वर्षायाममा सधैं त्रास
अछाम : लगातारको वर्षाका कारण बुढीगंगा नदीमा बाढी आएसँगै आसपासका बस्ती र खेतीयोग्य जमिन उच्च जोखिममा परेका छन् । बाढीका कारण नदी आसपासका स्थानीय त्रसित बनेका छन् ।
हरेक वर्ष वर्षायाम सुरु भएसँगै बुढीगंगा नदीले बस्ती डुवानमा पार्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ । गत वर्ष नदीले ठूलो मात्रामा साँफेबगर आसपासका खेत कटान गरेको थियो ।
तटबन्धनको उचित व्यवस्था नहुँदा यहाँका बासिन्दाले बर्षेनि बाढीको त्रास खेप्नु परेको छ । तटबन्धनका लागि बजेट नआएको पनि होइन । तर बजेटको सदुपयोग कसरी हुन्छ र कहाँ तटबन्धन हालिन्छ भन्ने नै जानकारी छैन । तटबन्धनका लागि आएको बजेटको कुनै हिसाबकिताब नै नभएको स्थानीय दिपक खड्काले बताए ।
जालीमा ढुंगा भरिएर हालिएका तटबन्धन बाढीले बर्षेनि बगाउने गरेको छ । जहाँ जोखिम हो, त्यहाँ तटबन्धन हुँदैन । बजेट सक्नका लागि सहज र पायक पर्ने तारजाली हालिन्छ ।
गत वर्ष आएको बाढीले साँफेबगर नगरपालिका ४ मा रहेको खेत पुरै नदीले कटान गरेको थियो। । जसले गर्दा एयरपोर्ट र पुरै नगरपालिका नै जोखिममा परेको छ । पूर्वबाट छिपेखोला,उत्तरबाट बुढीगंगा र दक्षिणबाट बग्ने प्रभाली खोलाका कारण साँफेबगर नै उच्च जोखिममा छ ।
२०४० सालदेखि नै खेतियोग्य जमिन कटानको मारमा आफूहरु पर्दै आएको स्थानीय चक्र कुँवरले बताए । प्रदेश सरकार र सिंचाइ डिभिजन कार्यालयको ४० लाखको लागतमा गत वर्ष खेत कटान गरेको ठाउँमा तटबन्धमा गर्न लागिएको कुँवरले बताए ।
यो आर्थिक वर्षको अन्तिममा आएर सुदुरपश्चिम सरकारले बुढीगंगामा तटबन्धनका लागि १ करोड ४० लाख र रामारोशनका लागि २ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
साँफेबगर नगरपालिका मेयर कुलबहादुर कुँवरले नदीबाट हरेक वर्ष हुने खेतियोग्य जमिन कटान र समग्र नगरपालिकालाई बचाउन आफूहरुले हरसम्भव प्रयास गरिरहेको बताए । उनले भने,‘यो वर्ष गुरु योजना बनाएर अगाडि बढ्ने छौं, कुनै एकजना व्यक्तिले तटबन्धनको नाममा बजेट लिएर आउँछ,तर त्यो तटबन्धन कहाँ गरियो भन्ने नै जानकारी हुँदैन,नगरले अहिले आफ्नो बजेटले भ्याएसम्म गत वर्ष क्षति गरेको ठाउँमा तटबन्धनको काम गरिरहेको छ ।’
बाढी र पहिरोका कारण त्यस्तो कुनै अप्रीय घटना नघटेको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए । उनले भने,‘खेत कटान,सिंचाइ कुलो भत्किएको खबर आएको छ अन्य कुनै अप्रिय घटना भने घटेको छैन्,हामीले सर्तकता अपनाउन भनेर सूचना जारी गरेका छौं ।'
गत वर्ष जिल्लामा बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो । भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिकाका १७ जनालाई बेपत्ता बनाएको थियो । ८ जना शब फेला परेको थियो भने ९ जना अझै बेपत्ता छन् । बाढीले रामारोशनको सैनिबजार नामोनिशान नै मेटाएको थियो । २५ घर पसल बगाएको थियो ।