बीपीमा उपचार सेवा सुधारको माग
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमितको उपचार प्रभावकारी नगरेको भन्दै धरानका सबै दलका नेता प्रतिष्ठान व्यवस्थापनविरुद्ध एकजुट भएका छन्।
पटक-पटक प्रतिष्ठानको उपचार सेवा प्रभावकारी बनाउन व्यवस्थापन पक्षसँग आग्रह गर्दासमेत अटेर गरेको भन्दै स्थानीय राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विरोध गर्दै संगठित भएर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बीपी प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारमा चरम लापरवाही गरेको, अन्य रोगका बिरामीको उपचारमा वेवास्था गरेको, आर्थिक अनियमितता गरेको, आइसीयू र भेन्टिलेटर सेवा विस्तार नगरेको, मिर्गौला रोगका बिरामीको उपचारलाई सहज नबनाएको, अक्सिजन प्लान्ट संचालन नगरेको र सामान्य बिरामीलाई भर्ना नगरी रिफर गर्ने गरेको भन्दै धरानका राजनीतिक दल व्यवस्थापनविरुद्ध खनिएका छन्।
धरानका सबै दलले प्रतिष्ठानको कार्यकारी सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउदै प्रतिष्ठानको सेवा सुधार गर्न माग गरेका छन्।
शुक्रबार मेयर राईकै अध्यक्षतामा सर्वदलीय बैठक बसेर शनिवारदेखि प्रतिष्ठान सुधार गर्न अभियान थाल्ने र तत्काल सुधार नगरिए प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाहीका लागि आन्दोलन गर्ने तयारी गरेका छन्।
प्रतिष्ठानका उपकुलति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरी शंकर साहको चरम लापरवाहीका कारण धरानवासीले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको भन्दै धरानका राजनीतिक दल आन्दोलित हुनु परेको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए। उनले प्रतिष्ठानले तत्काल स्वास्थ्य सेवा सुधार नगरे प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।
प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको हितमा भन्दा पनि कमिसनको खेलमा लागेर प्रतिष्ठानलाई धरासायी बनाउनतर्फ उन्मुख भएको भन्दै राजनीतिक दलले बीपी प्रतिष्ठान बचाउन आवश्यक ठानी व्यवस्थापन पक्षको खवरदारी गरिएको माओवादी केन्द्र धरानका इन्चार्ज अइन्द्रविक्रम बेघाले बताए। उनले प्रतिष्ठानमा भर्ना हुन आउने बिरामीलाई प्रर्याप्त बेड र चिकित्सक हँुदाहुँदै पनि प्रतिष्ठानका चिकित्सकले कमिसनको प्रलोभनमा बिरामीलाई रेफर गरेको आरोप छ।
धरानमा देशकै ठूलो अस्पताल भए पनि धरानवासीले सहज रुपमा उपचार नपाएको एमाले धरानका अध्यक्ष नारायण सुवेदीले बताए।
प्रतिष्ठानमा बिरामीले महिना दिनसम्म पर्खदासमेत सिटी स्क्यान, एमआरआई, र भिडियो एक्सरे सेवा पाउन सकेका छैनन्। यसले गर्दा बिरामीको उपचारमा चरम लापरवाही भएकाले प्रतिष्ठान बचाउन सशक्त आन्दोलन गर्ने तयारी गरिएको जनता समाजवादी पार्टीका अध्यक्ष ताजुव लिम्बुले बताए।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. चूडामणि पोखरेलले प्रतिष्ठान सुधारको काम भइरहेको बताएका छन्। सेवाग्राहीका असन्तुष्टिलाई ध्यानमा राख्दै सुधारको काम भइराखेको उनको भनाइ छ।