नक्कली क्रान्तिकारीले जनतालाई भ्रममा पार्न खोजे : प्रधानमन्त्री

नक्कली क्रान्तिकारीले जनतालाई भ्रममा पार्न खोजे : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। तेस्रो पटक बिहीबार प्रधानमन्त्री नियुक्त भएका ओलीले जनता र देशका नाममा शपथ लिएका हुन्। ओलीले शुक्रबारै आफ्नो कार्यभार सम्हालेका छन्।

प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई राखेर मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्री र राज्यमन्त्रीहरूले पनि शुक्रबारै शपथ लिएका छन्। ओलीले ईश्वर पोखरेललाई उपप्रधानमन्त्री, रामबहादुर थापालाई गृहमन्त्री, टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री, प्रदीपकुमार ज्ञवालीलाई परराष्ट्रमन्त्री, हृदयेश त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका छन्। 

यस्तै, प्रभु साह सहरी विकासमन्त्री, भानुभक्त ढकाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, गणेशसिंह ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, पद्मा अर्याल कृषि तथा पशुपन्छी विकासमन्त्री, मणिचन्द्र थापा खानेपानीमन्त्री, वसन्तकुमार नेम्बाङ भौतिक योजना तथा पूर्वाधारमन्त्री, कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका छन्। 

यस्तै दावा तामाङलाई युवा तथा खेलकुदमन्त्री, लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, शिवमाया तुम्बाहाङफेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री, प्रेम आलेलाई वन तथा वातावरणमन्त्री र जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएको छ। 
सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नवराज राउत, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक दोहोरिएका छन्। 
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए। 

भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन : प्रधानमन्त्री 
प्रधानमन्त्री ओलीले भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य हुने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो कार्यकालका लागि पदबहालीपछि कोरोना भाइरसको महामारीमा कुनै अनियमितता हुन नदिन प्रतिबद्धता जनाए। 

‘यति बेला सबै एकजुट भएर महामारी रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन’, प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन। सरकारले कडाइका साथ कारबाही गर्नेछ।’ 

ओलीले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गरे। ओलीले सबै राजनीतिक दललाई एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न आह्वान गरे। सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानुनको पालना गर्न ओलीले आग्रह गरे। उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन आग्रह गरे। 

उनले राज्यको स्रोत, साधन र ज्ञानको सही रूपमा प्रयोग भई जनताका लागि परिणाम दिन सक्नुपर्नेमा जोड दिए। उनले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताए। उनले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको स्पष्ट पारे। मुलुक लोकतान्त्रिक विधिबाट अघि बढेको उनको भनाइ थियो। 

‘यति बेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन्’, उनले भने, ‘आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.