समाजवादका सांस्कृतिक पक्ष
राष्ट्रिय संस्कृति नीति २०६७ को परिभाषामा संस्कृति मानिसले आफ्नो ज्ञान, क्षमता र सीप उपयोग गरी निर्माण गरेका यावत् सिर्जनाअनुरूपको जीवनशैली हो। हाम्रो जीवन पद्धतिका रूपमा विकास भएका घर, पुल, बाटो, बाँध आदि भौतिक अवयव भौतिक संस्कृति, र गीत, संगीत, भाषा, सोचनशैली, अनुशासन, मूल्य, मान्यताजस्ता अभौतिक अवयव अभौतिक संस्कृति हुन्। मानव अस्तित्व नरहे हाम्रो संस्कृतिको अभौतिक पक्षको अस्तित्व पनि सकिन्छ।
संस्कृतिको व्यापकता
संस्कृति, चाडपर्व, जात्रा, दशकर्म, रंगरोगन, खेलकुद, पूजापाठ, सरसहयोग आदिमा मात्र सीमित हुँदैन। यसका राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, वातावरणीय, वैज्ञानिक, जातीय, क्षेत्रीय, लैंगिक, यौनिकजस्ता आयाम हुन्छन्। यसका कतिपय आयामलाई विधिविधान, नियमकानुनले समेटेको हुन्छ भने कतिपय आयाम स्वेच्छाले अपनाइएका हुन्छन्।
परम्परागत पारिवारिक समाजवादलाई बृहत् राष्ट्रिय समाजवादको शिलान्यासका रूपमा बुझिनु नेपाली सांस्कृतिक समाजवादको एक सबल विशिष्टता हुन सक्छ।
समाजका हितमा विकास भएका संस्कृतिबीच एकरूपता र सर्वस्वीकार्य भने छैन। एउटै देशमा पनि फरक समुदायका फरक संस्कृति हुन्छन्। क्षेत्र र जातिअनुसार देखिने सांस्कृतिक विविधताको अलवा आर्थिक, भौतिक र प्राविधिक विकासको स्तरअनुसार देखिने विविधता पनि छन्। कतिपय सबालमा दुई संस्कृति एकअर्काका उल्टा पनि छन्, जस्तो– हाम्रै नेपालमा मामाकी छोरीमा अधिकार लाग्ने प्रचलन पनि छ र त्यस्तो विवाह वर्जित रहेको समाज पनि छ। बाह्य प्रभाव वा देखासिखीबाट मात्र हैन; आन्तरिक रूपमै पनि समाज विकासका क्रममा सामाजिक मान्यता फेरिँदै पनि जान्छन्; शाक्यमुनि बुद्धले सनातन धर्मभित्रै रहेर अहिंसाको पाठ सिकाए, विद्यमान विकृति हटाउन पहल गरे। समाजवादउन्मुख समाज निर्माणका क्रममा हामीले अवलम्बन गर्नुपर्ने संस्कृति कस्तो हुनुपर्छ ? संस्कृति र विकृति कसरी छुट्ट्याउने ? यी प्रश्न अहं महŒवका भएका छन्।
समाजवादी संस्कृति
समाजवादी संस्कृति कस्तो हुनपर्छ भन्नेमा मतैक्य छैन। समाजवादको सफलता सांस्कृतिक निर्माणसित जोडिएको ठम्याएर चीनमा माओले सन् १९६६ देखि ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ चलाए, जुन १० वर्षसम्म चल्यो। उनको मृत्युपछि चीनले सो क्रान्तिलाई गलत ठहर्यायो। नेपालको सन्दर्भमा कृष्णबहादुर महरा लोकसंस्कृतिको संरक्षण र संवर्धनलाई समाजवादको विशेषता मान्छन्। यसरी हेर्दा हामीले संरक्षण, संवद्र्धन, विकास र अवलम्बन गर्नुपर्ने समाजवादी संस्कृति लोकहित, लोकको सहभागिता, लोकको आनन्द र लोकको उन्नतिकै वरिपरि हिँड्ने देखिन्छ।
नेपालमै समाजवादी संस्कृति निर्माणका कुरा गर्दा हामी अनावश्यक विवाद सिर्जना नहोस् भन्नेमा सजग रहनुपर्छ। सांस्कृतिक फाँटमा साँच्चै लोकसंस्कृतिको संरक्षण र संवर्धन पहिलो कदम हुन सक्छ। जाति, भाषा, धर्म विविधतासहित नेपालीबीच रहेको सुन्दर शृंगारलाई विवादका मुद्दाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति हाबी रहेको वर्तमान अवस्थामा हाम्रो ध्यान यस्तो विविधतालाई आपसमा स्वीकार्ने र यस्ता मुद्दा प्रयोग गरी कसैले कसैलाई होच्याउने, गाली गर्ने र आफ्नो दुनो सोझ्याउन यस्ता मुद्दा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ।
लोकको हित, सहभागिता, आनन्द र उन्नतिमा सघाउ पुग्ने काम धेरै छन्। संस्कृतिकै रूपमा चाहिँ तलका सुधार गरिनु तत्कालीन आवश्यकता देखिन्छ :
राजनीतिक संस्कृति : कुनै पनि व्यक्तिले आफ्नो महत्ता देख्नु स्वाभाविक हो। अहिले खाँचो नेतामा कस्तो गुण हुनुपर्छ भन्ने उपमा आफ्नै व्यवहारबाट देखाउने महापुरुषको छ। आफ्ना विरोधीलाई झूटो आरोप नलगाउने, सम्बन्धित मत नजिती दलीय वा राज्यसत्तामा नजाने, मत जित्ने अवस्था भए पनि दुई अवधिभन्दा बढी उही भूमिकामा नबस्ने, सत्तामा पुगेपछि हार भएमा फेरि उम्मेदवार नहुने, आफ्नो कार्यकाल सकिएपछि उत्तराधिकारीका काममा अवरोध नपुर्याउने, आफ्नो गुजारा चलेसम्म पेन्सनका रूपमा राज्यकोषबाट आर्थिक फाइदा नलिने। यति गर्न सके नेतृत्व तहमा हुने व्यक्तिगत राजनीतिक स्वार्थको विकृतिमा कमी आउँछ।
सबैले देशवासीका हितलाई प्राथमिकतामा राखून् र हरेक तहका नेतामा राम्रो राजनीतिक संस्कार बसोस् भन्नका लागि दलीय राजनीति भए पनि सरकार गठनबाहेकका सबालमा मतदान गर्दा सांसदहरूलाई दलीय निर्देश (ह्विप) नलाग्ने व्यवस्था हुन आवश्यक छ।
शिष्टताको संस्कृति : कतिपय मुद्दामा एकअर्कामा असहमति हुनु स्वाभाविक हो, कसैसित रिस उठ्नु पनि स्वाभाविक हो। माथिल्लो तहदेखि तलसम्म प्रतिद्वन्द्वी राजनीतिकर्मीप्रति सामान्य जनसमुदायलाई नपच्ने किसिमको भाषा प्रयोग हुन थालेको छ, यस्तो प्रवृत्ति तुरुन्त रोकिनुपर्छ। पुराना घाउ निको पार्नमा उपयोग हुनुपर्ने वाक्पटुता नयाँ घाउ बनाउनमा, भएका घाउ कोट्याउनमा, कार्यकर्ताबीच मुठभेड बढाउनमा दुरूपयोग हुन थालेका छन्। कहिले ‘तँ’, ‘कामी’, ‘अपांग’, ‘दलित’, ‘काट्टो’, ‘कात्रो’ जस्ता शब्दलाई प्रतिबन्ध लगाउने कुरा उठाउने, कहिले परिवारका सबै सदस्य बसेर हेर्न वा सुन्न नसकिने चलचित्र, फोटो र गीत निर्माण गर्ने, गाली गर्ने, कतै मानवताका मुद्दा उठाउने, कतै एक विधवामाथि अपमानजनक टिप्पणी गर्ने। हाम्रा यस्ता व्यवहारले हाम्रो छद्मभेष त दर्शाउँछन् नै; नेतृत्व गर्न कस्सिएका यी अभियन्ताले नेपाललाई कुन दिशातर्फ डोर्याउलान् भन्ने त्रास पनि पस्किन्छन्।
चर्को स्वरमा भित्तामा पुर्याउने गरी मनलाग्दी शब्दमा, युद्धशैलीमा, भिडन्त उक्साउने गरी प्रयोग भएका अभिव्यक्तिले दीर्घकालीनरूपमा सबैको हानि गर्छ। अहिले हाम्रो अभिव्यक्तिको मुख्य माध्यम बनेका फेसबुक, ट्वीटर, विच्याट जस्ता सामाजिक सञ्जालमा हामीले व्यक्त गरेका अभिव्यक्तिको रेकर्ड हामीसित हैन; ती सञ्जाल विकास वा सञ्चालन गर्ने विदेशीका हातमा लामो समयसम्म सुरक्षित रहने छ। हाम्रो बेहोसीले एकातिर हामी उनीहरूलाई नि:शुल्क सूचना उपलब्ध गराउँदै छौं भने अर्कातिर विश्वसामु हाम्रो लाजलाग्दो कमजोरी पस्किँदै छौं।
मानव समानता र आदरभावको संस्कृति : २०२० सालको नयाँ मुलुकी ऐनमार्फत छुवाछूत प्रथा हटाइएको, बालविवाह, बहुविवाह, अनमेल विवाहलाई दण्डनीय बनाइएको ६ दशक पुग्न लाग्दासम्म पनि हामी तिनै मुद्दामा रुमलिएका छौं।
समाजमा लैंगिक र यौनिक विकृति अहिले पनि छ। उमेर नपुगेका साना नानी, किशोरीदेखि वृद्धासम्म, कतिपय अवस्थामा बालक र उमेर ढल्केका पुरुषसम्म बलात्कारको सिकार भएका छन्। कतिले ज्यानसम्म गुमाएका छन्। यस्ता अपराधका घटनामा अपरिचित संसार मात्र हैन; परिचित घेरा र हाडनातासम्म संलग्न भएको पाइएको छ। यो सभ्य समाजको परिचय होइन। त्यसो भनेर हामीले सभ्यता सिक्न बाहिर फर्किन पर्छ भन्ने पनि होइन; बालबालिकाको उद्धार गर्ने बहानामा, धर्मगुरु वा मानवअधिकारकर्मीका भेषमा, विद्यालय र उद्धारगृह सञ्चालन गर्ने नाममा नेपालमा आएर तिनैमाथि यौनशोषण गर्ने, मानव बेचबिखनमा लाग्ने विदेशी पनि छन्। मुख्य कुरा हाम्रो घरदेखि विद्यालयसम्मको शिक्षाले आफ्ना बालबच्चालाई नैतिकता सिकाउन पर्यो, शब्दमा मात्र हैन; आचरणद्वारा पनि सिकाउनपर्यो। केटाकेटी हाम्रा शब्द बोल्छन् र व्यवहार सिक्छन्। कूल र मूलका कुरा यसै उठेको हैन; साथै संगते जायते फलम्।
वृद्धवृद्धा र असक्तप्रति सम्मान गर्ने पारिवारिक संस्कृति : हामी व्यक्ति र परिवारको घेराभन्दा माथि उठेर समाजको कुरा गर्दै छौं। तर पछिल्लो समयमा जनसंख्या वृद्धि कम गर्न ल्याइएको नारा ‘सानो परिवार सुखी परिवार’ को गलत अर्थ लगाउँदै ‘न्युक्लियर फेमिली’ को नाममा वृद्ध बाबुआमाबाट छुट्टै बस्ने विकृति फैलिँदै छ। उसो त, कामको खोजीमा सहर पसेका युवाले गाउँमा रहेका बाबुआमालाई डेरामा ल्याएर राख्न नसक्ने आर्थिक बाध्यताले पनि यसमा भूमिका खेलेको छ। केही दशक अघिसम्म पनि आमरूपमा संयुक्त परिवारमा असक्त सम्भव भएको योगदानसमेत दिएर सम्मानित जीवन बिताउँथे। अहिले वृद्धवृद्धा र सबैखाले असक्तको पालनपोषण र रेखदेखको जिम्मेवारी सरकारमा आउन थालेको छ। यस्तो प्रवृत्तिले न तिनलाई खुसी राख्न सक्छ, न त तिनको अर्थतन्त्रमा यथोचित योगदान प्राप्त हुन्छ; बरु, देशले तिनको व्यवस्थापनमा स्रोत, साधन र जनशक्ति खर्च गर्नुपर्ने अवस्था आउँछ। अप्ठेरो परेका परिवारलाई आर्थिक राहत दिने तर यस्ता व्यक्ति सम्बन्धित छोराछोरीकै साथ र पालनपोषणमा रहने व्यवस्था गर्न सके फाइदैफाइदा हुन्थ्यो। सायद परम्परागत पारिवारिक समाजवादलाई बृहत् राष्ट्रिय समाजवादको शिलान्यासका रूपमा बुझिनु नेपाली सांस्कृतिक समाजवादको एक सबल विशिष्टता हुन सक्छ।
वातावरणमैत्री संस्कृति : कोरोना संक्रमण नेपाल, भारत र अफ्रिकाका गरिब बस्तीमा तुलनात्मक कम घातक देखिनुमा एउटा कारण उनीहरूको प्रकृतिसितको सामीप्य मानिन थालेको छ। हजारौं पुस्तासम्मका हाम्रा पुर्खाले पानी नउमाली पिएका थिए। खाली खुट्टा हिँडेका थिए। वरिपरिका पाखापर्वत, खोलानाला, खनिज, जीवजन्तु र वनस्पतिसँग एकाकार रहेका थिए; हामी मानिस, जीवजन्तु, वनस्पति, पहाड, नदी धेरैलाई सम्मान गथ्र्यौं। पानीको मुहान सफा राख्थ्यौं। हावा सफा थियो। शारीरिक श्रमले जीउ चुस्त रहन्थ्यो, योग र सानातिना घाउचोटले रोगप्रतिरोधात्मक शक्ति बढाउँथे। ऐतिहासिक पृष्ठभूमि र विकसित प्रविधिको संयोजनबाट वातावरणीय सन्तुलन सम्भव छ। संस्कृतिका विधाका अन्य पाटालाई पनि यस्तै तरिकाले सर्वहिताय विकास र उपयोग गर्न सकिन्छ।