अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि, मलामी गएका दर्जन बढी बिरामी,स्थानीयमा त्रास
दमौलीः दुई दिनअघि ज्वरो आएर बिरामी परेपछि भानु १ साँखेटारकी करिब २५ वर्षीया महिला पुरनडिहीस्थित नगर अस्पतालमा भर्ना भइन् । अस्पतालमा अवस्था सुधार नभएपछि दमौली अस्पताल ल्याएर उनको एक दिन उपचार गरियो । तर पनि अझै अवस्थामा सुधार नआएको भन्दै दमौली अस्पतालले उनलाई पोखरा रिफर गर्यो।
पोखरा जाने क्रममा बाटोमा एम्बुलेन्समै सोमबार साँझ ती महिलाले प्राण त्याग गरिन् । पुरनडिही र दमौली अस्पताल दुवैमा गरिएको परीक्षणका क्रममा महिलाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएको थियो । तर पनि कोभिड हुनसक्ने आशंकाकाबीच उनको पीसीआर नमूना परीक्षणका लागि पोखरा पठाइयो।
बाटोमै ज्यान गएपछि आफन्तले भानु १ को घाटमै ल्याएर राति अन्त्येष्टि गरे। अन्त्येष्टि पछि कोरोनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि शव अन्त्येष्टिमा खटिएका झन्डै २५ जना चिन्तित भएका छन्।
आफन्तले भानु १ को घाटमै ल्याएर राति अन्त्येष्टि गरेको जानकारी पाएको भानु नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । उनले भने,'रिपोर्ट अन्त्येष्टि भए पछि मात्र आएको कुरा छ । नेगेटिभ नै ठानेर आफन्तले आफ्नै तरिकाले अन्त्येष्टि गरेको बुझेको छु ।'
उनले अब अन्त्येष्टिमा खटिएकाको पनि पीसीआर परीक्षण गरिनुपर्ने उनले बताए । पोखरा लगिएकी ती महिलाको बाटोमा ज्यान गएपछि आफन्तले एम्बुलेन्स नै घाटमा लगेर अन्त्येष्टि गरेका थिए ।
अन्त्येष्टि गर्ने बिरामी
अन्त्येष्टिमा सहभागी केही बिरामी परेका छन् । स्थानीय राजेश कार्कीका अनुसार झण्डै १२ जना ज्वरो आएर बिरामी परेका छन् । उनीहरु घरमै आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार मलामी गएकाहरु पीसीआर परीक्षण गराउन समेत गएका छैनन्।