कोभिड–१९ नियन्त्रणको उपाय
हामी सबैले आआफ्नो दायित्व पूरा गर्यौं भने कोरोना संक्रमणको नियन्त्रण सम्भव छ
छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै परीक्षणहरूले नेपाल पनि ढुक्क रहन नसक्ने देखाएका छन्। भारतमा जस्तै नेपालमा पनि दोस्रो लहर देखिनुमा पहिलो लहर मत्थर हुनेबित्तिकै देखिएको खुकुलोपन हो।
इतिहासका घातक संक्रमणहरू
स्मृतिमा रहेको इतिहासमा मानवको पटकपटक विभिन्न खाले संक्रमणसित मुकाबिला भएको हो। सन् ५४१–५४९ मा युरोप, भूमध्यसागरीय तट र समीपपूर्वमा फैलिएको जस्टिनियन प्लेगले तीनदेखि पाँच करोड मानिसको ज्यान लिएको विश्वास गरिन्छ। मुसा र उपियाँमार्फत् फैलिने उक्त प्लेग एर्सिनिया पेस्टिस नामक ब्याक्टेरियम मध्यएसियाबाट स्योङ्नु जाति वा हुन्स् जातिले होस् या सहाराको दक्षिण भेगबाट व्यापारीले होस्, बाहिरी मानिसले पश्चिमी युरेशियामा भित्र्याएको देखिन्छ। कालो मृत्यु (ब्ल्याक डेथ) नाम दिइएको यसैले सन् १३४७ देखि १३५१ को बीचमा उत्तर अफ्रिका, युरोप र एसियामा गरी बीस करोडसम्म मानिसको मृत्यु गराएको मानिन्छ। तेस्रो प्लेग नाम दिइएको यही रोगले सन् १८८५ मा चीन र भारतमा एक करोड बीस लाख मानिसको ज्यान लियो।
इतिहासकार महेशराज पन्तलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार काठमाडौंमा १७७२ चैतदेखि १७७९ भाद्रसम्म फैलिएको त्यही प्लेगले १८ हजार भन्दाबढीको ज्यान लिएको थियो अर्थात् एक सय वर्षसम्म जनसंख्या स्थिर रहेको मान्दा पनि तत्कालीन जनसंख्याको लगभग एक तिहाईको मृत्यु भएको देखिन्छ। सन् १५२० यता युरोपेलीहरूले भित्र्याएको बिफरबाट अमेरिका महादेशमा साँढे पाँच करोड आदिवासीको मृत्यु भएको मानिन्छ। इतिहासकार टोम रोबर्टसनले नेपाल टाइम्समा उल्लेख गरेका छन्, सन् १९५८ मा काठमाडौंमा बिफर फैलिएको थियो। सन् १९६५ मा गरिएको सर्भेअनुसार उपत्यकाका १६ प्रतिशत मानिसमा बिफरको दाग देखिएको र बिफर लागेकामध्ये एकतिहाइको मृत्यु हुने गरेको थियो।
गाउँटोल र समाजले चनाखो भई मिलिजुली आफ्नो छरछिमेकमा रहेका सबैले खान र बस्न पाएको साथै आवश्यक पर्दा स्वास्थ्यसेवा पाएको निश्चित गर्नुपर्छ। दलहरू यो संकट रहेसम्म दलीय स्वार्थभन्दा माथि उठी सरकारी संरचना र समाजसित मिली जनसेवामा लाग्नुपर्छ।
सन् १९१८–१९१९ मा सम्भवतः सुँगुरबाट सुरु भएको एच१एन१ भाइरसले स्पेनिस फ्लूनामक रोग सार्दा संसारमा चारदेखि पाँच करोड मानिसको ज्यान लियो। पछिल्लो चरणमा देखिएको चिम्पान्जीबाट सरेको मानिएको एचआईभी/एड्सले पनि तीन करोडको हाराहारीमा ज्यान लिएको मानिन्छ। राष्ट्रिय एड्स र एसटीडी नियन्त्रण केन्द्रका अनुसार सन् २०२० सम्ममा यसले नेपालमा मात्रै तीन हजार सात सय ९८ जनाको ज्यान लिइसकेको छ। अलि सानो संख्यामा ज्यान लिएका सरुवा रोग धेरै छन्। नेपालकै सबालमा रेबिज, डेंगो, कालाजर, दादुरा, क्षयरोग, कुष्ठरोग, भिरिंगीजस्ता रोगले पनि धेरै दुःख दिएका हुन्।
समयक्रममा यीमध्ये धेरै रोगको प्रभावकारी व्यवस्थापन वा उपचार पद्धतिको विकास पनि भइसकेको हो। तर नयाँ रोग देखिने वा पुरानो रोग नयाँ रूपमा देखिने क्रम जारी छ। थोमस रोबर्ट माल्थसले भनेझैं जनसंख्या नियन्त्रणमा मानिसले कुनै विकल्प दिन नसकेपछि प्रकृतिका दुई निर्मम उपाय भोकमरी र रोग आउने नै भए। खाद्य चक्रले सबै जीवलाई एउटै नियममा हाल्छ।
इतिहासले सिकाएको पाठ
कोभिड–१९ सम्म आइपुग्दा सरुवा रोगबाट मानिसलाई बचाउन सहायकसिद्ध हुने केही उपाय देखिएका छन्। पहिलो, छरिएर बसेका बस्तीमा हत्तपत्त रोग नफैलिने देखिएको छ। तर रोग लागिहालेमा स्वास्थ्यसेवा सुविधाको अभावमा रोगको प्रभाव बढी पर्ने पनि देखिएको छ। स्तरीय स्वास्थ्य सेवाको उपलब्धताले सहरी क्षेत्रका बासिन्दा रोग लागेर पनि बाँच्ने सम्भावना बढी देखिएको छ। महामारीकै अवस्थामा चाहिँ उपलब्ध स्वास्थ्य सेवा अपुग भई सहरिया पनि मर्ने सम्भावना बढी देखियो।
दोस्रो, लस एन्जेल्सस्थित भिक्टोरिया ट्रान्सपोर्ट पोलिसी इन्स्टिच्युटका टोड लिट्मनले भनेझैं शिकागो, न्यूयोर्क, सिअटलजस्ता सहरमा कोभिड–१९ को संक्रमण फैलिनुमा सहरको जनसंख्याको आकारले भन्दा ती सहरको वैश्विक आवतजावत सम्पर्कको सान्निध्यको बढी भूमिका देखियो। उनी भन्छन्, हङकङ, सिंगापुर, सान् फ्रान्सिस्कोजस्ता घना सहरहरू, जापान, दक्षिण कोरिया, ताइवानजस्ता अत्यधिक सहरीकरण भएका देशहरूले समयमै लिइएको नियन्त्रणात्मक उपायले मृत्यु न्यूनीकरण गर्न सके। न्यूयोर्क र सिअटलका काँठका साना बस्तीमा पनि कोभिड–१९ असर बढी देखिएकाले यो निचोढ निकाल्न सकिन्छ।
तेस्रो, नेपालको पहिलो बन्दाबन्दीले कोरोना नियन्त्रणमा ठूलो भूमिका खेल्यो। नेपालमा दोस्रो लहर आउनुमा ज्ञानको कमी पनि होइन, पूर्वाधारको अभाव पनि होइन। सरकार र जनतामा रहेको इच्छाशक्तिको अभाव र हेलचेक्र्याइँ हो। सरकारले कृषिलगायत उत्पादनको प्राथमिक क्षेत्र, उद्योगधन्दा र स्वास्थ्य र सुरक्षासित जोडिएका सेवा क्षेत्रलाई मात्र खुला गरी अन्य क्षेत्रमा भौतिक सामाजिक दूरीको निश्चित गरेको भए अहिलेको यो स्थिति आउने थिएन।
चौथो, निजी स्वामित्वमा चल्ने व्यवसाय पनि देशकै हुन् भन्ने कुरामा ध्यान पुर्याई अन्यत्रबाट प्राप्त राजस्व भौतिक उपस्थितिमा मात्रै चल्न सक्ने पर्यटन, सिनेमा हल, दोहोरी साँझ, आधारभूत विद्यालयजस्ता व्यवसायलाई केही राहतको व्यवस्था गरिएको हुन्छ। त्यसो भए उनीहरू मानिस ओसारपसार गर्नमा, विद्यार्थीलाई स्कूलमा हुली शून्य दूरीमा पढाउन र मनोरन्जन कार्यमा धेरै ग्राहक जम्मा पार्नमा लाग्ने थिएनन्। यहाँ त कसैलाई अतिरिक्त सुविधा बाँड्न थालियो, कसैलाई गुजारा टार्न कठिन हुन थाल्यो।
पाँचौं, कोरोना संक्रमणले राजनीतिक दलहरूलाई आफ्नो ध्यान सत्ता संघर्षमा केन्द्रित गर्नबाट रोकेन। अहिले सत्ता संघर्षको अभ्यास केन्द्रदेखि वडासम्म देखिएका छन्। जुलुस, विरोधसभा कति हुन् कति ! यसैमाथि देश अर्को आमचुनावमा होमिए देशवासीलाई के होला ? स्वास्थ्य अवस्था कस्तो होला ? अर्थतन्त्र कस्तो बन्ला भन्नेतिर अहिले पनि ध्यान गएको देखिँदैन।
हामी इतिहास पढ्छौं र भुल्छौं। इतिहास त सम्झिन्छौं तर त्यो दोहोरिन लागेको थाहा पाउँदैनौं। अथवा, इतिहास दोहोरिन लागेको लक्षण देख्छौं। तर अहिलेसम्म आइपुग्दा मानव जातीले यति धेरै प्रगति गरिसकेको सम्झिन्छौ कि वर्तमान संक्रमणले पहिलेजस्तो विकराल रूप लिनसक्ला। अन्तिममा एउटा घातक निचोडमा पुग्ने सम्भावनाको ढोका खुल्न सक्छ। दैवको वा प्रकृतिको अगाडि मान्छेको केही चल्दैन, निराश हुन्छौं। आत्मसमर्पण गर्छौं। बिस्तारै त्यस प्रकोपसित सहअस्तित्व कायम हुन्छ, मान्छे फेरि अघि बढ्न थाल्छ।
तत्कालीन कार्यभार
सबै नेपाली मिली कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउनु अहिलेको पहिलो कार्यभार हो। यसका लागि समाजका सबै तप्काको भूमिका आवश्यक पर्छ। सबैले आफ्नो विज्ञता र सामाथ्र्यअनुसार देशलाई आवश्यक परेको योगदान दिनुपर्छ। अत्यावश्यक न्यूनतम स्रोत, साधन र सेवा सबै नेपालीलाई उपलब्ध हुनपर्छ। यति कुराको निश्चितमा कुनै कानुनी अड्चन हुने देखिँदैन। यो हाम्रो देशको संविधानको मर्मअनुरूपकै कुरा हो। पहिल्यै पनि भनिसकिएको छ, सिंगै देश र जनताको सुरक्षाका अगाडि व्यक्तिगत स्वार्थ गौण हुन्छन्, हुनपर्छ पनि।
यसर्थ सरकारले देशमा उपलब्ध स्रोत, साधन र जनशक्तिलाई सम्पूर्ण जनताको सुरक्षाका लागि परिचालन गर्नुपर्छ। यसको अर्थ अराजकताको सिर्जना र जवाफदेहिताको अन्त्य होइन। सबैको जिउधन र वाकस्वतन्त्रताको रक्षा हुने गरी संगठित ढंगले चुस्त व्यवस्थापन आवश्यक छ। विपत् व्यवस्थापनका लागि भइरहेकै सुरक्षा संयन्त्र, स्वास्थ्य सेवा संरचना, राजनीतिक–प्रशासनिक संरचना प्रयोग गर्न सकिन्छ। केन्द्रदेखि वडास्तरसम्म वैधानिक राजनीतिक दलहरूलाई समावेश गरी स्वयंसेवक समूह गठन र परिचालन आवश्यक छ। यसरी परिचालन हुने सबै सेवक/स्वयंसेवकलाई खोप र व्यक्तिगत सुरक्षा उपकरणहरू दिइनुपर्छ, यति गर्न सम्भव पनि छ। राहत वितरणमा एकद्वार नीति आवश्यक छ।
परीक्षणको दायरा बढाएर संक्रमितको पहिचान गरी, मोबाइलमा उपलब्ध हुने एपमार्फत् उनीहरूबारे समाजलाई जानकारी दिई उनीहरूबाट अरूलाई रोग नसर्ने व्यवस्था र स्वयंसेवकमार्फत् उनीहरूलाई आवश्यक सहयोग घरघरमै पुर्याइने र आवश्यक पर्दा अस्पताल लगी उपयुक्त उपचार गरिने प्रबन्ध मिलाइनु पर्छ। नेपाललाई आवश्यक सहयोग गर्न तत्परता देखाएका रुस र चीनजस्ता देशसित खोप र अन्य भौतिक सहयोग माग्नुपर्छ। हामीसित जनशक्तिको अभाव छैन, हामीले बाहिरबाट लिने सहयोग अस्पतालको क्षमतावृद्धि, औषधि, खोप, भेन्टिलेटर, अक्सिजन, मास्क, व्यक्तिगत सुरक्षा उपकरण निर्माण वा आयात र प्रविधि आयातमा केन्द्रित हुनपर्छ।
बन्दाबन्दी र निषेधाज्ञा अन्तिम र बाध्यात्मक उपाय हुन्। यी दीर्घकालीन समाधान हैनन्। मान्छेको आवतजावत र जमघट रोक्न सके हामी दोस्रो लहरलाई छिट्टै नियन्त्रण गर्न सक्छौं। त्यसका लागि स्थानविशेषमा देखिएको संक्रमणको स्थितिअनुसार निर्मम नीति आवश्यक छ। व्यक्तिव्यक्तिले विवाह, ब्रतबन्ध, पूजाआजा, घुमफिर, तीर्थाटन, विदेश भ्रमण, पर्यटन, शैक्षिक परीक्षाजस्ता अलि पछि गर्न मिल्ने शुभकर्म तत्काल स्थगित गरी पछिलाई सार्नुपर्छ।
गाउँटोल र समाजले चनाखो भई मिलिजुली आफ्नो छरछिमेकमा रहेका सबैले खान र बस्न पाएको साथै आवश्यक पर्दा स्वास्थ्यसेवा पाएको निश्चित गर्नुपर्छ। दलहरू यो संकट रहेसम्म दलीय स्वार्थभन्दा माथि उठी सरकारी संरचना र समाजसित मिली जनसेवामा लाग्नुपर्छ। सबै तहका सरकार र प्रशासनिक संयन्त्र चुस्त रही आमसरोकारवालालाई विश्वासमा लिई आवश्यक व्यवस्थापनमा जुट्नपर्छ। सबै धर्मका भक्तजन र अभियन्ता ‘मनमा राम हातमा काम’ र ‘सेवा नै धर्म हो’जस्ता भनाइको सार्थकता बुझी संक्रमण नियन्त्रणमा जुट्नुपर्छ। समयले हामी सबैको भूमिका खोजेको छ। सबैले आआफ्नो दायित्व पूरा गर्यौं भने कोरोना संक्रमणको नियन्त्रण सम्भव छ।