प्रदेशसभा बैठक २३ गते
विराटनगर : नेकपा एमालेको आन्तरिक विवादसँगै अनिश्चित बनेको प्रदेश १ को प्रदेशसभा बैठक चैत २३ गते बस्ने भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन नेता माधव नेपाल समूह सहमत भएसँगै बैठक बस्न लागेको हो।
यसअघि चैत १ गते बस्ने भनिएको बैठक सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित भएको थियो। बुधबार मुख्यमन्त्री राईले आफ्नो पार्टीका सांसदलाई ७ दिनभित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए। प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते सुरु भएको थियो। तर, सत्तापक्षको अवरोधका कारण बैठक बस्न सकेको थिएन।
तत्कालीन नेकपा पार्टी हुँदा ३७ सांसदले हस्ताक्षर गर्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए। ३७ मध्ये १६ जना माओवादीका र बाँकी सांसद एमालेका थिए। तत्कालीन नेकपा संसदीय दलमा छलफल नभएको र पार्टीको हित र विधानविपरीत कार्य गरेको भन्दै मुख्यमन्त्री राईले १६ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका थिए। ती सांसद प्रदेशसभामा उपस्थित गराउन नहुने मुख्यमन्त्रीको अडान थियो। ओली समूहका सांसदको बहिष्कारका बीच प्रदेशसभामा प्रस्तुत भएको अविश्वास प्रस्तावमा छलफल हुने समयमा सर्वोच्चले अदालतले एमाले र माओवादी ब्युँत्याएपछि प्रदेशसभा अनिश्चित बनेको थियो।
फरक पार्टी बनेसँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने धेरै सांसद एमाले नै भएपछि अविश्वास प्रस्ताव असफल भएको हो। प्रदेशसभामा ५१ सांसद एमालेका छन् भने १६ माओवादी, २१ काग्रेस र अन्य दलका ५ सांसद छन्।
एमाले सांसद लीलावल्लभ अधिकारीले चैत २३ को सांसद बैठकअघि नै अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने र बैठकमा सबै सांसद उपस्थित हुने बताए।