बोली कि गोली ?

बोली कि गोली ?

काठमाडौं/ हेटौंडा : नेताहरू यदाकदा आपत्तिजनक विषय प्याच्च बोल्छन्। बाहिरी दुनियाँमा जब त्यसको कडा आलोचना हुन्छ, धेरैजसो अवस्थामा पन्छिने गर्छन्, ‘मिडियाले आशय बंग्याएछ।’ 

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार यति घोर आपत्तिजनक भाषा प्रयोग गरे, जसमा अरूलाई दोष दिएर उन्मुक्ति पाउनै सकेनन्। संसद् बैठकको प्रत्यक्ष प्रसारणबाट भिडियो धेरैले कब्जा गरिसकेका थिए। र, शनिबार ‘आत्मालोचना’ गरे।  

वैद्यले प्रदेशसभा बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीको जिउज्यान तलमाथि गर्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका थिए। त्यो विषयलाई लिएर त्यस क्षण बैठकमा न उनको दल कांग्रेस, न प्रधानमन्त्रीको दल एमाले, कसैले आपत्ति जनाएनन्। 

बैठकपछि जब उनको भनाइ मिडिया र सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो, कांग्रेस प्रवक्ताले ‘आत्मालोचना’ गर्न निर्देशन दिए। एमाले प्रवक्ताले ‘फौजदारी अभियोगको चेतावनी’ दिएर विज्ञप्ति निकाले। सर्वत्र भत्र्सना गर्न थालियो। 

अनि, बल्ल शनिबारको प्रदेशसभा बैठकमा उनले ‘अभिव्यक्ति स्वतन्त्रताको अधिकतम प्रयोग गर्दा अलि बढी भएछ’ भनी घुमाउरो अडान राख्दै आत्मालोचना गरे। ‘सरी’ वा ‘क्षमायाचना’ को भाषा प्रयोग गर्न भने हिचकिचाए। त्यसैलाई ‘माफी मागेको’ भन्ने अथ्र्याइँदै आएको छ। 

कसैले गम्भीरतापूर्वक लिएन 
माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले शुक्रबार नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ‘दमई’ शब्द प्रयोग गरे। त्यसमा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले संसद्को रेकर्डबाट उक्त शब्द हटाउन नियमापत्ति गरेका थिए। 

तर, कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेको भन्दै ‘कोही नाथुराम गोड्से आवश्यक भएको र कोही बन्न तयार नभए म बन्ने कि’ भनेका थिए। त्यसमा तत्कालै कुनै सदस्यले नियमापत्ति गरेनन्। बाहिर–बाहिर विरोध भएपछि मात्र सांसदहरूले यसको मर्म बुझेका थिए। वा, कतिपय बुझेर पनि मौन रहेका थिए। 

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा शनिबार बैठक सुरु भएलगत्तै वैद्यले आत्मालोचना गरेका हुन्। उनले भने, ‘प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिका कारण मैले भावावेशमा आएर बोलेका कुराहरूको म आत्मालोचना गर्दछु।’
उनले उक्त भनाइ अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा ‘चिप्लिएको’ अभिव्यक्ति दिएका छन्। 

के हो अभिव्यक्ति स्वतन्त्रता ?
नेपालको संविधानले धारा १७ मा स्वतन्त्रताको हक प्रत्याभूत गरेको छ। त्यसका (२) (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रताको व्यवस्था छ। अभिव्यक्ति स्वतन्त्रताको सीमा भने कानुनले निर्धारण गरेको छ। कतिपय अवस्थामा नैतिकताको बन्धनले समेत यसको निर्धारण गर्छ। 

संविधानको उक्त प्रावधानमै भनिएको छ, ‘तर, खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय एकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन।’ 

अर्थात्, यस सन्दर्भमा लागू हुने गाली बेइज्जती, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता अभिव्यक्ति संविधानले छुट दिएको स्वतन्त्रतामा पर्ने विषय होइनन्। अभिव्यक्ति स्वतन्त्रता हो, स्वच्छन्दता होइन। यस्ता विषयलाई नियन्त्रण गर्ने अलग कानुन छन्। 

मधेसलाई दुख्ने अर्को भनाइ  
वैद्यले उक्त मन्तव्यमा ओलीको ज्यान लिने धम्की मात्र दिएका थिएनन्, मधेस मामलामा अत्यन्त आपत्तिजनक भनाइ राखेका थिए। 
उनको भनाइ यस्तो थियो– 
मान्चुकुओ भन्ने हाम्रो जस्तै सानो देश। हाम्रै देशको जस्तो हावापानी। त्यहाँ जापानीहरू सिकर्मी, डकर्मी भएर जान्थ्यो। कार्पेन्टर भएर जान्थ्यो। अनि, जापनिजहरू पस्दा–पस्दा–पस्दा बिस्तारै–बिस्तारै मान्चुकुओ चै जापानमा।  राष्ट्रपति मुनचिनले बैठक बोलाउँदा राष्ट्रपति मुनचिन मात्र बाँकी रहेछ, बाँकी सबै मन्त्रीहरू जापनिज भइसकेको रहेछ। बिस्तारै–बिस्तारै जापानले त्यो देश खाइदियो। भूगोलबाट उसको देश हट्योे। 

अब हाम्रो देश पनि मान्चुकुओ जस्तै। हाम्रो देशमा पनि कोही सिकर्मी, कोही डकर्मी बनेर पसेका छन्।  कोही खाली सिसी पुरानो बोतल भनेर बसेका छन्। कोही ज्वाइँ भएर बसेका छन्। बिस्तारै–बिस्तारै उपप्रधानमन्त्री भइसकेका छन्। महन्त ठाकुरलाई ओलीजीले बिस्तारै प्रधानमन्त्री बनाइदिने होला। बिस्तारै–बस्तारै यो देश पनि मान्चुकुओ बनाउँदै छ।

राजनीतिको उग्रता रोग
अत्यन्त आपत्तिजनक अभिव्यक्ति राजनीतिकै रोग बन्दै गएको छ। शीर्ष नेताहरू नै एक अर्कालाई होच्याउन अशिष्ट बन्दै आएका छन्। ठूला नेताबाट त्यो मझौलामा सर्छ। मझौलाबाट सानातिर सर्छ। सानाबाट कार्यकर्तामा जान्छ। फलतः राजनीति नै विकृत हुँदै गएको छ।

जहाँसम्म संसद्को सवाल छ– तोडफोड, हुलहुज्जत र गालीबेइज्जती बढी त्यहीं हुने गरेको छ। नेताले च्यापेर कतिपयले सांसदमा टिकट पाउने प्रणालीले निम्त्याएको समस्या हो खासमा यो। जसको कृपाले सांसद बनेको हो, उसकै भक्ति गर्नुपर्ने बाध्यताले उनीहरूबाट यस्ता अभिव्यक्ति आउने गर्छन्। खासगरी माथिल्ला नेता ‘खुसी हुन्छन्’ भन्ने सोचले तलकाले हौसिएर जे पायो त्यही बोल्ने गरेका हुन्छन्। 

१८ औं शताब्दीका फ्रान्सेली नीतिशास्त्री÷लेखक जोसेफ जौबर्टले भनेका थिए, ‘नम्रता मानवताको फूल हो।’ 
उसो भए, राजनीतिमा ‘नम्रता’ वा ‘शिष्टता’ के फाप्दैन ? कि किन सबै उग्रता नै रुचाउँछन् ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.