एउटा यस्तो मेसिन
एउटा मेसिन छ समाजमा। थाहा छैन, यो मेसिन कसले बनायो ? को हुन् यसका निर्माणकर्ता ? यो पनि थाहा छैन, कहिलेदेखि समाजमा यो मेसिन चलिरहेछ ? सायद यो समाजको परिकल्पना भएदेखि नै अथवा यसो नै भन्न सकिन्छ– यो समाजको स्थापना भएदेखि नै यो मेसिन चलिरहेछ, निरन्तर...।
गज्जबको छ मेसिन। सबैभन्दा मजाको कुरो, यसको बनावट बडो आकर्षणयुक्त छ। तर सुन्दा नै अचम्म लाग्छ, यो मेसिन कुनै फलाम, आल्मुनियम वा अन्य कुनै प्रकारको धातु पदार्थबाट बनेको छैन। प्रश्न उठ्नु स्वाभाविक हो, मेसिन धातुबाट बनेको हैन भने के प्लास्टिकबाट बनेको हो त ? कदाचित् प्लास्टिकबाट बनेको हो भने प्रश्नमाथि अर्को थप प्रश्न उठाउन सकिन्छ– मेसिन ? फेरि त्यो पनि प्लास्टिकको ? कसरी सम्भव हुन सक्छ यो ? जब कि समाजको स्थापना भएदेखि नै यो मेसिन चलिरहेको छ। तर गज्जब ! यसले कसरी निरन्तरता पाइरहेको छ ? सबैलाई थाहै छ, प्लास्टिकद्वारा निर्मित कुनै पनि वस्तु यतिबिघ्न खपालु हुनै सक्दैन, जुन युगौँयुग चलिरहन सकोस् !
त्यसो हो भने, विषय उठाइएपछि प्रश्नको जवाफ त हुनै पर्यो। कुन पदार्थबाट बनेको होला यो मेसिन ? प्रश्नको जवाफ आउनुअघि यो मेसिनको बारेमा अन्य कुरा बुझौँ। हो, यसको काम–कर्तव्य र अधिकारका बारे कुरा गरौँ।
समाजको अभिन्न अंग हो यो मेसिन। त्यसैले ठूलो अधिकार बोकेर समाजमा आधिपत्य जमाएर बसेको छ यो। मेसिन भन्छ– उसको अधिकारबारे उसलाई कसैले औँलो ठड्याउन पाउँदैन। किनकि यो उसको वंशानुगत अधिकार हो। अधिकार मात्र होइन कर्तव्य नै हो भन्छ। ऊ अझ गर्व गर्छ, ‘आफ्ना पितापुर्खादेखि चलिआएको परम्परालाई मैले कायम राखेको छु।’ भन्छ– यसो गर्नु उसको धर्म हो।
वास्तवमा, यस्तो धर्म के गरिरहेछ समाजमा यो मेसिनले ?
मेसिनले आफूले गर्ने काम गरिरहेछ। काट्ने काम गरिरहेछ। तर रमाइलो कुरो के छ भने, यसले कुनै कागज वा कपडा काट्दैन। प्रश्न फेरि यहाँ पनि उठ्छ, भनिन्छ काट्ने तर कागज–कपडा नै नकाट्ने हो भने केचाहिँ काट्ला त यसले ? होइन, काट्न त काट्ने नै काम हो यसको। नपत्याएको ? विश्वास गर्नुस्, बडो धारिलो छ यो। यसले काट्न सुरु गर्यो कि त कटकट काट््दै–काट्दै जरामै पुग्छ। काट्दा, मेसिनको हाउभाउ बडो अनौठोको हुन्छ। काट्ने क्रममा मेसिनले फूलबुट्टा भरी–भरीकन काट्छ। काट्दाकाट्दै आकाश–पाताल जोड्छ। विडम्बना, यो जोडाइमा नै मेसिनको खास पुरुषार्थ देखिन्छ।
तर एउटा महत्वपूर्ण कुरो, यो मेसिनले काट्ने काम गर्दा उसका साथमा सहयोगी मेसिनहरू छेउछाउमै हुनुपर्छ। एक्लो मेसिनको कुनै अर्थ रहन्न। जब मूल मेसिनले आफ्नो काम सुरु गर्छ तब अन्य मेसिनले पनि उसलाई सघाउन थाल्छन्।
मेसिन आफूले चल्ने समय पाएपछि काट्नका लागि मेसिनलाई कुनै उत्सवको आवश्यकता पर्दैन। अवसर भए पुग्छ। फेरि अवसर यस्तो कि त्यसका लागि कुनै निश्चित स्थान पनि चाहिन्न। कार्यालय, चियापसल, रेस्टुरेन्ट, भट्टी, खेत, चौतारी, स्कुल, कलेज, सिनेमाहल अथवा घरघर, जहीँकहीँ मेसिनले आफ्नो काम गर्न सक्छ। फेरि समयको कुरा गर्ने हो भने काट्ने काममा यति निमग्न हुन्छन् मेसिनहरू कि काट्ने काम सुरु गरेपछि बिहानबाट साँझ ढलेकोसम्म पनि पत्तो हुँदैन मेसिनलाई। रात बितेको पत्तो हुन्न।
साँच्चै भन्ने हो भने कुनै मौसमले समेत असर गर्दैन मेसिनलाई।
– तुषारो झर्ने÷मुटु कँपाउने हिउँदमा आगो÷हिटर ताप्दै, सिरकभित्रै बस्दै भन्नुस्
– वा तर्तरी पसिना चुहिने बर्खामा चिसो पेय पिउँदै÷पंखा या एयरकन्डिसनको शीतलतामा भन्नुस्, काट्ने काममा सदैव अभ्यस्त देखिन्छ मेसिन।
हेर्नुस् त !
– घाम झुल्किनासाथ देखिन्छ मेसिन।
– घाम अस्ताउनासाथ देखिन्छ।
– टन्टलापुर घाममा देखिन्छ।
– टहटह जूनमा देखिन्छ।
– हावाहुरीले छेक्दैन मेसिनलाई,
– कस्तै ठूलो बर्सादले पनि रोक्दैन।
मेसिन सधैँ अग्रसर, काट्ने कामको निम्ति।
मेसिनको यति धेरै बखान त सुनियो। यसको काम पनि बुझियो। हो, पक्कै यो मेसिनले काट्ने काम नै गर्छ। तर यति थाहा भइसकेपछि पनि अझै यतिचाहिँ बुझ्न सकिएन, खासमा यो मेसिनले काट्नेचाहिँ के हो ? त्यसमाथि फेरि भनिएको छ, यो मेसिन फलामको होइन।
अवश्य, यो फलाम लगायत अन्य कुनै धातुको मेसिन होइन। भनिसकियो, प्लास्टिकको त झन् हुनै सक्दैन। अब, त्यसो भए प्रश्न त जरुरै उठ्छ, यो मेसिन कुन त्यस्तो पदार्थबाट बनेको छ, जो हरहमेसा काट्ने काममा पछि पर्दैन ?
कुरो धेरै नलम्ब्याऊँ !
यो मेसिनको स्पष्ट परिचय यस्तो छ–
हाड–मासुको मिश्रणबाट बनेको एउटा त्यस्तो मेसिन जसलाई ‘मुख’ भनिन्छ। यो मुख संसारका सम्पूर्ण प्राणी जगत्मध्ये केवल मान्छेको जातिमा मात्रै अवस्थित छ।
अब सोधिरहनै परेन, काट्ने काम गर्ने ‘मान्छेको मुख’ नामक यो मेसिनले काट्ने वस्तुचाहिँ के होला, ‘कुरा’बाहेक ?