बीपी प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
धरान : पछिल्लो समय राजनीतिक चपेटा र आर्थिक अनियमितताका घटनाले लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न धरानवासीले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन्। बुधवार धरानवासीले इलाका प्रशासन कार्यालय धरानमार्फत तत्काल प्रतिष्ठान सुधार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन ओलीलाई ध्यानकर्षण पत्र बुझाएका हुन्।
पछिल्लो समय राजनीतिक नियुक्ति लिएर प्रतिष्ठानको व्यवस्थापनको जिम्मेवारी बोकेका पदाधिकारीले सन्तोषजनक काम नगर्दा उपचार नपाएर बिरामीले ज्यान गुमाउन थालेपछि स्थानीयले धरान नागरिक दबाब संजाल गठन गरेर प्रतिष्ठान सुधार गर्न आन्दोलन थालेका छन्।
संजालले बुधवार इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत प्रतिष्ठान सुधार गर्न प्रधानमनत्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा हप्ता दिनसम्म प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार नगरिए व्यवस्थापन विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।
प्रतिष्ठान व्यवस्थापनको कमजोरीका कारण कोभिड अस्पतालमा संक्रमितको उपचार राम्रो नगरेको, संक्रमित बिरामीलाई भर्ना नगर्दा घरमै ज्यान गुमाउनु परेको, प्रतिष्ठानको रेडियोलोजी विभाग लथालिङ्ग हुँदा, भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई सेवा नपाएको।
त्यस्तै चिकित्सकहरुले कमिसनको लोभमा प्रतिष्ठान भर्ना भएका विरामीलाई अन्यत्र रेफर गर्ने गरेको र प्रीतष्ठानका पदाधिकारी पटकपटक आर्थिक अनियमितताका घट्नामा मुछिएर प्रतिष्ठानलाई धरासायी पार्ने काम गरेकाले धरानका सबै राजनीतिक दलहरुको सहभागितामा नागरिक दबाब संजाल गठन गरी प्रतिष्ठान सुधार गर्न आन्दोलन सुरु गरिएको संयोजक डा. राजेन्द्र शर्माले बताएका छन्।
संजालले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर सहलाई समेत ध्यानकर्षण पत्र बुझाई प्रतिष्ठान सुधार गर्न हप्तादिनको समय अल्टिमेटम दिएका छन्।
जनता समाजवादी पार्टी धरानका अध्यक्ष प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको हितमा भन्दा पनि कमिसनको खेलमा लागेर प्रतिष्ठानलाई धरासायी बनाएकाले तत्काल सुधार नगरिए सबै पदाधिकारीहरुलाई कडा कार्वाहि गर्ने चेतावनी दिएका छन्।
एमाले धरानका अध्यक्ष नारायण सुवेदीले पतिष्ठानका उपकुलपति गिरीले आफ्नै भाइ अजय गिरीलाई विचौलियाका रुपमा प्रयोग गरी प्रतिष्ठानमा समान खरिद गर्ने ठेकेदारलाई १० प्रतिशत रकम माग्न लगाएको आरोप लगाए। उनले तत्काल प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरी दोषि उपर कार्वाहि गर्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली समक्ष माग गरेका छन्।
प्रतिष्ठानका उपकुलपति डा. गिरीले हप्तादिन भित्र प्रतिष्ठानको सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले धरान नागरिक दवाव संचालले बुझाएको ध्यानाकर्षण पत्र बुधवार नै मेल मार्फत प्रधानमन्त्री कार्यालयमा बुझाइएको जानकारी दिए।