आइतबार ओखलढुंगाको चार ठाउँमा आगलागी
ओखलढुंगाः दुई साता यता ओखलढुंगाका दजर्न बढी स्थानमा आगलागीका घटना भए। आगोले केही निजीबाहेक अधिकांश क्षेत्र सामुदायिक वन सखाप भएका छन्।
आइतबार मात्रै जिल्लामा ४ वटा आगलागीका घटना भएका छन्। चिशंखुगढी गाउँपालिका–२ पोखरेका दुई स्थानमा ा आगो लागेको स्थानीय झनक श्रेष्ठले बताए। उनका अनुसार पोखरेको एक स्थानमा वन क्षेत्र र एक स्थानमा घर गोठसमेत जलेका छन्।
पोखरेमा जंगलबाट आएको आगोले २ वटा गोठ जलेका हुन्। बेसीका गोठ भएकाले मान्छे तथा वस्तुभाउ नहुँदा क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी शिव कट्टेलले जानकारी दिए। चिशंखुगढीमा यही चैतमा मात्रै यस अघि २ पटक आगलागी भएर सामुदायिक वन जलेको थियो। योसँगै गो गाउँपालिकामा ४ पटक आगो लगोको छ।
त्यस्तै आइतबार मात्रै जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुकेमा पनि दुई स्थानमा आगो लागेको छ। भुसुने जंगलमा लागेको आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ। त्यस्तै सोही गाउँको अर्को वनमा पनि आगो सल्किएको छ। जथाभावी आगो सल्किने भएकाले स्थानीयले नियन्त्रणमा ल्याउन समस्या हुने भएकाले वस्ती क्षेत्र जोगाउनेमा मात्रै ध्यान दिने गरेको पोखरेका युवा झनक श्रेष्ठ बताउँछन्।
आगो नियन्त्रणका लागि स्थानीयलाई तालिम छैन। तरिका थाहा नपाउँदा पनि आगो नियनत्रण गर्न समस्या हुने गरेको मानेभञ्ज्याङका युवा रुपलाल तामाङले बताए। उनले भने, ‘वस्ती जोखिममा भए मात्रै स्थानीयले जोखिम मोलेर नियन्त्रण गर्ने गरेका छन्, उनीलाई तालिम नहुँदा आगो नियन्त्रण गर्न जाँदा आगोले डढ्ने त्रासले पनि स्थानीय डराउने गरेका छन्।’
यसरी दैनिक आगलागी हुँदा वन क्षेत्र सखाप हुँदै गएको मात्रै छैन। धनमालको क्षति पनि बढ्दै गएको छ। असोज यता ओखलढुंगामा पनि परेका छैन। पानी परेको भए चैत बैशाखमा वन क्षेत्रमा हरियाली हुने समय भए पनि सुख्खा भएकाले आगो सल्किने र नियन्त्रणमा ल्याउन नसकिने अवस्था आएको प्रहरीको भनाइ छ।
मानेभञ्ज्याङको आगो नियन्त्रणमा नआए पनि वस्ती जोखिममा नरहेको जिल्ला प्रहरीका सुचना अधिकारी कट्टेलले बताए। हालसम्म आगो लागेर हजार हेक्टरभन्दा बढी वन क्षेत्र सखाप भइसकेको छ।