कपिलवस्तुमा निषेधाज्ञा खुकुलो बनाउँदै लम्बियो, के-केमा खुकुलो भयो ?
कपिलवस्तु : जिल्लामा जारी रहेको निषेधाज्ञालाई एक हप्ताका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय तौलिहवामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले शैलुन, व्युटिपार्लर, होटल रेष्टुरेन्ट, शैक्षिक संस्थाहरु, सभा, सम्मेलन र हाट बजार संचालनमा रोक लगाएको छ ।निषेधाज्ञा अवधि पानी, दूध, इन्टरनेट, एम्बुलेन्स, प्रेसलगायतका अतिआवश्यक सेवाप्रदायक सवारी साधन संचालन हुने छन् ।
तर, निजी तथा सार्वजनिक सवारी साधन संचालनमा भने रोक लगाइएको छ ।बिहान ९ बजेबाट खुल्दै आएको किराना तथा तरकारी पसल साँझ ५ बजेसम्म खोल्न अनुमति दिइएको छ ।
यसैगरी हार्डवेयर, स्टेसनरी, विउविजन, खाद्यान्नलगायतका पसल पनि साँझ ५ बजेसम्म संचाल नहुने छन् । कृषिकार्यका लागि निषेधाज्ञा अवधिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी काम गर्न कुनै रोकावट नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञालाई पूर्णरुपमा पालना गराउन जिल्लाका विभिन्न प्रहरी युनिट परिचालन गरिएको प्रहरीले जनाएको छ । निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई नियमअनुसार कारवाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।