श्रद्धाको नमस्कार !
जनकपुरधाम : एक ३८ वर्षीय पुरुषको सोमबार अपराह्न ४ बजे मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा निधन भयो। तर, उनको शव मंगलबार अपराह्नसम्म पनि अस्पतालको इमर्जेन्सी वार्डको एक कुनामा अलपत्र अवस्थामा लडिरह्यो। कसैले चासो नदिएपछि करिब २४ घण्टामा जनकपुर जानकी चोकका चार युवाले शव व्यवस्थापन गरेका छन्। ती व्यक्तिको दाहसंस्कारका क्रममा उनीहरूले नमस्कार गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–९ का ती पुरुषको मृत्युलगत्तै आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टदेखि स्थानीय प्रशासनलाई खबर गरेका थिए। तर, शव व्यवस्थापन कसले गर्ने भन्ने टुंगो लागेन। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला मृतकको कोरोना परीक्षण नै नभएकाले शव उठाउन नमिल्ने भन्दै पन्छिए। न आफन्तले नै शव उठाए।
त्यसपछि परिवर्तनका लागि युवा अभियानमा आवद्ध युवाहरू शव व्यवस्थापन गर्न अघि सरेका हुन्। उपमहानगरपालिकाले दिएको पीपीई लगाए। प्रादेशिक अस्पतालमा मृतकको परिवारसँग आवश्यक प्रक्रिया पुर्याएर स्वीकृति लिए। शव निकाल्नुअघि उनीहरूले स्ट्रेचर र वरिपरिका सामानलाई डिसइन्फेक्ट गरे। शव अस्पतालबाट निकालेर शववाहनमा राखे। फेरि आफू र वरिपरिका सामानलाई डिसइन्फेक्ट गरी स्वर्गद्वारीतिर हिँडे। स्वर्गद्वारीमा पुर्याएपछि उनीहरूले मृतकलाई अभिवादन गरे। अरूलाई सुरक्षित स्थानबाट फूल अर्पण गर्न अवसर दिए। तब ती पुरुषको दाहसंस्कार गरियो।
परिवारलाई आफ्ना सदस्य गुमाउनुको पीडा छँदै थियो तर अन्तिमपटक छुन पनि पाएनन्। मृतकको अनुहार पूरै ढाकिएको थियो। परिवारका सदस्य र आफन्तजन पनि घाट पुगेका थिए। चार जनाको टोली दाउरा जुटाउनेदेखि शव व्यवस्थापनसम्म कार्यमा जुटिरहेको थियो।
‘संकटपूर्ण अवस्थामा राज्यले दिएको काम गर्न पाउँदा गर्व लागेको छ’, शव व्यवस्थापनमा खटिएका सुशील कर्णले भने, ‘दाहसंस्कारमा नबोलाई जानुहुँदैन भन्ने परम्परा तोड्नुभन्दा हामीले आफ्नो जिम्मेवारी निर्वाह गरेका हौं।’
अभियानमा आवद्ध सुशील कर्ण, किशन मण्डल, मोहन रौनियार, मनीष सिंहलगायत युवा शव व्यवस्थापनमा खटिएका थिए। ‘सुरुमा डर लाग्यो। तर, बिस्तारै डर हराउँदै गयो’, मण्डलले भने, ‘एकपटक गरेपछि अब अर्को शव व्यवस्थापन गर्न सक्छु भन्ने मनोबल बढेको छ। हामीलाई जहाँ जसको जसरी आवश्यकता हुन्छ, हामीलाई जानकारी गराउनुस्, हामी तपाईंलाई सक्दो सहयोग गर्छौं।’
मृतकका पिता रेवतीरमण लालले दुई साताभन्दा बढी समयदेखि बिरामी भई घरमै औषधोउपचार गराइरहेकामा अवस्था बिग्रिँदै अस्पताल लगिएको बताए। स्थानीय राकेशविक्रम साहको सहयोगमा एम्बुलेन्स मगाएर बिरामीलाई अस्पतालमा भर्ना गराइएको लालको भनाइ छ। तर, अस्पताल प्रशासनले कोरोना परीक्षणबिना कोभिड वार्डमा लैजान अस्वीकार गरेपछि इमर्जेन्सीमा राखेर ती युवकको उपचार भइरहेको थियो।
अस्पताल प्रशासनले कोरोनाको लक्षण भए पनि पीसीआर रिपोर्ट नभएकाले यकिनका साथ भन्न नसकिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले मृतकको पीसीआर रिपोर्ट नभएकाले शव व्यवस्थापनमा कठिनाइ भएको स्वीकार गरे।
प्रतिक्रिया दिनुहोस !