दोर्दीखोला जलविद्युत्को परीक्षण
बेंसीसहर : लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको संरचना परीक्षण सुरु गरिएको छ। बाँध क्षेत्रअन्तर्गतका संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले खोलाको पानी सुरुङतर्फ डाइभर्सन गरी संरचना परीक्षण सुरु गरेको हो। आयोजना प्रवद्र्धक हिमालयन पावर पार्टनर लिमिटेडले आयोजनाको बाँध, इन्टेक र डिसेन्डरलगायतका संरचना परीक्षण गरिएको बताएको छ। दुई दिनसम्म पानी डाइभर्सन गरी संरचना परीक्षण गरिने र केही समयपछि पूरा परीक्षण गरिने आयोजनाका निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए।
करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको सो आयोजनाले आगामी जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने भएको छ। आयोजनामा सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ भने सुरुङतर्फ र हाइड्रो मेकानिकलतर्फ केही काम सम्पन्न हुने चरणमा रहेको ढकालले बताए। २०७४ असारबाट व्यावसायिक उत्पादन थाल्ने लक्ष्य लिएको आयोजना निर्धारित समयभन्दा तीन वर्ष बढी समय लिइसकेको छ। निर्माण अवधिको समय थपिएसँगै आयोजनाको लागत पनि बढेको छ। आयोजनाका अनुसार सुरुमा ४ अर्ब २३ करोड रुपैयाँको लागतमा अनुमान गरिएकोमा आयोजना निर्माण सम्पन्न हुँदासम्म ४ अर्ब ८० करोड पुग्ने अनुमान गरिएको छ।
भारतीय नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण आयोजना निर्माणको निर्धारित समयभन्दा बढी समय लागेको आयोजनाले जनाएको छ। दोर्दी खोला जलविद्युत् आयोजनाले २३ असार २०६८ मा लाइसेन्स पाएको हो। नेपाल विद्युत् प्राधिकरणसँग सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दररेटमा विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। दोर्दीखोलाको बहावलाई पाँच किलोमिटर लामो सुरुङमार्फत मस्र्याङ्दी नदीमा लगेर मिसाइनेछ। सो आयोजनाबाट वार्षिक १४२.४८६ मेगावाट प्रतिघण्टा विद्युत् शक्ति उत्पादन हुनेछ। उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदीपुर सबस्टेसनमा जोडिने बताइएको छ।
आईएमई समूहअन्तर्गतको हिमालयन पावर पार्टनर कम्पनीको स्वामित्वमा रहेको ‘दोर्दी खोला जलविद्युत् आयोजना’ को ५१ प्रतिशत सेयर एनआरएन इन्भेस्टमेन्ट कम्पनीले खरिद गरेको छ। ‘पब्लिक लिमिटेड कम्पनी भएकाले ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्ने प्रावधानअनुसार आयोजनामा अन्य बैंकको पनि लगानी छ। आयोजनामा ऊर्जा विकास विभागअन्तर्गतको जलविद्युत् लगानी कोषको ५० करोडसहित विभिन्न बैंकको ३ अर्ब १७ करोड ऋण छ।