मुस्ताङको थाक टुकुचे गाउँ बाढीको उच्च जोखिममा
जोमसोम: अविरल वर्षाका कारण आएको थापाखोलाको बाढीले मुस्ताङको थाक टुकुचे गाउँ जोखिममा परेको छ ।
टुकुचे कवि भुपि शेरचनको पुर्ख्यौली गाउँ समेत हो । बर्सेनी नदी कटान र पहिरोको उच्च जोखिममा पर्ने थाक टुकुचेमा शुक्रबार आएको बाढीले यहाँका १ सय १० घरधुरीमध्ये ४० घरधुरी बाढीको जोखिममा परेको हुन् ।
मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँको पश्चिमतर्फबाट बग्ने थापाखोलाको बाहव तिब्र हुँदा टुकुचे बस्ती उच्च जोखिममा परेको थासाङ-१ का वडाध्यक्ष रत्नप्रसाद ज्वाहारचनले बताए ।
कालिगण्डकी नदी कटान र ठाडो बग्ने थापाखोला बाढीले टुकुचे गाउँमा बाढी पस्न थालेको छ । बाढीका कारण बस्ती जोखिममा परेपछि स्थानीयहरु त्रसित बनेका छन् भने बाढीले स्थानीयको खेतीयोग्य जमिन समेत कटान गरी क्षति पुर्याएको उनको भनाइ छ ।
लगातारको वर्षाले थाक टुकुचे गाउँको तल्लो सेपी भन्ने स्थानमा करिव ३५ रोपनी खेतीयोग्य जमिन थापाखोला बाढीले कटान गरेका वडाध्यक्ष ज्वाहारचनले बताए । थापाखोलाको बाढीले थाक टुकुचेमा स्थानीय विष्णु शर्माको १० रोपनी क्षेत्रफलमा लगाइएको स्याउ बोटसहित आलु र उवा लगायत अन्नबाली बाढीले बगाएको छ ।
स्थानीय ज्योति भट्टचनको ५ रोपनी र कल्पना शेरचनको १० रोपनी जग्गा बाढीले बगाएको छ । यस्तै, थापाखोलाको उर्लिएर आएको ठाडो बाढीले स्यालुम बहुउद्देश्य सहकारी स्याउ फार्म र स्थानीय निरज तुलाचनको स्याउ फार्म उच्च जोखिममा परेको छ । स्थानीयका अनुसार थापाखोलाको बाढी स्याउ फार्ममा पसेर अन्नबाली लगायतमा क्षति पुर्याएको छ ।
अविरल वर्षासँगै कालिगण्डकी नदीको सतह वृद्धि हुँदा टुकुचे बस्तीतर्फ नदी कटान गरेको छ । कालिगण्डकी नदीको सीमसार पानीको दलदले जलथलका कारण जमिन भासिँदा त्यहाँ रहेका ऐतिहासिक तथा धार्मिक संरचनामा क्षति पुगेको छ । स्थानीय निर्जनमान शेरचनका अनुसार कालिगण्डकीको सिमसारले धार्मिक सम्पदा रहेको जमिन भासिएर साँढे ३ सय वर्ष पुरानो म्हाने, स्तुपा र छोर्तेनमा क्षति पुगेको छ ।
मुस्ताङको थाक टुकुचेमा थापाखोलाको निरन्तरको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि स्थानीय गाउँ समाजले सामूहिक रुपमा ग्याबिन लगाएर खोला तर्काउने काम गरे पनि पटक पटकको बाढीले बस्तीतर्फ कटान गर्ने क्रम रोकिएको छैन ।
स्थानीयले ऐतिहासिक बस्ती जोगाउन सरकारले बृहत बजेट बिनियोजन गरी दीर्घकालीन रुपमा बस्ती संरक्षण गर्न माग गरेका छन् । थासाङको टुकुचेमा २ वर्षअघि जापानीज दूतावासले सहयोग स्वरुप दिएको डोजरले बाढी नियन्त्रणमा लिने काम भइरहेको छ ।
बाढीले टुकुचेको बेलीब्रिज रहेको सडक कटान गरे बस्ती विस्थापित हुने स्थानीयले जनाएका छन् । बाढीले बेनी—जोमसोम सडक छेउमा रहेको जापानीज उजिहारा पार्क समेत जोखिममा परेको छ ।
यस्तै लगातारको वर्षाले थासाङ—२ सौरु गाउँमा तम खोलाको बाढी स्याउबारीमा पस्दा स्याउ लगायत अन्य अन्नबाली ठूलो मात्रामा नष्ट भएको छ । सौरु गाउँमा शनिबार राति बाढी आउँदा तम खोला बाढी स्याउबारीमा पसेको थियो । स्थानीयले दिनभरी खोला तर्काउने काम गरे पनि बाढीले निरन्तर सास्ती दिएको छ ।