बुद्धकृष्णले आठौंपटक जिब्रो छेडे (फोटो फिचर)

बुद्धकृष्णले आठौंपटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर : भक्तपुरको बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले आठौंपटक आफ्नो जिब्रो छेडाएका छन् । अघिल्लो वर्ष नै जिब्रो छेडाउन तम्तयार भएर बसेका बुद्धकृष्णले कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापनका कारण जिब्रो छेडाउन पाएनन् । 

मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिदै आएको छ । बुद्धकृष्णले यसअघि ७ पटक जिब्रो छेडाइसकेका छन् । उनले १२ वर्षअघिसम्म लगातार चारपटक जिब्रो छेडेका थिए । तर पाँचौंपटक जिब्रो छेड्न नपाउँदै घरमा जूठो परेको थियो ।  

दाजु कृष्णचन्द्रले पनि भाइ बुद्धकृष्णले इच्छा व्यक्त नगरेसम्म १२ पटक लगातार जिब्रो छेडाएका थिए । १३ औं पटक जिब्रो छेड्न नपाउँदै भाइ बुद्धकृष्णले पनि जिब्रो छेड्ने इच्छा व्यक्त गरेपछि सर्लक्कै छोडेका कृष्णचन्द्रले ११ वर्षदेखि अरुको जिब्रो छेड्दै आएका छन् । जसअनुसार कृष्णचन्द्रले बिहीबार भाइ बुद्धकृष्णको जिब्रो छेडाएका छन् । बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । 

जिब्रो छेड्न तयार बुद्धकृष्णले तीनदिन अघिदेखि केही नखाइ व्रत बसेका थिए । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नुहुन्न भन्ने भनाइ रहँदै आएको छ । जिब्रो छेड्दा थप पीडा नहोस् भनेर साता दिनअघि नै नून बार्नुपर्ने प्रचलन रहेको उनले बताए । 

त्यस्तै व्रत बस्दा जिब्रो छेड्दा शक्ति प्राप्त होस् भनी जिब्रो छेड्ने व्यक्तिले बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्ने चलन रहेको छ । स्थानीय पाँचो गणेश मन्दिरमा जिब्रो छेड्ने दिन नाइके प्रधान, कर्मी नाइके उपस्थित भइसकेपछि नाय्खीँ बाजासहित तीनपटकसम्म जिब्रो छेड्ने व्यक्तिको घरमा निमन्त्रणा लिएर जानुपर्छ । तेस्रोपटकमा मात्रै उक्त व्यक्ति जिब्रो छेड्दा प्रयोग गरिने परम्परागत पोशाक लगाएर गर्वका साथ पाँचो गणेश मन्दिर आइपुग्ने जात्राको विधान रहँदै आएको छ । 

जिब्रो छेड्ने तयारी भइरहँदा पाँचो गणेश मन्दिर परिसरमै जिब्रो छेड्ने व्यक्तिले बोक्ने अर्ध चन्द्रकारको मसाल जस्तै महादीप तयार गरिन्छ । नकर्मी नाइकेले जिब्रो छेड्ने सुइरो महिना दिनअघि नै तयार गर्छन् । उक्त सुइरो तयार भएपछि तेलमा डुबाएर राख्ने उनी बताउँछन् । 

‘तेलमा डुबाएर राख्दा फलामको सुइरोमा खिया लाग्न पाउँदैन र जिब्रो छेड्दा हुने घाउमा संक्रमण हुँदैन भन्ने छ’, उनले भने । जिब्रो छेडिसकेपछि महादीप बोकेर जिब्रो छेड्ने व्यक्तिले करिब एक घन्टा समय लगाएर बोडे सहर परिक्रमा गर्छन् । जिब्रो छेड्ने व्यक्तिले चाहे उनी जहाँ पनि जान सकिने बताइन्छ । कुनै समय जिब्रो छेड्ने व्यक्ति काठमाडौंको पशुपतिसम्म हिँडेर पुगेको बताइन्छ । 

बोडेकै महालक्ष्मी मन्दिरमा उक्त परिक्रमा समापन गरिन्छ । जहाँ जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ र ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.