लाज र मुखुन्डो
बजारमा चर्चित एउटा शब्द प्रचलित छ अहिले, ‘मुखुन्डो’। किन चर्चित छ भने आजको माहौलमा मुखुन्डो निकै प्रासंगिक छ, हाम्रो देशमा।
समाजमा मुखुन्डोलाई विशेष वस्तुको रूपले हेरिन्छ। किनकि अन्य वस्तुको दाँजोमा यसको अलग्गै विशेषता छ। शृंगारिक रूपको बनावट भएकाले निकै आकर्षक हुन्छ मुखुन्डो। विशेषतः पूरै रंगी–बिरंगी हुन्छ यो। खास एउटा प्रयोजनका लागि यसको निर्माण गरिएको हुन्छ। अर्थात् यसको प्रयोग केवल एकै स्थानमा मात्रै हुन्छ। त्यो हो अनुहार। फेरि अनुहार पनि अन्यत्र कहीं–कसैकोमा होइन, मान्छेको अनुहारमा भरमार प्रयोग हुन्छ यसको।
मुखुन्डोको एउटा खास विशेषता छ। जबसम्म यो एक्लो बस्छ वा चुपचाप बस्छ, त्यतिखेर यसको कुनै अर्थ हुन्न। तर जब यसलाई मान्छेले अनुहारमा धारण गर्छ, तब यसले तत्कालै आफ्नो रङ देखाइहाल्छ।
मान्छेको अनुहार कस्तो छ ? कुन रङको छ ? कालो छ कि गोरो छ ? अथवा गहुँगोरो छ कि ? मुखुन्डो लगाएपछि कसैलाई केही थाहै हुन्न, छोपछाप पारिहाल्छ।
– आँखा चिम्सा छन् कि बल्ढ्यांग्रे छन् ?
– नाक थेप्चो छ कि चुच्चो छ ?
– ओठ सुन्तले छन् कि खोँडे छन् ?
– गाला गुलाबी छन् कि कस्तो ?
– निधार चाउरिएको छ कि छैन ?
– कोठी कता छ, चिउँडोमा कि ओठमाथि ?
– चाया–पोतो कतै छ कि अनुहारमा ?... मुखुन्डो नलाउञ्जेल सब उदांग देखिएको अनुहार मुखुन्डो लगाउनासाथ सम्पूर्ण छोपिई जान्छ। छोपिने कुरो गर्दा, मुखुन्डोले सबैभन्दा मज्जासँग अनुहारको एउटा अर्को कुरो छोप्छ। सोधिएला, देखिने अंगजति त तिनै हुन्– आँखा, नाक, ओठ, गाला, निधार, या पूरै अनुहार नै। अब के छ र; मुुखुन्डोले छोप्ने अर्को कुरो ? जिज्ञासा स्वाभाविक छ। त्यसैले कुरोलाई रहस्यमा नराखी भनूँ, मान्छेसँग एउटा त्यस्तो कुरो छ जसलाई छोप्न मुखुन्डोमा पर्याप्त शक्ति छ, हैसियत छ।
के हो त त्यो मुखुन्डोद्वारा छोपिने कुरो ?
‘लाज’ ! हो, सबैभन्दा राम्रोसँग मुखुन्डोले लाज छोप्छ। अनुहारमा अंकित लाज छोप्छ।
लाज किसिम–किसिमका छन्। एकैछिनको पनि लाज हुन्छ। यस्तो लाज छोप्नका लागि वास्तवमा मुखुन्डोको आवश्यकता पनि पर्दैन। दुई हत्केलाले छोपुञ्जेल क्षणभरमै भागिहाल्छ। तर कुनै लाज यस्ता पनि हुन्छन्, जसलाई हत्केलाले छोप्न सकिन्न। जस्तै गरेर ढाक्ने प्रयास गरे पनि त्यस्ता लाजलाई ढाक्नै सकिन्न। अहिले बजारमा त्यस्तै एउटा लाज देखापरेको छ, अनुहारहरूमा। किनकि यो लाजको आयतन निकै ठूलो छ, यसलाई छोप्न मुखुन्डो नै नभई हुँदै हुँदैन। त्यो पनि सामान्य होइन, असामान्य खालको।
वर्तमानमा लाज र मुखुन्डोको अन्तर–प्रसंग बुझ्नका लागि यसको अन्तर्य जान्न जरुरी छ–
एउटा राजनीतिक घर थियो, जसमा दुई परिवार बस्थे। अचानक घरमा विखण्डन भयो। भनूँ, दुई भागमै चिरा पर्यो। यसरी, दुई भागमा विभाजित हुँदासम्ममा दुवै परिवारका धेरै सदस्य आफ्नो परिवारबाट अर्को परिवारका सदस्य झैं परिवर्तित भइसकेका थिए। तर यति हुँदाहुँदै पनि समयक्रमले दुई परिवारका सदस्यहरूलाई आफ्नै पुरानो परिवारसँग मिलेर बस्नुपर्ने बाध्यता आइलागेको छ। अर्थात्, नियति यस्तो बनेको छ कि परिवर्तित परिवारमा बसिरहन नमिल्ने, अर्थात् आफ्नै परिवारमा फर्कनै पर्ने भएको छ। र, यतिबेलाको अवस्था यस्तो बनेको छ कि ती सदस्यहरूको अनुहारमा छोप्नै नमिल्ने गरी लाज आएर बसेको छ।
वर्तमान प्ररिप्रेक्षमा लाज गायब भएको छ। खोइ, कहाँ गएर बसेको छ लाज कुन्नि ! यहाँ, लाज हराएका शुद्ध मान्छेहरूको भीड छ।
लाजकै कुरा गर्दा, लाज आएर बसेको अर्को फरक अनुहार पनि छ त्यहींनिर। घरमूलीको त्यो अनुहारले परिवारका सदस्यलाई कुनै सुइँकोसम्म नदिएर घरको सदस्य–पहिचानसमेत नहुने गरी सबैलाई आ–आफ्नो बाटो लगाएका थिए र आफू पनि त्यही बाटो लागेका थिए। तर संयोग ! फेरि त्यस्तै अर्को नियतिले नै फर्काएको छ उहीं। बाटो लाग्नेहरू पनि सबै एकसाथ फर्किएका छन्। हो, यहींनिर सबैका अनुहारमा प्रस्ट देखिन्छ लाज। तर लाज नरहेको अभिनय गरिरहेछन् सबै अनुहारले।
साँच्चै, गजबकै लाज छ यो। हुन त इतिहासमा–परम्परामा थुप्रै किसिमका लाज आए, गए। तिनका कुनै लेखाजोखा छैन। त्यतिखेर जस्तासुकै लाज आए पनि तिनलाई छेक्न समर्थ भएका थिए लाजमाफिकका मुखुन्डोहरू। तर वर्तमानको यो लाज ! यस्तो छ कि कुनै पनि किसिमका मुखुन्डोहरूले छोप्न सक्ने खालको छैन यो। त्यसो त फेरि दोहोर्याऊँ, अनुहारमा लाज नै नलजाई बसिरहेको छ भने जस्तोसुकै मुखुन्डोको के हैसियत लाज छोप्न ? कुनै लाजै छैन लाजलाई। आफ्नो परिवारको प्रमुख सदस्यलाई घरबाटै निकालेका घोषणा गर्नेहरूलाई नियतिले फेरि उनै प्रमुखको मातहतमा पुर्याएको छ, जहाँ लाग्नुपर्ने लाज उल्टो लाज नमानी हाँसिरहेको छ। कुरा बनाई–बनाई, कुरा चपाई–चपाई टेलिभिजनका पर्दाहरूमा अन्तर्वार्ता पो दिइरहेका छन्, मानूँ– अघिल्ला घटनाक्रम एउटा सपना थियो, वा भनूँ– जनता जनार्दनलाई भुलाउने नाटकका दृश्यहरू थिए।
वास्तवमा लाज हराइसकेपछि मान्छेसँग के रहन्छ ? लाज पचेपछि सकियो सबै। यस अर्थमा सबैभन्दा महŒवपूर्ण चरित्र हो लाज। लाज नै मान्छेको शृंगार हो। लाजरहित मान्छेको कल्पनै गर्न सकिन्न। तर वर्तमान प्ररिप्रेक्षमा लाज गायब भएको छ। खोइ, कहाँ गएर बसेको छ लाज कुन्नि ! यहाँ, लाज हराएका शुद्ध मान्छेहरूको भीड छ।
तिनै हुन्
जो सधैं–सधैं
देशको भविष्य बनाउने कुरा गर्छन्
तर मरेर जाँदा
आफू मात्रै होइन,
सबैलाई थाहा छ–
देशको इतिहाससमेत
क्षतविक्षत् पारेर जान्छन्।
तिनीहरू स्वयंलाई थाहा छ, आफ्नो अनुहारमा लाज छ। तैपनि लाज ढाक्ने हतारो छैन तिनलाई। फेरि पनि मुखुन्डोको खोज त पक्कै पनि गरिरहेका होलान् कि !
बजारमा मुखुन्डो छ्यापछ्याप्ती छन्। तर भेटिएको छैन उपयुक्त मुखुन्डो।