गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता
पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वास प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले पनि हस्ताक्षर गर्ने सहमति छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो।