आजबाट प्रदेश १ को बजेट अधिवेशन सुरु
विराटनगर : प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार दिउँसो २ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ । आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको जनाइएको छ ।
आइतबारमात्रै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद सचिवालयले माओवादी केन्द्रलाई प्रतिपक्षको लाइनमा सिट व्यवस्थापन गरेको छ । प्रदेशसभा सचिवालयले संसद बैठकका लागि आवश्यक सबै तयारी पुरा गरिसकेको जनाएको छ ।
बैठकमा सहभागी हुने प्रदेशसभाका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय बिटका पत्रकारहरुको शनिबार र आइतबार कोरोना पीसीआर परीक्षण गरेको र नेगेटिभ रिपोर्ट आएकालाई मात्रै आज उपस्थित हुनेछन्।
परीक्षण गरिएका मध्ये एक सांसदसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ । शनिबार गरिएको स्वाब परीक्षणमा संसद सचिवालयका एकजना चालक, एक माली, दुईजना मर्यादापालक र एक पत्रकारलाई कोरोना पुष्टि भएको छ ।
त्यसैगरी आइतबार गरिएको परीक्षणमा माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाको रिपोर्ट पोजेटिभ आएको छ । सांसद साम्बाले एक महिनाअघि नै संक्रमित भएको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेपनि रिपोर्ट पोजेटिभ आएको बताए ।