आधारभूत शिक्षा र तिनका शिक्षक

आधारभूत शिक्षा र तिनका शिक्षक

आधारभूत तहमा पढाउने शिक्षक उच्च शिक्षा अध्यापनमा संलग्न शिक्षकजत्तिकै दक्षता राख्ने हुनुपर्छ


सबैले बुझेकै हो– अग्लो भवन बनाउन गहिरो जग खन्नुपर्छ। विश्वप्रसिद्ध अग्ला संरचना बुर्ज खलिफाको जग ५० मिटर, सांघाई टावरको जग ८६ मिटर, वन वल्र्ड ट्रेड टावरको जग ४६ मिटर, ताइपेई १०१ को जग ८० मिटर, निर्माणाधीन धरहराको जग ३४ मिटर, विलिस टावरको जग ३० मिटर, विलसायर ग्य्रान्ड सेन्टरको जग २७ मिटर रहेको छ। भवन बनेको स्थानको भूबनोट र भवन निर्माणमा प्रयोग गरिएको प्रविधिअनुसार उचाइ र जगको अनुपात केही तलमाथि हुन्छ नै, तर बिनाजग भवन बन्दैन।

शिक्षा पनि त्यस्तै हो। जति राम्रो विषयगत उपलब्धिको आकांक्षा राखिन्छ, आधारभूत शिक्षामा उति जोड दिइनुपर्छ। माथि उल्लेख गरिएका भवनका जग निर्माणमा निर्माणस्थलको भूबनोटलाई, वायु, भूकम्प, जमिनमुनि पानीको बहाब, जगवरपरको माटो/चट्टानमा रहेका लवण आदि सतहमुनिको पानीमा घुलेर निम्तिन सक्ने अस्थिरता आदिमा ध्यान दिइएको हुन्छ। देशको शैक्षिक योजनामा अमूक बच्चा नै पछि गएर उच्चकोटीको शिक्षाविद्, अर्थशास्त्री, वैज्ञानिक, प्राविधिज्ञ, वकिल, साहित्यकार, भाषाविद्, कलाकार बन्छ भन्ने हुँदैन; समय र परिस्थिति, उसको लगनशीलता र सामथ्र्यले जुन बच्चा पनि त्यस्तो जनशक्तिमा विकास हुन सक्छ। यसर्थ देशले दिने आधारभूत शिक्षाले सबै केटाकेटीलाई त्यस्तो जनशक्ति बन्न सक्ने शैक्षिक, शारीरिक, मानसिक आधार प्रदान गर्न सक्नुपर्छ।

यथा गुरु तथा शिष्य
नेपोलियनले भनेको मानिएको एक कहावत छ, ‘मलाई असल आमा दिनुहोस्, म तपाईंलाई असल राष्ट्र दिनेछु।’ हो, हामी मानवताको पहिलो पाठ आमाबाट सिक्छौं। आमाको नि:शर्त, अटुट, न्यानो वात्सल्य र पालनपोषणबाट हामी प्रेम बुझ्छौं, विश्वास र भरोसा गर्न सिक्छौं, अन्जानमै कसैप्रति सम्मान र माया गर्न सिक्छौं। आमाकै काख, नेतृत्व, सूचना, उपदेश, इशारा र भरमा हामी परिवारका अन्य सदस्य र समाजलाई आफ्नो भन्ने बुझ्छौं र विस्तारै आमाकै पदचापमा आफूलाई एक सामाजिक प्राणीका रूपमा उभ्याउन पुग्छौं। प्रस्ट देखिन्छ– मानिसको पहिलो गुरु आमा हुन्। आमापछिका गुरु बच्चालाई अक्षर चिनाउने, कखरा सिकाउने, घरपरिवारबाहिर घुलमिल हुन मद्दत गर्ने, बच्चाका हजार गल्ती सच्च्याएर उसलाई योग्य नागरिक बनाउने काम गुरुबाट हुन्छ, अज्ञान (गु) लाई प्रकाश (रु) द्वारा निराकरण गर्ने भएर नै यी ‘गुरु’ शब्दले चिनिन्छन्।

जब तल्ला कक्षाका पठनपाठनलाई माथिल्ला कक्षाका पठनपाठनसरह ध्यान दिइन्छ, त्यसबेला हाम्रो पूरै शिक्षाको गुणस्तर सुध्रिन्छ, त्यो शिक्षाले युवालाई विनयशील बनाउँछ, सभ्य समाज निर्माण गर्छ।

यस अर्थमा गुरु पथप्रदर्शक हुन्। यी शिष्यलाई आफूसित हिँडुञ्जेलको बाटो मात्र देखाउँदैनन्, अज्ञात भविष्यको बाटो आफैं पहिल्याउन सक्ने कला सिकाई दीक्षित पनि गर्छन्। अदृश्य भविष्यको जीवनयात्रामा शिष्य उभिएको सामाजिक धरातल र उसको आफ्नै शरीर क्षेत्रले जुनसुकै रूप लिऊन्। शिष्यमा ती सबै परिस्थितिको सही मुकाबिला गर्न सक्ने क्षमता एक योग्य, कुशल, समर्पित गुरुमा मात्र हुन्छ। त्यसैले बच्चा र समाजको उज्ज्वल भविष्यका लागि उपयुक्त शिक्षक व्यवस्था गरिनु नितान्त आवश्यक छ।

कलिलो उमेरको विद्यार्थी तिनैप्रति आकर्षित हुन्छ, जसको भौतिक जीवनशैली आकर्षक हुन्छ। त्यस्तो शिष्य ठूलो भएपछि त्यस्तै रोजगार खोज्छ, जस्तो रोजगार उसको आदर्श पात्रले खोजेको थियो; त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार उसको आदर्श पात्रले गरेको थियो। यसर्थ, भोलिका जवानलाई सत्मार्गमा लगाउनका लागि आजका शिष्यलाई बाटो देखाउने गुरुको भौतिक जीवनशैली बच्चाको मन तान्ने खालको बनाउनैपर्छ। उसका आँखाअगाडि शिक्षकलाई राजादेखि रंकसम्म सबैले आदर गरेको हुनपर्छ अनि बल्ल शिष्य गुरुवचन सही अर्थमा ग्रहण गर्छ। निष्ठापूर्वक ग्रहण गरिएको शिक्षा मन्त्रशक्ति राख्छ, कामधेनुको काम गर्छ। यस्तो परिपाटी विकास भएपछि योग्य व्यक्ति शिक्षक पेसामा आकर्षित हुन्छन्। योग्य गुरुबाट शिक्षित युवा समाजका कर्णधार बनेर निस्किन्छन्, विस्तारै ‘योग्य गुरुका योग्य चेला’ भन्ने कहावत फैलिन्छ।

‘कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा’
शिक्षण पेसा आकर्षक बन्न नसकेको पहिल्यैदेखि उठेको हो। हालै आएर बहालवाला शिक्षामन्त्रीकै हैसियतमा कृष्णगोपाल श्रेष्ठले यो प्रसंग उठाएका छन्, ‘हामी राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहींकतै जागिर नपाइसकेपछि शिक्षण पेसामा आउने। शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टा जागिरको खोजीमा। जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छाडेर हिँडिदिने। त्यो स्कुलका बच्चाको भविष्यबारे चिन्ता नलिइदिने। त्यो स्कुलका बच्चा मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गाँसिएको छ त्यसबारेमा हामी कति गम्भीर र चिन्तित बन्छौं ?’

शिक्षा र शिक्षकको सबाल सही पदाधिकारीबाट उठेको छ, सुधारका लागि यो राम्रो संकेत हो। यो सबाल उठाउनेलाई समाधानको तरिका पनि थाहा हुनपर्छ– पानी गहिरोतिर बग्छ, जनशक्ति सम्पन्नतातिर बग्छ। शिक्षकमा योग्य व्यक्ति दर्ज गर्नु छ भने उसलाई यथोचित भौतिक सुविधा र सामाजिक सम्मान दिइनुपर्छ। पेट र परिवार पाल्नु नै पहिलो चुनौती रहेको वर्तमान नेपालमा शिक्षकको आर्थिक पक्षलाई नसमेटी शैक्षिक क्षेत्र सुधार हुँदैन।

प्राथमिक शिक्षक दोस्रो प्राथमिकता हैनन्
जसरी राम्रो घर बनाउँदा सबैभन्दा बढी ध्यान जगमा पु¥याउनुपर्छ, व्यक्तित्व निर्माण गर्दा पहिलो ध्यान उसको शैशवकाल र चरित्र निर्माणमा पु¥याइनुपर्छ। जसरी बालस्वास्थ्यका चिकित्सक वयस्क स्वास्थ्यका चिकित्सकभन्दा तल्लो स्तरका मानिँदैनन्, त्यसैगरी बच्चाका शिक्षक वयस्कका शिक्षकभन्दा तल्लो स्तरका मानिनु हुँदैन। जसरी कम गुणस्तरीय चिलित्सकले राम्रो बालस्वास्थ्य सेवा दिन सक्दैनन्, त्यसैगरी कम गुणस्तरीय शिक्षकले शिशुलाई राम्रो शिक्षा दिन सक्दैनन्। जसरी बालस्वास्थ्यका चिकित्सकलाई अन्य चिकित्सकलाई जस्तै सुविधा र सम्मान दिन आवश्यक छ, त्यसैगरी प्राथमिक शिक्षकलाई उच्च शिक्षाका शिक्षकलाई सरह सुविधा र सम्मान दिन आवश्यक छ।

प्राथमिक शिक्षकले अध्यापनमा शुद्धता र प्रामाणिकता पस्किनुपर्ने हुन्छ, व्यवहारमा उच्च नैतिक आदर्श प्रदर्शन गर्नुपर्ने हुन्छ र एक विद्यार्थीकै सबालमा उसलाई सम्पूर्ण रूपले चिनेर चरित्र निर्माणमा दिशानिर्देश गर्नुपर्ने हुन्छ। यस्तो महŒवपूर्ण भूमिका निर्वाहका लागि हामीले शिक्षक चयनमा कस्तो मापदण्ड अपनाएका छौं, सक्षम र उच्च मनोबलका युवालाई त्यस्तो भूमिका निर्वाहमा आकर्षित गर्न कस्तो व्यवस्था मिलाएका छौं, शिक्षण पेसामा आएका उच्च मनोबलका ती विद्वान्लाई राजा जनकले अष्टावक्र ऋषिलाई झैं हाम्रो समाज र राज्यले सम्मान गर्ने प्रचलन चलाउनतर्फ कत्तिको ध्यान दिएका छौं ? यी कुराले कस्ता मान्छे शिक्षकको भूमिकामा उभिन तयार हुन्छन् भन्ने निर्धारण हुन्छ।

नयाँ कोणबाट सोच्न आवश्यक
पुरानै सोचले समाधान निस्किने भए हाम्रो शिक्षामा यतिविघ्न समस्या रहने थिएनन्। व्याप्त गरिबी, बेरोजगार, असहिष्णुता, अशिष्टता, यौन व्यभिचार, आर्थिक अपराध, सामाजिक अशान्तिको मुहान मुख्यत: हाम्रो गलत शिक्षा नीति हो। गलत नीतिलाई सच्याउन यस्तो नीति तय गर्ने प्रक्रिया सच्याउन आवश्यक छ, नीति निर्माता फेर्न आवश्यक छ। राजनीतिक नेतृत्व वा ठूला व्यापारिक घरानाको छहारीमा रमाउने व्यक्ति स्वतन्त्र राय र योजना अघि सार्न सक्दैनन्। स्वतन्त्र राय र योजना दिन सक्ने व्यक्ति शक्ति केन्द्रको ढोका कुर्न जाँदैनन्। राज्यले तिनलाई खोजेर, चिनेर नीति निर्माण र तिनको कार्यान्वयनमा लगाउनुपर्छ।

आधारभूत शिक्षा नीतिकै सबालमा नीति निर्मातालाई नै प्राथमिक तहका कक्षाकोठामा संलग्न गराइनुपर्छ। आधारभूत तहमा पढाउने शिक्षक आफूले पढाउने विषयवस्तु, बालमनोविज्ञान र चरित्र निर्माणका सबालमा उच्च शिक्षा अध्यापनमा संलग्न शिक्षकजत्तिकै दक्षता राख्ने हुनपर्छ। प्राथमिक शिक्षकको शिर उच्च शिक्षाका शिक्षककै समान उँचो हुनपर्छ। जब तल्ला कक्षाका पठनपाठनलाई माथिल्ला कक्षाका पठनपाठनसरह ध्यान दिइन्छ, त्यसबेला हाम्रो पूरै शिक्षाको गुणस्तर सुध्रिन्छ, त्यो शिक्षाले युवालाई विनयशील बनाउँछ, सभ्य समाज निर्माण गर्छ, मानिसलाई श्रम गरेर खान सिकाउँछ, ठगी प्रवृत्ति निस्तेज गर्छ, गरिबी हटाउँछ। त्यस्तो संरचना आर्थिक र व्यवस्थापकीय हिसाबले किफायती पनि हुन्छ– झगडा, ठगी र अपराध कम भएपछि प्रहरी, वकिल, न्यायाधीश, जेलजस्ता जनशक्ति र संरचनाको आवश्यकतामा कमी आउँछ, तिनमा हुने खर्च पनि घट्छ। यसरी जोगिएको स्रोत विकासमा अन्य क्षेत्रमा लगाउन पाइन्छ र राम्रो चक्र सुरु भई समाज झन् सम्पन्न, झन् शान्त, झन् सभ्य हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.