भ्रष्टाचार छानबिन गर्न बीपीका चिकित्सकको माग
धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समति गठन गरेर छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष यहाँका चिकित्सक र कर्मचारीले माग गरेका छन् ।
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रधानमन्त्री समक्ष उक्त आग्रह गरेका हुन् ।
पछिल्लो समय राजनीतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारी प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजामा विरोध प्रर्दशन गरेका हुन् । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानबिन गरेर दोषीमाथि कारवाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन् । प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटी अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा चिकित्सकले मंगलवारदेखि प्रतिष्ठान पदाधिकारीको बेथितिविरुद्ध आन्दोलन चर्काएका हुन् ।
चिकित्सकको आन्दोलनलाई प्रतिष्ठानका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले समेत समर्थन गरेका छन् । बिहीवार प्रतिष्ठानबाट विभिन्न प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका चिकित्सकले धरानको बुद्धचोक, धनुकुटे रोड, राँगा चोक, पुतली लाइन हुँदै भानु चोकसम्म र्याली निकालेका थिए ।
प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले प्रतिष्ठानमा भएको भष्टाचारको उच्च स्तरीय समिति गठन गरी छानबिन गर्न प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन् । उनले यस अगाडि प्रतिष्ठानमा भ्रष्टाचार गरेर अख्तियारले कारवाही गरेका पूर्व पदाधिकारीहरु पनि प्रतिष्ठानको सेवा सुविधा खाइरहेको भन्दै विरोध जनाएका छन् ।
सोसाइटीका महासचिव डा. सर्यप्रसाद रिमालले पछिल्लो समय राजनीतिक नियुक्ति लिएर आएर आएका पदाधिकारीले प्रतिष्ठानमा समस्या उत्पन्न भएको बताए । उनले प्रतिष्ठानमा भएको भ्रष्टाचारको विरोध गर्दा उपकुलपति डा. गिरीले उल्टै चिकित्सक र कर्मचारीलाई विभिन्न प्रकारका धम्की दिएको आरोप उनीहरुको छ ।