पर्यटक आवागमन ठप्पप्रायः

पर्यटक आवागमन ठप्पप्रायः

काठमाडौं : कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो। सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन। २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ। सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।

पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ। पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ। नेपाल पनि यसै क्षेत्रभित्र पर्ने मुलुक हो। युरोप तथा अफ्रिकी क्षेत्रमा ८५, मध्य एसियामा ८४ र अमेरिकी क्षेत्रमा ७७ प्रतिशत कमी आएको देखिएको छ।

कोभिडको दोस्रो लहर सुरु भएसँगै विभिन्न मुलुकले लगाएको यात्रा प्रतिबन्धसँगै पर्यटक आवागमन घटेको संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोभिडको दोस्रो लहरबाट सबैभन्दा बढी अमेरिका र युरोपसँगै केही हदसम्म दक्षिणपूर्वी एसिया प्रभावित बनेका छन्।

कोभिडका कारण सन् २०२० मा करिब ७५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा कमी आएको थियो। उक्त अवधिमा विश्व उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति व्यहोरेको थियो। विमानस्थलले १ सय १५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलरबराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले जनाएको छ।

तीन महिनामा ८५ प्रतिशत गिरावट
सन् २०२१ को प्रथम त्रैमासिकमा ८५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा गिरावट आउने प्रक्षेपण यूएनडब्लूटीओले गरेको छ। सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यो वर्ष २६० मिलियन अन्तर्राष्ट्रिय आवागमनमा कमी आउने प्रक्षेपण गरिएको हो। ३२ प्रतिशतभन्दा बढी मुलुकले फेबु्रअरी पहिलो सातादेखि अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई प्रतिबन्ध लगाएका छन्। यस्तै ३४ प्रतिशत मुलुकले ससर्त मात्रै पर्यटक भिœयाउने गरी मापदण्ड अपनाएका छन्।

पहिलो ६ महिना विश्व पर्यटन गिरावटमा जाने भए पनि त्यसपछिको महिनादेखि बढ्ने अनुमान संगठनको छ। यूएनडब्लूटीओको प्रक्षेपणअनुसार २०२० को जुलाईको तुलनामा  चालू वर्षको जुलाईमा ६६ प्रतिशतले विश्व पर्यटन माथि उठ्ने भनिएको छ। सेप्टेम्बरसम्म पुग्दा २२ प्रतिशतले पर्यटक बढ्ने अनुमान संगठनको छ। कोभिड–१९ विरुद्धको खोपको उपलब्धता, यात्राको आत्मविश्वास बढ्नु, यात्रा प्रतिबन्ध हट्दै जाने विश्वासका साथ यो प्रक्षेपण गरिएको हो। तर, सन् २०१९ को तुलनामा अन्तर्राष्ट्रिय पर्यटनमा वृद्धि हुन ४ वर्षभन्दा बढि समय लाग्ने अनुमान गरिएको छ।

---

नेपालमा नेपालीकै भर
भारतमा कोरोना भाइरस संक्रमणदर दैनिक डेढ लाख पुग्दा नेपालमा फेरि ३ सय हाराहारी पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय ३० संक्रमित भएका छन्। शुक्रबार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो। सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिरहेको छ। यसले केही चलायमान हुन थालेको पर्यटन क्षेत्र पुनः सशंकित बनेको छ।

कोभिडको दोस्रो लहरले समग क्षेत्र नै चिन्तामा गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मी बताउँछन्। सरकारले विदेशी पर्यटक आवागमनका लागि खुकुलो नीति अवलम्बन गरेको, भारतसँगका सीमा नाका पनि खोलेकाले पर्यटक बढ्ने अनुमान बोर्डले गरेको थियो। क्षेत्रीय पर्यटन प्रवद्र्धनमा अघि बढेको बोर्डले भारतीय पर्यटक भिœयाउन प्रचारलाई तीव्र बनाएको बताउँदै आएको थियो।

‘भारतबाट मात्रै पनि पर्यटक बढाएर मुलुकको पर्यटन क्षेत्रलाई हाँक्न सकिन्छ भन्ने विश्वास लिएर हामी अघि बढेका छौं। तर, अहिले कोभिडले केही धक्का त दिएको छ’, डा. रेग्मी भन्छन्, ‘तापनि निराश हुने अवस्था भने होइन।’

विदेशी पर्यटक नआउँदा पनि आन्तरिक पर्यटकले समग्र पर्यटन क्षेत्र चलायमान हुने विश्वास बोर्ड कार्यकारीको छ। लकडाउनपछि खुलेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकले नै थेगेको उदाहरण हामीसँग रहेकाले आत्तिने अवस्था नरहेको उनको भनाइ छ। खुला सिमाना, भिसा लगाउनु नपर्नेलगायत कारण कोभिड सहज भएको अवस्थामा तुरुन्तै भारतीय पर्यटक बढ्ने अपेक्षा बोर्डको छ।

प्राकृतिक रूपमा धनी देश नेपालका साहसिक पर्यटन गन्तव्यहरू भीडभाडभन्दा टाढा छन्। यसले गर्दा कोभिडको बीचमा पनि पर्यटक भिœयाउन सकिने पर्यटनविद् दीपकराज जोशी बताउँछन्। ती स्थानहरूको प्रचार र पर्यटकीय बजारमा विविधता गर्न सके विदेशी पर्यटक भित्रिने उनको भनाइ छ। 

नेपालको प्रमुख पर्यटकीय बजार युरोप, अमेरिका, भारतलगायतका देश कोभिडबाट बढी प्रभावित बनिरहेकाले अरू सम्भावित बजारतिर पनि सरकारको ध्यान जानुपर्ने उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.