सीमान्तीकृतका संवेदना
महेश कार्की 'क्षितिज' समकालीन नेपाली कवितामा क्रियाशील स्रष्टा हुन्। उनी एक सचेत र संवेदनशील कवि हुन् भन्ने कुराको परिचय उनका विभिन्न पत्रपत्रिकामा प्रकाशित फुटकर कविताले यसअघि नै दिइसकेका छन्। फुटकर रूपमा नै कविता विधामा पृथक् उपस्थिति र परिचय बनाइसकेका क्षितिजको भर्खरै एक्लो महारथी शीर्षकको कविताकृति प्रकाशित भएको छ। यस कृतिमा समावेश भएका बाउन्नवटा कवितामा उनले आजको समाज र यथार्थप्रति आफ्ना भावना, विचार र दृष्टिकोणलाई निकै गहन रूपमा अभिव्यक्त गरेका छन्। जीवन, जगत् र आजका मान्छेका प्रवृत्तिहरूमाथिको विश्वदृष्टिलाई प्रस्तुत गर्न कविले यी कविताहरूमा जुन शैलीको अवलम्बन गरेका छन्, त्यही शैलीका कारण नै प्रस्तुत संग्रहका कविताहरू पृथक् देखिन्छन्।
अर्जुन ! तिमीलाई देखेर स्वर्गको मृगतृष्णा आएन मलाई
ढुंगाबीचमा च्यापिएको मरकाँचेको कथा
लेख्नु थियो मेरै रगतले
हजारौं एकलव्यहरूको साझा विश्वदृष्टि (अर्को एकलव्य)
प्रस्तुत संग्रहका कवितामा प्रयोग भएका विविध सन्दर्भहरूमध्ये देशको राजनीतिक विसंगति र बेथिति पनि प्रमुखरूपमा आएका छन्। जराको इतिहास, नाङ्लो पसल, देशको अनुहार, शासक र संस्कृति शीर्षक लगायतका कविताहरू देशको समसामयिक राजनीति सन्दर्भलाई विषय बनाएर लेखिएको कविताका उदाहरण हुन्। राजनीतिको बागडोर हातमा लिएका देशका नेताहरू र शासकहरूको अकर्मण्यता र नालायकीलाई यी कविताहरूले विभिन्न बिम्ब, प्रतीक र मिथकका माध्यमबाट उजागर गरेका छन्। कतिपय कवितामा नारी संवेदनाका साथै पुरुष संवेदना पनि प्रभावकारी रूपमा प्रस्तुत भएका छन्।
मानवीय संवेदनाले निथ्रुक्क भिजेका यी कविताहरूमा आजको नेपाली समाजको चित्र छ र नेपालीहरूको कथाव्यथा उतारिएको छ। समाजमा एक्लिएका, पछि परेका, दु:ख पाएका, संघर्षमा होमिएका, राज्यबाट ठगिएका, आफ्नै श्रममा रमाएकाजस्ता विविध सीमान्तीकृत पात्रहरूको यथार्थहरू नै यस संग्रहका अधिकांश कविताको अन्तर्वस्तु बनेर आएका छन्।
पुरुष जीवनका जटिलता र कमीकमजोरीहरूलाई अभिव्यक्त गर्ने क्रममा पुरुष संवेदना अभिव्यक्त भएको पाइन्छ। विधुर पुरुषको कथा, रेगिस्तान, प्रसवकथा जस्ता कविताहरू पुरुष संवेदना प्रकट भएका छन्। यी कवितामा नारी र पुरुषको प्रकृतिजन्य पृथक्ता उनीहरूको पृथक् भोगाइ र अनुभूतिलाई प्रभावकारीरूपमा प्रस्तुत गरिएको छ। जस्तै :
तिमी आमा बनेर एउटा कोठामा
स्तनपान गराइरहन्छ्यौ सन्तानलाई
त्यतिबेला अर्को कोठामा बसेर म
लेखिरहन्छु कविताका छोराछोरी। (रेगिस्तान)
प्रस्तुत संग्रहका कविताको मौलिक पहिचान भनेको नै आख्यानात्मकता हो। कवितालाई आख्यानात्मक रूपमा प्रस्तुत गर्न कविले अधिकांश कवितामा संवादात्मक र सूत्रात्मक शैलीको प्रयोग गरेका छन्। अधिकांश कवितामा कविका वैयक्तिक भावनाभन्दा पनि पात्रको जीवनसंघर्षको कथा घनीभूत भएर प्रस्तुत भएका छन्। यस क्रममा कवितामा कतै सडकबालकको मनोविज्ञान, कतै प्रेमीप्रेमिकाको संवाद, कतै मालिकका बाबुछोरीको संवाद, कतै वृद्ध बासँगको संवाद र समाजको विषमता र जीवनको जिजीविषासँग सन्दर्भित यस्तैयस्तै विभिन्न पात्रहरूका बीच भएको संवादहरूले कवितालाई आख्यानात्मक बनाएको छ। यो यस कृतिको मौलिक र प्रयोगशील पक्ष हो।
प्रस्तुत संग्रहका कवितामा मानवीय जीवनका विविध आयाम र जटिलताहरूलाई सूत्रात्मक रूपमा प्रस्तुत गरिएको छ। कवितामा प्रयोग भएका स्मृतिबिम्ब तथा ग्राम्यबिम्बहरूले कवितालाई संवेद्य बनाएका छन् भने विभिन्न पौराणिक तथा ऐतिहासिक मिथकहरूको प्रयोगहरूका कारण कविता बौद्धिक बन्न पुगेका छन्। यसकारण सामान्य पाठकदेखि बौद्धिक पाठकसम्म सबैका लागि प्रस्तुत कृति पठनीय छ। राजनीतिक बेथिति, सामाजिक विसंगति र संवेदनाहीन मानवीय व्यवहारमाथि कविले आक्रामक किसिमबाट नभई शालीन र व्यंग्यात्मक रूपबाट असन्तुष्टि र विरोध प्रकट गरेका छन्। जस्तै :
साथी !
मेरा लागि वर्जित छ सपना
सधैंका लागि तिम्रो भूगोलमा बस्न
म त्यहाँ आएँ भने
मेरा बाआमाको मृत्युमा
को बस्ला भाडाको क्रियापुत्री ? (वर्जित सपना)
मानवीय संवेदनाले निथ्रुक्क भिजेका यी कविताहरूमा आजको नेपाली समाजको चित्र छ र नेपालीहरूको कथाव्यथा उतारिएको छ। समाजमा एक्लिएका, पछि परेका, दु:ख पाएका, संघर्षमा होमिएका, राज्यबाट ठगिएका, आफ्नै श्रममा रमाएकाजस्ता विविध सीमान्तीकृत पात्रहरूको यथार्थहरू नै यस संग्रहका अधिकांश कविताको अन्तर्वस्तु बनेर आएका छन्। कवितामा ग्रामीण जीवनशैली, बाल्यकालका स्मृति, सांस्कृतिक चेतना, समसामयिक विषय, नारी संवेदनाजस्ता सन्दर्भहरू पनि प्रभावी बनेर आएका छन्। समग्रमा सीमान्तीकृतहरूका आवाजलाई मुखरित गर्नु यी कविताका विशेषता हुन्। समकालीन नेपाली कविताको भिडमा विषय र प्रस्तुति दुवैका दृष्टिले पृथक् देखिन सक्नु यस संग्रहमा रहेका कविताको सबल पक्ष हो।