कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञा
कपिलवस्तु : कोरोना संक्रमणको दोस्रो चरणको महामारीको श्रृंखला तोड्नका लागि कपिलवस्तु जिल्लामा जारी गरिएको निषेधाज्ञालाई सोमबार जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको वैठकले निषेधाज्ञालाई जेठ ३१ गते राती १२ बजे सम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधि भर मेडिकल, दूध, पानी, इन्टरनेट प्रदायक, प्रेस, एम्बुलेन्सलगायत अति आवश्यक सवारी साधन बाहेक सवै प्रकारका सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । खाद्यान्न तथा तरकारी लगायतका दैनिक उपभोगका वस्तुहरु किनमेलका लागि बिहान ९ बजेबाट १ बजेसम्म किराना र तरकारी पसल संचालन गर्ने अनुमति दिइएको छ ।
अघिल्ला दिनहरुको निषेधाज्ञाभन्दा यस अवधिमा भने कृषि तथा विउविजनका पसलहरु दिनभर खुला रहने र कृषकले मलखाद तथा विउविजन खरिद तथा ढुवानीका लागि स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गरी सहज ढंगले गर्न पाउने निर्णय गरिएको छ ।
निषेधाज्ञालाई पूर्णरुपमा पालना गराउन जिल्लाका विभिन्न बजार क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अति आवश्यक काम बाहेक घर बाहिर हिडडुल गर्ने जो कोहीलाई पनि नियम अनुसार कारवाही प्रक्रिया अघि बढाउने प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
आम सर्वसाधारणलाई कोरोना संक्रमणबाट बचाउन जिल्लामा निषेधाज्ञा जारी गरिएको बताउंदै स्वास्थ्य सुरक्षाका सवै उपायहरु अवलम्बन गरी निषेधाज्ञालाई पूर्ण रुपले पालना गर्न गराउन प्रहरी उपरीक्षक नवराज अधिकारीले आम सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।