हङकङ क्वारेन्टाइनको २१ दिन

हङकङ क्वारेन्टाइनको २१ दिन

बन्द कोठा, झयालबाट बाहिर हेर्दा अर्को गगनचुम्बी भवनको भित्ता, ढोकामा ल्याइदिएको खाना लिनभन्दा बाहेक ढोका खोल्न नपाइने अनि कहालिलाग्दो २१ दिन।

ग्यास च्याम्बरमा बन्द भएर जीवन उत्सर्ग गरेको योद्धाहरूको कहावत पुस्तकमा पढेको थिएँ। नेपालबाट हङकङको यात्रामा बिताएका २१ दिन कुनै ग्यास च्याम्बरभन्दा कम थिएन।

कोरोनाले मानिसलाई जीवनप्रतिको भय र महत्त्वगजबले बुझाइदिएको छ। नाम, दाम, इज्जत र प्रतिष्ठाका लागि पारिवारिक समयलाई तिलाञ्जली दिएर घडीको काँटासँगै जीवनलाई दौडाइरहेकाले नितान्त परिवारसँग बस्दा सायद घर, परिवार र प्रेमको अर्थ अझ भएको महसुस गरे होलान्।

कोरोनाले संसारकै गतिविधि र समयसीमा परिवर्तन गरिररहेको परिस्थितिमा मेरो समयसीमा र दैनिक सम्हाल्नै नसक्ने गरी परिवर्तित भयो। थाहा छैन, यो परिवर्तन आवश्यक हो कि बाध्यता।

दसैंले झयाप्प छोपेको थियो। विदेशी भूमिमा पसिना बगाइरहँदा नजिकिएको चाडपर्वको महत्त्वर याद अझ बढ्ता हुने रहेछ। हङकङमा कोरोनाको त्रास कम हुँदै गएको भए पनि नेपालमा अचानक बढेको कोरोना संक्रमितहरूको संख्याले नेपाल जाने रहरसँगै मनमा त्रास बढिरहेको थियो। नेपाल एयरलाइन्स हङकङ कन्ट्री म्यानेजर नवराज उपाध्याय, व्यवसायी तुलसी उप्रेती, जीवन घले, पत्रकार मज्जाको राईलगायतका हितैषीमित्रले कोरोना कहरको विषम परिस्थितिमा नेपाल नजान सुझाइरहेका थिए।

फुलपातीका दिनसम्म नजाने भनेर बसे पनि दसैंमा गुन्जिने मालश्रीको धुनसँगै दसैंको प्रत्येक यादहरू सजीव भएर आए। अन्ततः नेपाल जाने निधो गरें। अध्यागमन विभागनजिकै कन्सुलर किरण गुरुङले समेत नेपालमा अहिलेको समयमा जान उपयुक्त नभएको भन्दा मन आत्तिएको थियो।

जहाजमा थोरै यात्रुहरूका बीच सफल नेपाल अवतरण गरियो। विमानस्थलमा सेनिटाइजर छर्किने, कोरोना जाँचको प्रमाणपत्र देखाउनेलगायतका अध्यागमन विभागमा काम भए। हामीलाई काठमाडौंमा कोहीसँग नभेटी होटलमा गएर बस्ने र भोलि स्थानीय उडानमार्फत घर फर्किने जानकारी थियो। मध्यरातमा सुनसान काठमाडौंका अधिकांश होटल कोरोनाकै कारण बन्द भएका रहेछन्। रातको समयमा खोज्दाखोज्दा बल्ल एउटा होटलमा बास पाइयो।

 भोलिपल्ट लागियो आफ्नो घर पूर्व। हङकङमा साथीहरूले देखाएको कोरोनाको हाउगुजी नेपालमा थिएन। देखिएका अधिकांशले मास्क त लगाएका थिए तर चिउडोमा। आफ्नो घरगाउँ, जन्मभूमि कन्फिडेन्स नै बेग्लै। कतिबेला तीन महिना बित्यो पत्तै भएन।

कर्मभूमि फर्किने तयारी गरिरहँदा हङकङमा कोरोना कहरको चौथो लहरले सबैलाई ग्रसित बनाइसकेको थियो। घरघरमा कोरोना परीक्षण गर्नका लागि सरकारले अपिल गरिरहेको थियो। निर्माण क्षेत्रलगायतका ठाउँमा कोरोना संक्रमण बढेसँगै धेरै नेपालीले काम गुमाएका थिए।

विषम परिस्थितीका बीच नेपाल ध्वजावाहक विमान नेपाल एयरलाइन्स चढी लागियो हङकङ।

शुक्रराज ट्रपिकल एन्ड इन्फेक्सन डिजिज हस्पिटल टेकुमा पीसीआर जाँच नेगेटिभ आए पनि हङकङमा कस्तो आउने हो ? मनमा एक प्रकारको त्रास थियो। हङकङ अवतरणपश्चात् पीसीआर जाँचका लागि लाइनबद्ध भइयो। नाक र मुखको सालिभा संकलनपश्चात् करिब पाँच घन्टा विमानस्थलमै बसियो। एउटा बोतल र बिस्कुटसँगै लामो कुराइपश्चात् हात लाग्यो कोरोना नेगेभिट। अन्ततः एक्काईसदिने कालकोठरीमा थुनियो। साथमा दिए अन्र्तमनको यात्रा, श्रीमद्भावगतगीता, सम्बन्धहरूलगायतका स्रष्टाका गहकिला किताब।

मनमा थियो अबको २१ दिन आफ्नो लागि बिताउँछु। पुस्तक पढ्छु, इन्टरनेटमा साथीभाइलाई समय दिन्छु। मनमा भएका जीवनका यावत् उतारचढावलाई शब्दमा उतार्छु। २१ दिने एक्लो बसाइलाई फलदायी जो बनाउनु थियो।

सुरु भयो क्वारेन्टाइनको पहिलो, दोस्रो, तेस्रो दिन। सोचेजस्तो हुँदैन रहेछ। बन्द कोठामा आशाका किरण सायद फैलन पाउँदैन। मेरा सोचाइ खुम्चिन थाले। किताबमा आँखा जान छाड्यो। फेसबुक, इन्स्ट्राग्राममा आएका भिडियो कलमा बोल्ने मन भएन।

एक प्रकारको हतास र बेचैनमा दिन बितिरहेका थिए। बाहिरको घाम कोठामा पर्न पाएन। दिन र रातको भेउ पाउन छाडियो। तीन दिनपश्चात् अचानक नाक बन्द हुने, श्वास फेर्न गाह्रो हुने, ज्वरो आएको महसुस हुने, जीउ दुख्नेलगायतका शारीरिक समस्या आउन थाले। गुगलमा कोरोना पोजिटिभ हँुदाका लक्षण सर्च गरें। मेरो शरीरमा आएका समस्या र गुगलमा देखाइएका कोरोना लक्षण ठयाम्मै मिल्ने। कसलाई सुनाउने ? के गर्ने ?

हेल्थ डिपार्टमेन्टलाई फोन गरेर भनौं भने सरकारी क्वारेन्टाइनमा लगेर राखिदिने डर, नभनौं कोठामै ज्यान जाला भन्ने डर। बाध्य भएर मभन्दा केही समयदेखि क्वारेन्टाइनमै बसिरहनुभएका दाइ विनोद बस्नेतलाई सुनाएँ आफ्ना समस्या। दाइको सल्लाह, एकदुईजना नजिकका साथीहरूको ढाडस अनि निरन्तरको तातोपानी वाफ लिनाले केही दिनपश्चात् राहत महसुस भयो।

पीडालाई दैनिकी बनाउन थालें। चारैतिरको सुनसान र बन्द कोठालाई खेल मैदान, ट्वाइलेटलाई चौतारी। आखिर मनै रहेछ। बाध्यतालाई स्विकार्नुको विकल्प थिएन।

बिहान सात बजे खाजा, १२ बजे खाना र रातको सात बजे खाना होटलको डिस टायम थियो। चाइनिज खाना, सुक्खा गुलियो तरकार र पानीमा अभ्यस्त हुन थालियो।

प्राथमिकतामा स्वास्थ्य
हरेक हप्ता नयाँ बेडकभर, तौलियालगायतका दैनिक उपभोग्य सामग्रीको उपलब्धता हुने रहेछ। क्वारेन्टाइनमा बसेकालाई सरसफाइमा कुनै पनि गुनासो नआओस् भनेर होटल व्यवस्थापनले खुबै ध्यान दिएको पाइयो।  हेल्थ डिपार्टमेन्टले निरन्तर फोनमार्फत स्वास्थ्यको अवस्था बुझिरहेको थियो भने केही असहजिलो भएमा हटलाइनमा फोन गर्नका लागि सुझाइएको थियो।

प्रशस्त पुस्तक, युट्युबमा पाइने रोजाइअनुसारको भिडियोले दुई हप्ता बितेको पत्तै भएन। सुरुका दिनमा महसुस गरिएको असहजता पनि बाध्यतासँगै सहज बन्न थाले।

हरेक दिनलाई उपलब्धिमुलक बनाउनका लागि केही न केही सिक्ने अभिप्रायका साथ दिनहरू व्यतीत गर्न थालियो। सुरुकै दिनबाट सुरु भएको गन्ती एक हप्ताका लागि मात्र कायम हुँदै थियो।

क्वारेन्टाइनको अन्तिम दिन
जीवनमा बन्दीगृहको अनुभव थिएन। एउटा कैदी जीवन आफ्नो सजाय कटाइसकेपश्चात् बन्दीगृहबाट बाहिर निस्कँदा कति खुसी हुन्छ ? सायद मेरो खुसीको मापन पनि त्यस्तै हुँदो हो।

राति १२ बजेबाट तपाईंहरूको क्वारेन्टाइन बसाइ समाप्त हुन्छ। हेल्थ डिपार्टमेन्टको सूचनासँगै मन तरंगित बन्यो। बिहानैबाट आफ्नो सामान पोको पारी करिब १२ बजे दिउँसो क्वारेन्टाइनबाट बाहिर निस्किएँ।

जीवनको नयाँ अध्याय सुरु भएको महसुस भयो। बाहिर निस्कने सबै डकुमेन्टसहित कोरोना फ्रीको प्रमाणपत्र बोकेर बाहिर आइयो। कोरोनाले संसारकै गतिविधि र समयसीमा परिवर्तन गरिररहेको परिस्थितिमा मेरो समयसीमा र दैनिक सम्हाल्नै नसक्ने गरी परिवर्तित भयो।

थाहा छैन, यो परिवर्तन आवश्यक हो कि बाध्यता।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.