किर्तिमानी आरोही मिङ्मालाई गृह जिल्ला ताप्लेजुङमा सम्मान
ताप्लेजुङ : हिमाल आरोहणमा विश्व किर्तिमान राख्न सफल आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा सम्मान गरिएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ घर भएका शेर्पालाई स्थानीय रेडियो तमोरद्धारा आयोजित कार्यक्रममा आइतबार स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देविमाया नेपाली, फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङ, फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई लगायत होटल व्यावसायी, पर्यटन व्यावसायीले सम्मान गरेका हुन् ।
मिङ्माले हिमाल आरोहणमा विभिन्न विश्व किर्तमान राखेर गिनिज बुकमा नाम लेखाएका छन् । हिउँदयाममा पहिलो पटक विश्वको दोस्रो अग्लो केटू हिमालको आरोहण गरेर पछिल्लो पटक किर्तिमान कायम गरेका छन् । गत पौष अन्तिम हप्ता मिङ्मासहित १० नेपालीको टोलीले खतरनाक मानिने उक्त हिमालको सफल आरोहण गरेर विश्वको ध्यान खिचेका थिए ।
६१ दिनको फरकमा सगरमाथा तथा केटू हिमाल आरोहण गरेर छोटो समयमा ती दुई हिमाल आरोहणको कीर्तिमान समेत मिङ्माको नाममा छ । विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोहीको किर्तिमान पनि उनले नै बताएका छन् ।
उनले ३० वर्ष १ सय ६६ दिनको उमेरमा ती सबै हिमालको आरोहण सम्पन्न गरेका हुन् । जसकालागि ९ वर्ष १ सय ५९ दिन लागेको थियो । सन् २०१० मा सगरमाथा चढेका मिङ्माले सन् २०१९ मा अन्तिम हिमालका रूपमा तिब्ब्तको सिसापाङमा हिमालको आरोहण गरेका थिए ।
गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको उनले बताए । 'भरिया भएर म यो क्षेत्रमा प्रवेश गरेको हुँ । संघर्ष गर्दै यो ठाउँमा आइपुगेँ, ' उनले भने, 'नेपालले सबैभन्दा धेरै फाइदा लिन सक्ने पर्यटन व्यावसायबाट हो । जसका लागि सबैको हातेमालो आवश्यक छ ।’ कार्यक्रममा नेपाल माउण्टेन एकेडेमीकी प्रमुख लाख्फुटी शेर्पाले राज्यले हिमाल चिन्न सके समृद्धि टाढा नरहेको बताइन् ।