कलेजले फारम भर्न नदिएपछि अदालत पुगे विद्यार्थी
विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसले एक विद्यार्थीलाई आवेदन फारम भर्न नदिएपछि उच्च अदालत विराटनगरमा क्याम्पसविरुद्ध मुद्दा दायर भएको छ । मोरङ रङ्गेली नगरपालिका ३ का १८ वर्षीय कविर पन्तलाई सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न क्याम्पसले नदिएपछि उच्च अदालतमा परमादेश माग गर्दै मुद्दा दायर भएको हो ।
काठमाडौंको शंकरदेव क्याम्पसबाट सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए । तर, दुई पटक पुगेका उनलाई क्याम्पस प्रशासनले अन्य कलेजबाट इन्ट्रान्स दिएकालाई भर्ना गर्न नमिल्ने भन्दै फर्काएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले सो कोर्स रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भर्न पाउने सूचना जारी गरेको छ । उनले सोही अनुसार महेन्द्र मोरङमा फारम भर्न खोजेका थिए ।
प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई फागुन २० गतेदेखि २५ गतेसम्म आवेदन फारम भर्नका लागि क्याम्पसले सूचना निकालेको थियो । तर, फागुन २३ र २५ गते पुग्ने विद्यार्थीलाई क्याम्पस प्रशासनले नहुने भन्दै फर्काएको पीडित विद्यार्थी पन्त बताउँछन् ।
आवेदन फारम भर्न नपाएपछि २५ गते नै महेन्द्र मोरङ क्याम्पस, सोही क्याम्पसको बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर रिट दायर भएको हो ।
विद्यार्थी पन्तले शंकरदेव क्याम्पसबाट बीबीएको सीम्याट प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । ‘सीम्याट पास गरेपछि बीबीए पढाइ हुने जुनसुकै कलेजमा पढ्न पाइने भएकाले म यहाँ आएको हुँ,' उनले भने, 'घर पायक पर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फारम भर्न २३ फागुनमा पुगे । तर, कलेजले फारम दिएन ।'
अर्को ठाउँबाट सीम्याट पास गरेर आएकाले ५ सय तिर्नुपर्ने नियम रहेको र प्रभु बैंकमा गएर पैसा तिरेर ल्याउँदा बिल नदिएको कवीर बताउँछन् । ‘जसले बिल काट्नु भनेको उसको चिट्ठी लिएर आउनू भनियो,' उनले भने, 'त्यसपछि चिट्ठीका लागि कलेजमा गएँ, तर, कलेजले चिट्ठी दिएन ।’
बाहिरबाट आएकालाई दिन मिल्दैन भनेर फर्काएको उनले बताए । त्यसपछि उनी पढ्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगेका हुन् । कवीरका साथी योगराज दाहालले कलेजले कानुन र नियम नमानेकाले आफूहरु बाध्य भएर अदलतको ढोकामा पुग्नु परेको बताए ।