राप्ती नदिको टापुमा चार जना फसे : उद्धारमा कठिनाइ
दाङ : अविरल वर्षातका कारण दाङको राप्ती नदिमा पानीको बहाव बढेपछि भैँसी चराउन गएका चार जना नदिको टापुमा फसेका छन्। लमही नगरपालिकाका र राजपुर गाउँपालिकाका एक महिलासहित चार जना नदिको बीच टापुमा रहेको र उनीहरुको उद्धार कार्य जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
लमही नगरपालिका वडा नम्बर ७ का ४८ वर्षका मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीया सावित्रा यादव, सोहि ठाउँका २६ वर्षीय राधे यादव र राजपुर-३ का २६ वर्षीय गणेश यादव नदिको टापुमा भैसी चराउँदै गरेको अवस्थामा नदिमा फसेका हुन्। पानीको बहाव बढेपछि नदिको बीचैमा फसेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ।
मंगलबार दिउँसोदेखि उनीहरु भैसीसहित टापुमा छन्। नदिमा पानीको बहाव बढ्दै गएपछि उनीहरुको उद्धारमा गएरातीदेखि नै लागेपनि उद्धार हुन सकेको छैन्। उद्धार टोली डुंगासहित पुगेको भएपनि उनीहरुले भैसीसहित उद्धार गर्न माग राखेर आउन नमानेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उद्धार टोली गएरातीदेखि खटिएपनि उनीहरुले भैसीसहित उद्धार गर्नुपर्ने माग राखेपछि उद्धारमा ढिलाई भएको उनको भनाई छ। करिब १६/१७ वटा भैसी नदिको बीचमा उनीहरु सँग छन्।