चालु वर्षभित्रै मुस्ताङका सबै पालिकामा विद्युतको पहुँच पुग्ने
जोमसोम : हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच सुनिश्चित गरिने भएको छ।
नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङ लगायतका विद्युत विस्तार हुन बाँकी रहेका घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा विस्तार गर्न लागेको हो।
नेपाल विद्युत प्राधिकरणले गतवर्ष नै उपल्लो मुस्ताङको लोमान्थाङ-२ छोसरको नेचुङसम्म राष्ट्रिय प्रशारण लाइन विस्तार गरिसकेको थियो। नेपाल सरकारसँगको सहकार्यमा गण्डकी प्रदेशले नेपाल विद्युत प्राधिकरण र विद्युत वितरणकेन्द्रसँग समन्वय गरी उपल्लो मुस्ताङको नेचुङसम्म राष्ट्रिय प्रशारण लाइन विस्तार संम्पन्न गरेको थियो।
म्याग्दीको तातोपानी वितरण केन्द्र र जोमसोमको निलगिरी उपभोत्ता सहकारी संस्थाका प्राविधिक टोलीले कोरलाको नेचुङसम्म राष्ट्रिय प्रशारणको हाइटेन्सन लाइन तान्ने काम गत वर्षनै पुरा गरेका थिए।
प्राधिकरणले गतवर्ष नै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापासहित जिल्लाको ९० प्रतिशत घरधुरीमा विद्युतको पहुँच विस्तार गरिसकेकोमा यसपटक भने बाँकी रहेको स्थानमा समेत विद्युतीकरण गर्ने कार्यक्रम रहेको तातोपानी वितरणकेन्द्रका प्रमुख सुनिल सापकोटाले जानकारी दिए।
“मुस्ताङको उत्तरी कोरलाको नेचुङसम्म गतवर्ष नै राष्ट्रिय प्रशारण लाइन पुर्याएका थियौं, घरघरमा विद्युतीकरण गर्न बाँकी थियो’, उनले भने, ‘अब त्यो काम असारसम्म सक्ने गरी काम अघि बढाइसकेका छौँ ।’
भौगोलिक रुपले विकट मानिएको उपल्लो मुस्ताडको लोमान्थाङ तथा सीमावर्ती क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनको काम पूरा भए पनि बर्सेनी हिउँदयाममा हिमपात हुने, एक आपसमा जोडिएका माटोका घरहरु भएको कारण विद्युत अवरुद्ध भई भौतिक तथा मानवीय जोखिम उत्पन्न हुने भएकाले स्थानीयले नाङ्गो तारको सट्टा एबीसी केवल तार जडान गर्न माग गरेका थिए। विद्युतीय जोखिम न्यूनिकरण गर्नका लागि उपभोत्ताको माग अनुसार असारसम्ममा विद्युतीय इकुमेन्टको व्यवस्थापन गरिसकेको तातोपानी वितरणकेन्द्रका प्रमुख सापकोटाको भनाइ छ।
उनका अनुसार प्राधिकरणले उपल्लो मुस्ताडका बाँकी रहेका घरधुरीमा विद्युत विस्तार गर्नका लागि ट्रान्सफर्मर, डिस्क, पिन, तार, एबिसी केवल र विद्युत पोल लगायतका उपकरण संम्बन्धित स्थानमा पूर्याइसकेको छ।
उपल्लो मुस्ताडसहित बाँकी रहेका स्थानमा विद्युतीय पहुँच विस्तारका लागि ट्रान्सफमेसन तथा प्राविधिक जडान गर्ने जिम्मा न्यू ढुड्गाना निर्माण सेवाले पाएको छ। कोरोना माहामारीको विषम अवस्थामा समेत चालु वर्षभित्रै काम सम्पन्न गर्न उद्देश्यले ४ प्याकेजमा करिव ४५ जना प्राविधिक जनशक्ति फिल्डमा परिचालन भइसकेको जनाइएको छ।
नेपाल विद्युत प्राधिकरणको हिमाली जिल्ला मुस्ताडमा सामुदायिकतर्फ ३५ सय र प्राधिकरणको सेवा लिने करिव १५ सय उपभोत्ता छन्। अब मुस्ताङमा विद्युतीकरण विस्तारसँगै बाँकी रहेका ४ सय घरधुरीलाई समेत विद्युत पहुँचमा जोडिने तातोपानी विद्युत वितरण केन्द्रले बताएको छ।
यस्तै प्राधिकरणले मुस्ताडको नेचुडसम्म राष्ट्रिय विद्युतको प्रशारण लाइन विस्तार गरे पनि नेचुडदेखि कोरलानाकासम्म विद्युतीय संरचना निर्माणका लागि टेन्डर आह्वान भइसकेको तातोपानी वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणले १३२/१३३ केभी प्रशारण लाइनलाई डाउन गर्दै म्याग्दीको दानामा २२० केभीको स्वस्टेशन निर्माण गरिसकेकाले मुस्ताडमा राष्ट्रिय विद्युत प्रशारण लाइन विस्तारमा सहज हुने जनाएको छ। यसअघि चरम विद्युत समस्या भोग्दै आइरहेको मुस्ताडलाई सवस्टेशन निर्माण भइसकेकाले अब विद्युतीय समस्या भोग्न नपर्ने जनाइएको छ।
मुस्ताडको थापा खोला हाइड्रो पावर कम्पनीले दाना, बेनी र मुस्ताडको कोवाडमा सम्झौता अनुसार केवलिड गर्नुपर्नेमा कम्पनीले कोवाडमा ३३ केभीको केवलिड गर्न नसकेकाले म्याग्दीसहित मुस्ताडमा विद्युतीय समस्या आउने गरेको वितरण प्रमुख सापकोटाले उल्लेख गरे।