मृत्युभय !
मृत्युु– प्रकृतिको निर्मम र क्रुर यथार्थ हो। यो प्रकृतिको प्रहार चुपचाप सहनुको विकल्प छैन जीवनसँग। जीवनमा जतिसुकै अग्लो पर्खाल लगाए पनि मृत्युले भत्काउँछ एकदिन। प्रकृतिको अजेय शक्तिसँग हायल–कायल छ जीवन। यस्तो जीवनलाई कसरी हराभरा बनाउन सक्छु ?
हत्केलामा च्यापेर एक मुट्ठी सपना
हातमा च्यापेको छु– कविताको पुस्तक। कविताले हल्लाएको छ मेरो मन–मस्तिष्क ! पुस्तकको आवरणमै ठूल्ठूला अक्षरमा लेखिएको छ– मृत्युको अघिल्तिर ! यही शीर्षक नै काफी हुन्छ मलाई। कवि मणि लोहनीको मृत्युचिन्तनले रिङ्गिएको छु। मस्तिष्कका तरंगहरूमा छप्लङ–छप्लङ पौडिरहेछन् मृत्युका त्रासदीहरू।
मानिसलाई खतरनाक भय मृत्युको हुनेरहेछ। पृथ्वीका हरेक जीव मृत्युको भयसँग पलपल त्राही–त्राही छन्। हामी विज्ञानको युगमा छौं। बैज्ञानिकहरू पृथ्वीलाई आफ्नो वशमा ल्याउने प्रयत्नमा छन्। पृथ्वीका हरेक आश्चर्यहरूमा बैज्ञानिक अनुसन्धान गरिरहेछन्। यद्यपि स्वयं वैज्ञानिक पनि मृत्युलाई चुपचाप स्वीकारीरहेछन्।
– विज्ञानलाई पनि मृत्युको भय छ। मृत्युको भयबाट बिश्व कम्पायमान छ। प्राणी जगतमा सबैभन्दा खतरनाक ’भय’ भनेकै मृत्यु–भय हो। पृथ्वीको हरेक जीव मृत्यु स्वीकार्न वाध्य छन्। जीवनको अस्तित्व नभए कसरी हुन्छ – मृत्युको अस्तित्व ? जीवन र मृत्युवीचको महत्वपूर्ण पल नै हो जीवन। तसर्थ जीवनमा मृत्युुले सधैं तेलकासा खेलिरहन्छ। कुनो कुइनेटोमा जीवनलाई मृत्युले दपेटिरहन्छ। हामीले हरेक पाइलामा मृत्यु छलिरहनु पर्छ। जीवनमा मृत्यु सधैं अतिथि बनेर बसिरहन्छ। कैले अमोघ–अस्त्र बनेर सोझिइरहन्छ। ढिलोचाँडो मृत्युको अमोघ–अस्त्रले हामीलाई कतिखेर चुकाउँछ, थाहा हुन्न।
जब जीवनले मृत्युको लडाइँमा पराजय भोग्नुपर्छ अनि जीवनको ज्वाज्वाल्यमान आलोकबाट हामीले अनिच्छित छुट्टिनुपर्छ। जीजीविषाको अगणित लिप्साबाट शीतांग हुँदै मृत्युवरणको यात्रामा सामेल हुन बाध्य हुनुपर्छ। त्योभन्दा ठूलो अन्याय के हुन्छ मानवको जीवनमा ? संसारमा मानव नै हो सबैभन्दा बढी जीवनको भिख माग्ने ! जीवनसँग किन यति धेरै लोभी छ मानव चेतना ? कल्पना गर्नुहोस्, के हामी अजम्वरी हौं ? अहँ, हुँदै होइन। तेरो–मेरो, लोभलालच... ! आखिरीमा केही लाने होइन।
हरेक जीवनका अनुहारहरूमा/मनहरूमा/विचारहरूमा/चाहनाहरूमा/सौन्दर्यहरूमा मृत्युको अत्यासलाग्दो ग्रहण मात्रै देखिरहेछु। हरेकक्षण मृत्युको निशाना छलेर हिँड्नु पर्छ। रोग, आगो, पानी, हावा अनि शत्रु सबैसँग जोगिनु छ। अनि जोगिनु छ, चट्याङ, हुरी, भूकम्प, कोरोना, प्लेग, मलेरिया, बिजुली, सवारी सबैसँग। के–केसँग जोगिनु छ के–केसँग ? आफैंलाई थाहा हुन्न। मृत्युका कदम–कदम छलिरहेका छौं र त चलाइरहेका छौं जीवन। मृत्युको शाश्वत–सत्यसँग हायलकायल छौं। सधैं मृत्युको भयबाट सापेक्ष छु। जीवनलाई मृत्युको शृंखलाबाट निरपेक्ष राख्न सक्दिनँ।
कोठामा पल्टिरहँदा सुनिरहेछु– गीत। मेरो पुरानो जापनीज पानासोनिक रेडियोले मृत्यु चिन्तन गराइरहेछ यतिबेला। मिठो गीत बजिरहेको छ तर जीवनका लयहरूमाथि धावा बोलिरहेछ। यो निरन्तर–निरन्तर घन्किरहेको छ। गीतसँगै मेरा अहंकारहरूलाई झट्टी हानिरहेको हुन्छ– मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमरेको शहर हुँदैन। भागेर जाउँ कुन ठाउँ जाउँ...!
रेडियोको सुमधुर आवाजले मृत्युको ‘भय’ देखाउँछ। जीवनलाई सतर्क गराउँछु। एउटा दर्बिलो अठोट गर्छु। यो मरिजाने चोलामा कसैलाई नराम्रो गर्न नपरोस्, नराम्रो भन्न नपरोस्। सधैं राम्रो गर्न सकूँ। नसके पनि नराम्रो नगरुँ। मृत्युुबाट उपार्जित मन अमिलो बनाउन पुग्छु। मृत्युको गहिराईमा डुब्दै उत्रँदै गर्छु। मृत्यु रहर होइन बाध्यता हो। मृत्यु सपना होइन प्रकृतिको संस्कार हो। मानिसका अहं नियन्त्रण गर्ने प्रकृतिको अलौकिक विधि हो मृत्यु।
मृत्युका अप्रिय चुम्बनले नडामेको जीव कुनै छैन। मृत्युको लयले नछोएको कुनै ठाउँ छैन। मृत्युको भयले नगाँजेको कुनै गाउँ छैन। निशब्द छु– मृत्युुसँग। घरको अग्लो पर्खाल लगाएँ भने वा मुलढोकामा गजवार लगाएँ भने चोरलाई रोक्न सकुँला तर मृत्युुलाई कुन पर्खालले रोकुँ ? कुन गजवारले छेकुँ ? मृत्युलाई दुनियाँको कुनै शक्तिले रोक्न र छेक्न सक्दैन। रोकेर रोक्न नसकिने, छेकेर छेक्न नसकिने अजेय शक्ति हो – मृत्यु !
मृत्युले उचनीच मान्दैन। होचो–अर्घेलो जान्दैन। कविशिरोमणि लेखनाथ पौडेलको ’काल महिमा’ कविता सम्झिरहेछु, “राजा रंक सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो, टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो...।’ मृत्यु जीवनको एक नमीठो लय हो, अप्रिय धून हो। चुपचाप स्वीकार्नुको विकल्प छैन। जीवनका सबै सौन्दर्य अमूर्त छन्। बाँच्ने उमेर, जीवनको गन्तव्य, जीवनको शैली र स्वाभाव, रोग, भोक र शोक सबै अमूर्त छन्। जीवनका अनेकौं लयहरू जो भोग्नेलाई थाहा नहुनू कस्तो अचम्म ! कस्तो जीवन ? जो आफैंले थाहा नपाउँदै इहलिला समाप्त गर्नुपर्छ !
जन्मिनुमा गर्व गर्छु। प्रकृतिको अनुकूलतामा जन्मिएँ या प्रतिकुलतामा ? थाहा छैन। यद्यपि प्रकृति पक्षमै छ भन्ने लाग्छ। प्रकृति विपक्षमा रहे कुनै पनि जीव पलभर पनि बाँच्न सक्दैन। पटक्कै लाग्दैन विशाल पृथ्वीले मलाई तिरस्कार गर्छ। पृथ्वी स्वयं पनि मृत्युको भयले हजारौं बर्षदेखि गुज्रिरहेको छ। पृथ्वीको पनि आयु छ। जव पृथ्वीको समय समाप्त हुन्छ। पृथ्वी पनि पृथ्वी रहन्न। लाग्छ, पृथ्वीका सम्पूर्ण जीव समयका निर्बलिया थोपा हौं। समयको निश्चित पावन्दी सकिएपछि हामी पनि बलेसीमा झरेका पानीका फोकाझैं प्याट्ट फुट्नुपर्छ। थोत्रो चप्पलका फिर्ताझैं च्वाट्ट चुट्टिनु पर्छ।
मृत्युुसँग पार्थक्य रहन सक्दैनौं। मृत्युको लखेट्याँईबाट उम्कन वा छलिन सक्दैनौं। मृत्युसँग लुकौं कि भागौं, झन्झन् मृत्युको सम्मुख उभिरहेका हुन्छौं। न मृत्यु हामीभन्दा टाढा छ। न हामी नै मृत्युको राज्यबाट टाढा जान सक्छौं। पृथ्वीको कुनै सुदूर गर्त त्यस्तो छैन जहाँ मृत्युको भयबाट प्राणीहरू मुक्त रहन सकुन्। भ्रष्ट मानिसका पापी नंग्राहरूले चिथोरेर थुपारेको सम्पत्तिले पनि मृत्युुको मुख थुन्न सकेको छैन।
मृत्यु त्यस्तो शक्ति हो जसले जीवनलाई पाइला–पाइलामा तर्साइरहन्छ। पल–पलमा थर्काइरहन्छ। केवल यो क्षणभंगुर जीवनको एउटा विशिष्ट पलमा मृत्युुकै पाश्र्वमा बसेर जीवनको गीत गुनगुनाइरहेका हुन्छौं। जीवन एक धर्को हाँस्न नपाउनेहरू हुन् कि जीवनभर रोगले गिजोलिरहेकाहरू हुन्– जीवनको याचनामै रहेको देख्छु। जीवनमा अनुभूत गरेका अथाह खुसीहरू हुन् या जीवनका कहालीलाग्दा रातहरू, सबै मृत्युको अघिल्तिर अनुभूति गर्ने वर्जनीय स्मृति मात्रै हुन्।
जीवनका खुसी हुन् कि दुःख ! छाडेर जाने भनेको यहीं हो। मृत्युको पोल्टामा जाँदा जसरी नांगै आएका थियौं। त्यसैगरि नांगै जाने हो। मृत्युु कति भयानक हुन्छ। मत्यु कति त्रासद् हुन्छ। मृत्यु कति पीडादायी हुन्छ। मृत्यु एउटा शिलशिलाबाट मुक्ति हो। यो नाश्वर शरीरबाट जब जीवनको गीत गाइरहने चरा उडेर जाने निभृत अबस्था हो। भनिन्छ कात्रोमा खल्ती हुन्न। रित्तो जानुपर्ने भएपछि किन चाहियो कात्रोमा खल्ती ? किन चाहियो अथाह धन–दौलत ? जे–जे चाहिने हो हाम्रा इन्द्रीयहरूले अनुभूति गरिन्जेल मात्रै हो।
पृथ्वीभन्दा पर र मृत्युभन्दा माथि के छ ? म यकिन गर्न असमर्थ छु। कहिलेकाँही चिन्तन गर्छु– जीवन अन्ततः धुँवाको धागो सिवाय केही होइन। मनमा एक प्रकारको मृत्यु झंकार आइरहन्छ। यदि पलपलमा मृत्युुको शाश्वत–सत्य नहुने थियोे त हामी अन्य प्राणीभन्दा पृथक हुने थिएनौं। मृत्युले सजग नगराएको भए आज बिश्वका कयौं महामानवलाई पढ्न पाउने थिएनौं, बुझ्न पाउने थिएनौं। मृत्युले मानिसलाई गतिशील बनाएको छ। मृत्यु जीवनलाई सधैं झक्झक्याइरहने अदृश्य शक्ति हो।
मानिसलाई जत्तिको जीवनको मोह संसारका कुनै जीवलाई हुँदैन। स्वर्ग र नर्कको कुरा छाडौं। पृथ्वीको पवित्रता, सुन्दरता र पावनभूमि अन्त कहाँ होला र ? पूर्वीय दर्शनशास्त्रले भनेजस्तो स्वर्ग वा नर्कको जत्तिनै बर्णन गरे पनि यो जीवनका लागि पृथ्वीको सौन्दर्य प्रीतिकर नै छ। पृथ्वीको बाहेक अन्य कुनै जगत्को जीवनप्रति मोह राख्दिनँ। जे छ यहीँ छ। जे हुन्छ यहीँ हुन्छ। नीलो आकाश, हरिया जंगल, ताल–तलैया, सधैं चिर्बिराउने चराचुरुंगी, हिमालयका मनमोहक दृश्य, कलकलाइरहेका खोलानाला, झरीबादल, नागबेली पहाडको चित्ताकर्षक मोहकता, समथर फाँटका आयाम, प्रकृतिका इन्द्रेणी रंगहरू, परिवर्तन भइरहने ऋतुका चक्रहरू, घाम र जूनको लुकामारी आदि सबै–सबै पृथ्वीका अनुपम सौन्दर्य हुन्।
पृथ्वीको मौलिक सुन्दरता आफैंमा अनुपम छ। हामीले खेलेको, हिँडेको यो स्वर्ग जस्तो पृथ्वीबाट रत्तिभर छुट्टिन खोजिन्नँ। कल्पनामा कोक्रोमा पिङ खेलेर सोच्दैछु– मृत्युबिनाको यो सृष्टि कस्तो हुँदो हो ? साँच्चै कल्पना गर्नोस् त– ‘मृत्युभय’ नहुँदो त कस्तो हुँदो हो यो सृष्टिको सौन्दर्य ? कसले गर्दो हो ईश्वरको कल्पना ? कसले बनाउँदा हुन् यति विधि मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्च र गिर्जाघरहरू ? मानव केवल मानव मात्रै हुने थियौं। धर्म हुने थिएन। धर्मगुरु हुने थिएनन्। ठूलाठूला ग्रन्थ हुने थिएनन्। सायद धर्मको ढोंगीपन पनि बाँकी रहने थिएन।
मृत्युभयको मात्रै विषय उप्काएको हुँ। मनलाई अन्तरध्यानमा सम्मोहित गर्नुहोस् र सोच्नुहोस्– मानिस वा पृथ्वीका जीव–जनावरहरू अजर–अमर हुने हो भने यो पृथ्वीको हालत कस्तो हुन्थ्यो होला ? हरेक कुरामा गुणदोष हुन्छ। त्यो जायज छ। सबै कुरालाई यथास्थितिवादी आँखाले मात्रै हेर्न थाल्यौं भने त्यो हेराइले भ्रान्ती र भ्रमबाहेक केही देख्दैन। हरेक दृश्य परिवर्तनशील छन्, गतिशील अनि चलायमान पनि।
कुनै पनि कुराको निश्चित रूप अनि आकार हुँदैन। दृष्टिकोण परिवर्तन गर्न जरुरी छ। विषयवस्तुलाई हेर्ने दुरी र दृष्टिकोणमा बहुआयाम ल्याउन जरुरी छ। त्यसो गरियो भनें हरेक वस्तु फरक र परिवर्तनशील देखिन्छ। नत्र देखेको मात्रै अन्तिम रूप र सौन्दर्य होइन। जानेको मात्रै अन्तिम ज्ञान र विवेक होइन। भोगेको मात्रै अन्तिम सत्य र समय होइन। यस्तो ज्ञान हरेकलाई हमेशा रहनुपर्छ। ज्ञानको परिधिलाई सधैं चलायमान राख्न सकेनौं भने अज्ञानताको पोखरीमा डुबुल्की मानुपर्ने हुन्छ।
मृत्युबाट बच्न अनेक लीला गरिरहेका हुन्छौं। तिनै जीवनका लीला र रंगबाट जन्मिएको हो ईश्वरको अस्तित्व ! मृत्युको त्रासबाट निर्माण भएको छ ईश्वरको निरवच्छिन्न सत्ता। मृत्युले जीवनलाई निर्ममतापूर्वक अठ्याउँछ। अहम्हरूको समापन हो– मृत्यु ! जीवनको आकस्मिक र अकल्पनीय गन्तव्य हो– मृत्यु ! मृत्यु– प्राणीको निजत्व र अस्तित्वको निर्वाणप्राप्ति पनि हो।
हेरिरहेको आकाश, छोइरहेकोे भूगोल, बोलिरहेको आवाज, निरन्तर फेरिरहेको श्वास अनि अनुभूत गरिरहेको अनुभूति सबैबाट टाढा रहनु हो– मृत्यु ! एउटा अनुपम शिलशिलाबाट चुँडिएर फुत्रुक्क कतै अज्ञात गर्तमा झर्नु हो– मृत्यु ! मानिसलाई जीवनमा जतिसुकै मृत्युुले कठालो समाओस् वा धावा बोलोस्, हुरी–हन्डर खाओस्, वायु–बर्षाले रुझोस्, घाम–घर्षणले पोलोस्, आपद्–विपदले जेलोस्, दुःख–दर्दले गालोस्, ताप–तृष्णाले वालोस्, श्राप–सन्निपातले खाओस् तर मानिस जीवनको स्वार्थबाट विचलित हुनुहुँदैन। जीवनको सन्झ्यालबाट प्रगतिको सौन्दर्य चिहाउनु पर्छ। मृत्युको अघोर लयबाट सिर्जनाको गीत गुनगुनाइरहनु पर्छ। आशाभित्र अधीर मन धीर बनाउँछु।
मृत्युु– प्रकृतिको निर्मम र क्रुर यथार्थ हो। यो प्रकृतिको प्रहार चुपचाप सहनुको विकल्प छैन जीवनसँग। जीवनमा जतिसुकै अग्लो पर्खाल लगाए पनि मृत्युले भत्काउँछ एकदिन। प्रकृतिको अजेय शक्तिसँग हायल–कायल छ जीवन। यस्तो जीवनलाई कसरी हराभरा बनाउन सक्छु ? चिन्ता गर्छु। जीवनको मौन महाप्रस्थान ! निर्वाध स्वीकार्य छ। म प्रकृतिको यो विधि भत्काउने सामथ्र्य राख्दिनँ। यद्यपि मृत्युको भुइँकुहिरो उठ्नुअघि खोजिरहेको हुन्छु, जीवनको अस्तित्व ! सोचिरहन्छु, जीवनको सौन्दर्य ! गाइरहन्छु, जीवनको गीत ! र कोरिरहन्छु, जीवनको मूर्तचित्र !