फेरिए प्रदेश प्रमुख

फेरिए प्रदेश प्रमुख

जनकपुरधाम : प्रदेश २ का प्रदेश प्रमुख शुक्रबार फेरिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी डा. राजेश झा (अहिराज)लाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

डा. झाले शुक्रबारै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम झालाई उक्त पदमा नियुक्त गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

त्यसअघि जारी विज्ञप्तिमा परियारलाई संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको जनाइएको छ। त्यसमा पदावधि समाप्त भए वा सोअगावै राष्ट्रपतिले पदमुक्त गरे पद रिक्त हुने व्यवस्था छ।

परियारले राष्ट्रपति कार्यालयबाट शुक्रबार ४ बजे पत्र प्राप्त भएपछि आफू पदमुक्त गरिएको जानकारी पाएको बताए। राष्ट्रपति र प्रधानमन्त्रीसँगको सम्बन्ध सदैव राम्रै रहँदै आए पनि आफूलाई जिम्मेवारीबाट हटाइएको उनको गुनासो छ।

‘फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले मधेस भवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरें’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘विभिन्न व्यक्तिले फोन गरेर पदमुक्त गरिएको बारेमा जानकारी गराएपछि म आश्चर्यचकित भएँ। पछि इमेल आउँदा पदमुक्त भएको बुझें।’

यसअघि सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई एकसाथ पदमुक्त गरी त्यसपछिको नियुक्तिमा परियार पनि परेका थिए। त्यसअघिका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको ठाउँमा उनी ०७६ कात्तिक १८ गते नियुक्त भएका थिए।

उनलाई पदमुक्त गरिनुमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र प्रदेश प्रमुखका स्वकीय सचिव अनिल पासवानबीचको विवादास्पद फोन वार्ता कारक रहेको नेताहरू बताउँछन्।

महाप्रबन्धक भट्टराई र स्वकीय सचिव पासवानबीच केही विषयलाई लिएर फोनमा अश्लील वार्तालाप भएको अडियो टेप सार्वजनिक भएको थियो। सोही विवादपछि परियारलाई प्रदेश प्रमुखबाट हटाइएको स्रोतको दाबी छ।

नवनियुक्त प्रदेश प्रमुख डा. झा दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। रौतहटको गढीमाई–४ सुन्दरपुरका उनी मधेस मामिलाका जानकार तथा राजनीतिक विश्लेषकका रूपमा परिचित छन्। उनले ‘मधेस आन्दोलन र मधेसवादको विकासक्रम’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन्।

आफूले सम्पादन गर्ने पत्रिकामा तत्कालीन भूमिगत समूहले सैन्य भर्ना आह्वान गरेको विज्ञापन छापिएपछि उनी राज्यद्रोहको मुद्दामा परेका थिए। पछि सफाइ पाएर उनी रिहा भएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.