कोभिड–१९ को खोप उपलब्ध गराउन टिआइ नेपालको माग
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले यथाशीघ्र कोभिड–१९ को खोप उपलब्ध गराउन माग गरेको छ। टीआइ नेपालले महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशिघ्र निःशुल्क उपलब्ध गराउन माग गर्दै सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ।
'हाल यो प्रक्रिया अवरुद्ध भएकोले जनहीतको लागि सरकारले यथाशीघ्र खोप तालिका सार्वजनिक गर्नु जरुरी छ', टीआइ नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'खोप आपूर्ति किन रोकिएको, कुन राष्ट्रबाट कति खोप अनुदानमा आयो र कति आउँन बाकिछ, कति खरिद भै आयो र कति आउँन बाँकी छ, हाल खोपको मौज्दात कति छ र कति नयाँ खरिदको क्रममा छ भन्नेबारे जनतालाई सुसूचित गराउनु पर्दछ। यस्ता सूचना प्राप्त गर्नु नागरिकको संविधानप्रदत्त मौलिक अधिकार पनि हो।'
कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोप लगायतका स्वास्थोपचार सम्बन्धि खरिदको प्रक्रिया झन बढि पारदर्शी र जवाफदेही बनाइनु आग्रह गरेको छ। महामारीको समयमा स्वास्थ्योपचार सम्बन्धि खरिदमा अनियमितता हुनु राष्ट्रघाती भएको बताउँदै कमिशनका लागि नेपाली जनताको जीवनसँग खेलवाड गर्ने काममा सरकारी वा निजी क्षेत्रका कसैको संलग्न भएको भए छानविन गरी निर्मम कारबाही गरिनु माग गरेको छ। टीआईका महासचिव मुकुन्द बहादुर प्रधानद्धारा जारी विज्ञप्तिमा यस्तो अवस्थामा सरकारले सेरम इन्ष्टिच्यूट अफ इण्डिया प्रा.लि. भारतबाट खरिद गरिएको र गर्ने भनिएको खोपको आपूर्तिमा नेपालका केही कमिशन एजेन्टले प्रभाव पारी ढिलाई भैरहेको भन्ने समाचार सञ्चारमाध्यमबाट सार्वजनिक गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'राजधानी लगायतका अस्पतालहरुमा शैयाको चरम अभाव रहेको, अक्सिजन आपूर्तिमा अभाव भएको, आवश्यक औषधि र सामग्रीहरुको पनि अभाव भएको र उचित उपचारको अभावमा संक्रमितहरुले अकाल मृत्युवरण समेत गर्नु परिरहेको बारेका समाचारहरुले सर्वसाधारण जनता झन आक्रान्त भएका छन्।'
कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेका बताउँदै हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइन सुझाव दिएको छ।
टिआइले कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयम्सेवी, सामाजिक अभियन्ता, सेवाकर्मीले अनवरत रुपमा दुवै चरणको संक्रमणमा आफ्ना तर्फबाट सेवा पुर्याउँदै आएको कार्य सह्रानीय भनेको छ।
कोभिड–१९ महामारी नियन्त्रण सम्बन्धि उपरोक्त विषय पारदर्शिता तथा जवाफदेहीताका साथ कार्यान्वयन होस् भनी टिआइले सरकारसँग जोडदार माग गरेको छ।