प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य हुँदै, अन्तिम बैठक बस्दै
विराटनगर : प्रदेश १ प्रदेशसभाको सातौं तथा चालु हिउँदे अधिवेशन आइतबार मध्यरातबाट अन्त्य हुने भएको छ । आइतबार दिउँसो १ बजे अन्तिम बैठक बसेपछि आजै मध्यरातबाट हिउँदे अधिवेशनको अन्त्य हुन लागेको हो ।
प्रदेश १ मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार मध्यरात १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्ये गरको जानकारी प्रदेश प्रमुखको कार्यालयले दिएको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बैठक बस्दै आजै मध्यरातबाट चालु अधिवेशनको अन्त्य हुने जानकारी दिए । आजको संसद बैठकमा विषेश समय लिएर मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सम्बोधन गर्ने समेत तयारी गरेका छन् ।
मुख्यमन्त्री राईले सभालाई सम्बोधन गर्ने र आजै मध्यरातबाट चालु अधिवेशनको अन्त्य गर्ने भएकाले सत्ता पक्षले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन समेत निर्देशन दिएको एक सांसदले बताए ।