प्रदेश १ को संसद् बैठक आज, अविश्वास प्रस्ताव पेश होला ?
विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक आइतबार बस्दैछ। हिउँदे अधिवेशन सुरु भएर दुई पटक बसेर पनि सत्ता पक्षकै अवरोधका कारण छोटो समयमा नै सकिएको बैठक आज तेस्रो पटक बोलाइएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि सोही विवादले सदन अवरुद्ध सुरु भएको हो।
यसअघि पनि बोलाइएको बैठकमा अविश्वासको प्रस्ताव सदनमा पेश गर्ने बताइएको भए पनि सत्तापक्षले अवरोध गर्दा प्रस्ताव समेत पेश हुन पाएको छैन। सदनमा मुख्यमन्त्रीले निलम्बन गरेका सांसद उपस्थित हुन नहुने सत्तापक्षको मागका कारण बैठक स्थगित हुँदै आएको छ।
आजको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश गर्न नदिने रणनीति नेकपा ओली समूहको रहेको छ।
निलम्बन गरेका १६ सांसदलाई पनि उपस्थित गराएर अविश्वासको प्रस्ताव जबर्जस्ती अघि बढाइए प्रदेश सभा नै भङ्ग समेत हुन सक्ने चेतावनी मुख्यमन्त्रीले दिइसकेका छन्।
औपचारिक रूपमा पार्टी विभाजन भएपछि अर्थात मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मात्रै प्रदेशसभा बैठक सञ्चालन हुने दिने आफूहरुको रणनीति रहेको नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए।