११ मिटरको ब्यासको डाइभर्सन टनेलमार्फत नदीको पानी फर्काइ मुख्य ड्यामको निर्माण गरिनेछ। मुख्य ड्यामदेखि करिब ६ किलोमिटर लामो हेडरेस (मुख्य) टनेलमार्फत पानी पठाई पावर हाउसमा खसालिनेछ।

पावर हाउसबाट उत्पादित बिजुली चार सय केभीको प्रसारण लाइनमार्फत फुकोट सबस्टेसन रङगेलमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पठाइनेछ। हाल आयोजनाको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ। यद्यपि वातावरण प्रभाव मूल्यांकन कार्य भइरहेको छ। वातावरण प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारण तथा सर्तहरू वातावरण मन्त्रालयबाट स्विकृत हुने अवस्थामा छ। 
यो आर्थिक वर्षमा वातावरण प्रभाव  मूल्यांकन अध्ययन सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यो आयोजना प्राविधिक र आर्थिक दुवै हिसाबले उत्कृष्ट रहेको छ। अनुमानित लागत एक खर्ब रहेको यो आयोजना नेपाल सरकार तथा विभिन्न सार्वजनिक संस्थाहरूको सेयर भएको कम्पनी विद्युत् उत्पादन कम्पनी लिमिटेडअन्तर्गत रहेको छ। 

कम्पनीले यो आयोजना निर्माणका लागि लगानी जुटाउन सुरुआत गरिसकेको छ। तसर्थ आयोजनाको लागि आवश्यक लगानी जुटेको अवस्थामा यो आयोजना निर्माण सुरु गरेको पाँच वर्षमा सम्पन्न हुनेछ। आयोजनाबाट लगभग एक हजार रोपनी जग्गा डुबानमा पर्नेछ भने रास्कोट नगरपालिका, सान्नित्रिवेणी र पचाल झरना गाउँपालिका केही भूभाग प्रभावित हुनेछ। 

यस्तै खाँडाचक्र नगरपालिकाको थोरै भूभाग प्रभावित हुनेछ। कम्पनीले यो आर्थिक वर्षमा सम्पूर्ण डुबानमा परेका जग्गा प्राप्त गर्ने लक्ष्य लिइएको छ। हालसम्म आयोजनाको कार्यालय भवन र कर्मचारी आवास गृह निर्माणको लागि आवश्यक रकुस्थित १ सय ३५ रोपनी जग्गा प्राप्त गरिसकेको छ। हाल जमिनमुनिको चट्टानको अवस्था अध्ययन गर्न पावर हाउसमा ५ सय ६ मिटर र ड्याम साइटमा १ सय ४० मिटर गरी जम्मा ६ सय ४६ मिटर परीक्षण टनेल निर्माणकार्य भइरहेको छ।

साथै रकुस्थित प्राप्त गरेको जग्गामा एउटा कार्यालय, एउटा पाहुना घर, पाले घर, कम्पाउन्ड वाल र पहुँचमार्ग निर्माणको लागि निर्माण व्यवसायीको नियुक्त गरी साइट परिचालित भइसकेको छ। सान्नी त्रिवेणीगाँउपालिकाको सिस्नेगडामा १ सय ६० मिटर अग्लो बाँध हालेर बनाइनेछ। आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिएको छ। 

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणकार्यदेखि फुकोट कर्णाली हाइड्राले कर्णालीवासीलाई विकासको अनुभूति दिएको स्थानीय अगुवा दमनबहादुर शाहीले बताए। नेपाल सरकारको नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयर धनी भन्ने मूल नाराका साथ उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर, समुन्नत र समृद्ध बनाउने लक्ष्यसहित २०७३ सालमा विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्थापना गरेको थियो। 

जसमा नेपाल सरकार, विभिन्न संघसंस्था र सर्वसाधारण नागरिकहरूको पनि लगानी गरेको छ। जुन कम्पनीअन्तर्गत नेपालका ६ वटा विद्युत् आयोजनाहरू रहेका छन्। जसमा फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना एक हो। यो आयोजना सरकारको प्राथमिकतामा परेको आयोजना हो। 

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले राष्ट्रको ढुकुटीमा वृद्धि गर्नुका साथै कालीकोट र कर्णालीवासीको आर्थिक समृद्धि हुने अपेक्षा गरिएको छ। औद्योगिक विकासका लागि पहिलो आवश्यकता ऊर्जा हुने बताउँदै विकल्प नपाउँदा कालापहाड जाने यहाँका युवाहरूका लागि गाउँमै अवसरको मुहान फुट्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.