फस्टाउँदो चम्चा–व्यवसाय
मान्छेहरू किन हो चम्चाले खाना खान्छन्। हात धुनुको अल्छीले हो कि आधुनिक बनिनलाई हो ? चम्चाको सहयोगमा खाना खानेहरूको कुरा छाडौं, सीधै हातले खाना खानेहरूको कुरो गर्ने हो भनेचाहिँ एउटा भनाइ स्मरणीय छ। त्यो भनाइ हो, ‘हात धोएर मात्रै भात खानू !’ स्मरणीय यसकारण छ कि आजको परिस्थितिमा यो भनाइ झन् समयसुहाउँदो भएको छ। कोरोना भाइरस यसको कारकतत्व हो भनेर भनिराख्नु त्यति आवश्यक रहेन।
त्यसो त आजैका दिनमा मात्रै होइन, पहिले–पहिले नै कहिले हो, कसै–कसैले चम्चाले नै खान्थे रे। तर आजको मितिमा यो कुरा सुन्दा आश्चर्यचाहिँ के लाग्छ भने जसले त्यो बेला जुन चम्चाले खान्थे त्यो सामान्य चम्चा हुँदैनथ्यो, सुनको हुन्थ्यो। अलिक कम भए चाँदीको वा पित्तलको चम्चा हुन्थ्यो। तर समयको प्रवाहसँगै चम्चाको गुणात्मकतामा परिवर्तन हुँदै गयो, ‘क्वालिटी’ घट्दै गयो। हेर्दाहेर्दै स्टिलको बन्यो चम्चा। आज त के भन्नु, प्लास्टिकको बनेको छ चम्चा।
कुरो चम्चाको। चम्चाको कुरो गर्दा एउटा तथ्य भने गज्जबको भेटिन्छ। चम्चा हिजैदेखि चलनचल्तीमा थियो र आज पनि छ। चम्चा सुनको बन्यो, चाँदीको बन्यो, पित्तलको बन्यो, स्टिलको बन्यो। हुँदा–हुँदा प्लास्टिकमा आफूलाई बदलिसक्यो। तर आश्चर्य ! आकारमा त्यो कहिल्यै बदलिएन। बुट्टामा, आकारमा केही परिवर्तन भए पनि चम्चाको मूल रूप हिजो जस्तो थियो आज पनि उस्तै छ। र, जसरी प्रयोग हुन्थ्यो, आज पनि त्यही प्रकार प्रयोग हुने गर्छ।
चम्चाको खास विशेषता छ, त्यो आफू स्वयम् चल्दैन। अलिक स्पष्ट भाषामा भन्ने हो भने चम्चालाई दोस्रोले परिचालित गर्छ। अर्को शब्दमा भन्नुपर्दा, चम्चाको स्वअस्तित्व हुँदैन। यस अर्थमा चम्चाको मौलिक परिचय हुँदैन। कसैले चिनाएपछि मात्रै उसको परिचय थाहा हुन्छ। जस्तो कि–
कुनै चम्चा देखियो या भेटियो भने स्वभावतः सोधिहालिन्छ– ‘यो कसको चम्चा रहेछ ?’
जबसम्म यो प्रश्नको जवाफ आउँदैन, तबसम्म त्यो चम्चाको परिचय खुल्दैन। पक्कै हो, चम्चाको स्वपरिचय नभएको कारणले यस्तो भएको हो। सायद यही कारणले नै हुनुपर्छ, चम्चाको चरित्र पनि सामान्य हुँदैन, अलिक अनौठोकै हुन्छ। देख्ने गरिएको छ, चम्चाले आफ्नो लागि केही काम गर्दैन। यहाँ दोहोर्याउनै परेन, चम्चाले अन्यका लागि ‘माध्यम’ को काम गर्छ। तर यसो भन्दाभन्दै पनि, त्यो माध्यमबाट चम्चा स्वयम्ले केही नै केही उपलब्धि हासिल गर्न खोजिरहेकै हुन्छ।
दायाँ–बायाँ कतै केही नसोची हेर्ने हो भने यो ठाउँमा चम्चा–व्यवसाय नै सबैभन्दा सग्लाएको व्यवसाय देखिन्छ। चुनाव जित्नका लागि गरेजस्तो आर्थिक लगानी गरिराख्न पनि परेन।
के तपाईंले देख्नुभएको छैन, हाड, मासु, छालाबाट बनेको चम्चाहरूलाई ?
– आँखामा ‘गगल्स’,
– घाँटीमा ‘टाई’,
– हातमा ‘मोबाइल’
वाह, क्या शानदार व्यक्तित्व, चम्चाको !
यस्ता चम्चालाई जहींकहीं भेटिन्छ गल्लीहरूमा, चोकहरूमा, कार्यालयहरूमा...। प्रत्येक बिहान जोकसैको जम्काभेट हुन्छ, चम्चासँग। अवसर खोजेर हिँडिरहेको हुन्छ चम्चा। नियालेर हेर्दा देखिन्छ, शुद्ध तोरीको तेल अथवा मिसावटविहीन घिउ घसिएको चम्चाको चिल्ला हात। र, तिनै हातले दोस्रोलाई चिल्लो घसिरहेको हुन्छ। जस्तो–
– कुनै संस्थाले दिने गरेको पुरस्कार प्राप्त गर्ने वा सम्मानको पदक छातीमा झुन्ड्याउने उद्देश्यका लागि,
– आफूले खाइरहेको जागिरको प्रमोसनका लागि वा त्यति नभए आफूले चाहेको ठाउँमा सरुवा हुनका लागि।
त्यसो त, चम्चा केवल यति मात्रै गरेर बसिरहेको हुँदैन, घुमिरहेको हुँदैन, केही यस्ता पनि चम्चा हुन्छन्, जो विभिन्न तरिका अपनाएर चम्चागिरी गरिरहेका हुन्छन्।
– कुनै चम्चा कसैको भजन गाइरहनमै तल्लीन रहेका हुन्छन्,
– कुनै चम्चा कसैको जीवनी लेखिरहन व्यस्त हुन्छन्, अथवा आफू मात्रै नलेखेर अरू उपचम्चाहरूलाई पनि त्यस किसिमका कर्म गर्न उत्प्रेरित गरिरहेका हुन्छन्।
लेख्ने प्रसँग उठ्दा, हिजोआज धेरै चम्चाहरू तथाकथित ‘ठूला मान्छे’ का अन्तर्वार्ताहरू अखबार वा अनलाइनमा प्रकाशित गरेर, टेलिभिजनमा कुराकानी गराएर ती मान्छेको ‘अनैतिकता’ चोख्याउने प्रयासमा लागिपरेका देखिन्छन्। त्यसपछि त जस्तै दाग लागेको भए पनि, जतिसुकै कलंकित भए पनि शुद्ध नैतिकवान्को बिल्ला भिराइदिएको बहानामा जस्तोसुकै किसिमका फाइदा लिन पछि पर्दैनन् चम्चाहरू। यस्ता फाइदा लिन चम्चाहरूले अरू प्रकारका पनि काम–कर्तव्य गरी हिँड्छन्। उदाहरणका लागि– चम्चाहरू तिनका नाममा कविता लेखिदिन्छन्, गीत लेखिदिन्छन्, गजल लेखिदिन्छन्, कथा लेखिदिन्छन् र उस्तै परे उपन्यास नै लेखिदिन्छन्।
उपदै्र बिगबिगी छ चम्चाहरूको, समाजमा।
– सूर्ती मोलेर खुवाउने चम्चा छ,
– तर्कारी/सब्जी घरमा पुर्याइदिने चम्चा छ,
– करेसाबारीमा गोडमेल गरिदिने चम्चा छ,
– ब्याग बोकिदिने चम्चा छ,
– छाता ओढाइदिने चम्चा छ,
– कम्तीमा पनि, बढाइचढाइ गरेर बोलिदिएबापत् स्याबासी लिने चम्चा छ।
समग्रमा, बोलेकै भरमा र हात मोलेकै भरमा आफ्ना भातभान्सा चलाउने यहाँ कैयन् चम्चाहरू छन्। वास्तवमा दायाँ–बायाँ कतै केही नसोची हेर्ने हो भने यो ठाउँमा चम्चा–व्यवसाय नै सबैभन्दा सग्लाएको व्यवसाय देखिन्छ। चुनाव जित्नका लागि गरेजस्तो आर्थिक लगानी गरिराख्न पनि परेन। अथवा केही अन्य प्रकारका व्यवसाय गर्नका लागि आफूसँग सम्पत्ति नभएको स्थितिमा सहकारी वा बैंकबाट ऋण लिइराख्नुपर्ने जस्तो बाध्यता पनि परेन। केवल दुई हात चाहियो, ती पनि रित्ता। र, कर्तव्यनिष्ठ बनेर तिनै दुई हातले जी–हजुरी गर्यो। बस्, काम तमाम !