लकडाउनमा ७५ प्रतिशतले घट्यो मुक्तिनाथ मन्दिरको आम्दानी

लकडाउनमा ७५ प्रतिशतले घट्यो मुक्तिनाथ मन्दिरको आम्दानी

जोमसोम: कोभिड नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको आम्दानी ७५ प्रतिशतले घटेको छ ।

कोरोना कहरअघि सामान्य अवस्था भन्दा कोरोना कहरपछिको निरन्तर लकडाउनले मुक्तिनाथ विकास समितिको आम्दानी ७५ प्रतिशतले घट्न पुगेको बताइएको छ ।

हिन्दू तथा बौद्धमार्गीको साझा तिर्थस्थल मुक्तिनाथमा हरेक वर्ष लाखौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ । मुक्तिनाथ दर्शनका लागि पुगेका स्वदेशी तथा विदेशी भक्तजनले मुक्तिनाथ मन्दिरमा भेटी चढाउनेदेखि मुक्तिनाथ विकास समितिले राखेको दानपेटीका बाकसमा र चन्दा संकलन काउन्टरमा आफ्नो गच्छ्य अनुसार चन्दा भेटीदान चढाउने गर्छन् ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा मुक्तिनाथ मन्दिरमा संकलन गरिएको मुक्तिनाथ विकास समितिको आम्दानी ४ करोड ९९ लाख ७२ हजार ६ सय रुपैयाँ मौज्याद रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका लेखापाल गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मुक्तिनाथ विकास समितिको कोषमा ४ करोड १२ लाख ४९ हजार ५ सय रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा समितिको कोषमा ४ करोड ६९ लाख मौज्याद रहेको  छ ।

कोरोना कहरअघि र कोरोना कहरपछिको अवस्थामा मुक्तिनाथ विकास समितिको आम्दानीमा गत वर्ष ५० प्रतिशत र चालु वर्ष ७५ प्रतिशतले घट्न पुगेको लेखापाल थापाले बताए । मुक्तिनाथ विकास समितिको आम्दानी आर्थिक वर्ष २०७५/०७६ को अनुपातमा आर्थिक वर्ष २०७६/०७७ सालमा ५२ लाख २१ हजार ६ सय र आर्थिक वर्ष २०७७/०७८ सालमा ७७ लाख २४ हजार ९ सय रुपैयाँ आम्दानी घटेको लेखापाल थापाले उल्लेख गरे ।

कोरोना कहरअघि आर्थिक वर्ष २०७५/०७६ सालमा मुक्तिनाथ विकास समितिको काउन्टरमा रसिद काटेको भेटी ७९ लाख ७६ हजार ४ सय ३३ रुपैयाँ जम्मा भएको थियो भने चन्दा बाकसमा २३ लाख २० हजार ९ सय ८८ रुपैयाँ जम्मा भएको थियो ।

रसिद र बाकस गरी सो वर्ष १ करोड २ लाख ९७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो । कोरोना कहरपछिको आर्थिक वर्ष २०७६/०७७ सालमा रसिद काटेको रकम ३१ लख ७८ हजार ८ सय १० रुपैयाँ र चन्दा बाकसमा १८ लाख ९७ हजार रुपैयाँ जम्मा भएको थियो । त्यस वर्ष समितिलाई दुबै गरी ५० लाख ७५ हजार ८ सय रुपैयाँ आम्दानी भएको थियो ।

यस्तै चालु वर्ष रसिद काटेका भेटी १५ लाख १२ हजार २ सय ४५ र चन्दा बाकसमा १० लाख ६० हजार ३ सय रुपैयाँ जम्मा भएको थियो । चालु वर्ष समितिलाई २५ लाख ७२ हजार ५ सय रुपैयाँ आम्दानी भएको मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथ मन्दिरमा उठेको चन्दा भेटी बर्सेनी असार महिनामा एडिट हुने गर्छ । मुक्तिनाथामा भक्तजनबाट रसिद काटेको भेटी हप्तैपिच्छे त्यहा खटिएका कर्मचारी बैंकमा दाखिला गर्ने प्रचलन छ । विधान बमोजिम मुक्तिनाथ विकास समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र सदस्य सचिवमा मालपोत कार्यालयका प्रमुखसहित सरोकावाला निकायहरुलाई सदस्यमा राखिएको छ ।

सोमबार समितिकी अध्यक्ष प्रजिअ हिरादेवी पौडेलसहित समितिका सदस्य र मन्दिरमा कार्यरत आनी झुमाहरुको रोहबरमा सीसी क्यामेराको निगरानीमा चन्दा बाकसको आम्दानी गणना गरिएको लेखापाल थापाले जानकारी दिए ।

मुक्तिनाथ मन्दिरको संरक्षण तथा सम्वद्धनमा १ जना पूजारी, एक जना कार्यालय सहयोगी र २ जना सरसफाईकर्मी गरी कुल ४ जना कर्मचारी समितिले खटाएको छ । उनीहरुको तलबमा मासिक ६२ हजार खर्च हुने गर्छ । उनीहरुलाई दशैँ भत्ता स्वरुप थप एक महिनाको बोनसहित १३ महिनाको ८ लाख ६ हजार रकम खर्च हुने मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।

यस्तै, मुक्तिनाथ विकास समितिले मुक्तिनाथ संरक्षण तथा व्यवस्थापनका लागि आवश्यकता र औचित्यताका आधारमा कोषको बजेट खर्च गर्ने गर्छ । समितिको कोषमा रहेको बजेटमा बैंकले केही रकम कर कट्टी गरेको लेखापाल थापाले जनाए । गत वर्ष मुक्तिनाथ विकास समितिको मौज्याद ४ करोड ६९ लाख ७२ हजारको बैंक ब्याज १ लाख ३५ हजार ८ सय कोषमा थपिएको थियो ।

मुक्तिनाथामा बर्सेनी उठ्ने चन्दा भेटीको अनुपातमा ठूलो रकम मन्दिरमा चढाइने गरिएको सो रकम मन्दिरमा कार्यरत आनीझुमाको खल्तीमा जाने गरेको एक स्थानीयले जानकारी दिए । मुक्तिनाथमा चढाइने भेटी एकद्धार प्रणालीबाट आर्थिक संकलन नहुँदा भक्तजनले मन्दिरमा चढाएको भेटीको सही सदपयोग हुन नसकेको ती स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिए ।

"मुक्तिनाथ मन्दिर भित्र चढाइने पैसा, गरगहना मुख्य हकदार त्यहाँ कार्यरत आनीझुमाकै अधिनमा हुने हुदा अपेक्षा गरिए अनुसार मुक्तिनाथ विकास समितिको कोषको रकम वृद्धि हुन नसकेको हो" ती स्थानीयले बताए ।

मुक्तिनाथमा बर्सेनी लाखौँ भक्तजनले भेटीदान गर्ने भए पनि मुक्तिनाथ विकास समितिको कोष ४ वर्षको अनुपातमा उस्तै पाइएको छ । समितिले मुक्तिनाथको आंशिक मर्मतसम्भार गर्ने भए पनि मुक्तिनाथको विकासमा पर्यटन मन्त्रालय र पुरातत्व विभागले आर्थिक बजेट बिनियोजन गरी गुरुयोजना समेत अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.