मुस्ताङका ५ स्थानीय तहमा १ अर्व ५४ करोडको बजेट
मुस्ताङ: मुस्ताङका सबै ५ वटै स्थानीय तहले बिहीबार आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरुले केन्द्रमा अलग—अलग रुपमा एकैसाथ बजेट खाका सार्वजनिक गरेका हुन् । संघ तथा प्रदेश सरकारले बिनियोजन गरेको बित्तिय समानिकरण, सशर्त, विशेष, समपुरक, राजश्व बाँडफाँट र स्थानीय तहको आर्थिक श्रोत जोडेर बजेट सार्वजनिक गरेका हुन् ।
मुस्ताङका ५ वटै स्थानीय तहले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि सबै तहमा गरी झन्डै १ अर्ब ४५ करोडको बजेट पेश गरिएको हो । स्थानीय तहले गरेको बिनियोजनमा चालु खर्चतर्फ ५६ करोड ७९ लाख ६ र पूँजीगत खर्चतर्फ ७८ करोड ६९ लाखको बजेट सार्वजनिक गरेका हुन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गापामा चालु खर्च १२ करोड १० लाख १३ र पूँजीगत विकास खर्च ११ करोड ९८ लाख , घरपझोङ गापामा चालुतर्फ १६ करोड ९२ लाख २६ हजार र पूँजीगत विकास खर्च १६ करोड १९ लाख ४१ ह्जार, थासाङ गापामा चालुतर्फ ८ करोड १५ लाख ७९ हजार र पूँजीगत विकास खर्च २२ करोड ८० लाख ५० हजार ,वारागुङ मुक्तिक्षेत्र गापामा चालुतर्फ १६ करोड ४४ लाख २५ हजार र पूँजीगत विकास खर्च १३ करोड ४७ लाख र लोघेकर दामोदरकुण्ड गापामा चालुतर्फ १० करोड ५० लाख ७५ हजार छ भने पूँजीगत विकास खर्च १४ करोड २४ लाख ८५ हजार छ ।
सबै स्थानीय तहका बजेटमा कृषि, पर्यटन, शिक्षा ,स्वास्थ्य र पूर्वाधार विकास लगायतमा जोड दिएको पाइएको छ । लोमान्थाङले किमलिङ युनिफाईड एकीकृत विद्यालयलाई २ करोड ९८ लाख पर्यटन प्रवर्द्धनमा १ करोड छोदे गुम्बा निर्माणमा १ करोड, नदी नियन्त्रणमा ५० लाख र विद्यालय छात्राबास सञ्चालनमा १८ लाख बिनियोजन गरेको छ ।
घरपझोङ गापाले आर्थिक विकासमा ९९ लाख ४३ हजार, सामाजिक विकासमा ६६ लाख ४५ हजार, पूर्वाधार विकासमा ५९ लाख र विपद व्यवस्थापनमा ६७ लाख ८० हजार विनियोजन गरेको छ भने थासाङ गाउँपालिकाले साविक मौज्याद विपद कोषमा २० लाख थपेको छ । यस पालिकाले नदी नियन्त्रण तटबन्ध र स्वास्थ्य पूर्वाधारमा पनि बजेट छुट्याएको छ ।
यस्तै, वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा जाने अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुको सहजताका लागि एक्सेलेट पूर्वाधार निर्माण गर्नका लागि प्रारम्भिक रुपमा २० लाख बजेट विनियोजन गरेको छ भने मुक्तिक्षेत्रभित्र रहेका प्राचिन गुफाहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यसहित काम अघि बढाउन बजेट विनियोजन गरेको छ । सो पालिकाले मुक्तिनाथमा तिर्थालुको स्वास्थ्य सुविधालाई केन्द्रमा राखेर हाईअल्टिच्युड सेन्टर व्यवस्थापनमा र एम्बुलेन्स खरिद व्यवस्थापनमा बजेट छुट्याएको छ ।
यस्तै, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले शिक्षा, स्वास्थ्य, धार्मिक संम्पदा संरक्षण तथा स्तरोन्नति, कृषि र पर्यटन लगायतमा बजेट केन्द्रमा राखेको छ । सो गाउँपालिकाले पालिकाभित्र पढ्ने विद्यार्थीको शैक्षिक पठन—पाठनमा योगदान पुर्याउने उद्देश्यले विद्यार्थीको नाममा बैंक खाता खोल्ने समेत उल्लेख गरेको छ । पालिकाले अभिभावक र पालिकाको साझेदारीमा मासिक ४ सय रुपैयाँ विद्यार्थीको नाममा जम्मा गर्ने र उक्त जम्मा गरिएको रकम प्लस टु पढ्दा आर्थिक सहयोग पुग्ने उद्देश्य राखेको छ ।
लोघेकरको बजेटमा जिग्मे फाउन्डेसनको २ करोड १० लाख र पाइला नेपालको ३ करोड ९७ लाख बजेटको कार्यक्रम स्वीकृत गरिएको हो । पालिकाले स्याउ खेती विस्तार तथा प्रर्वद्धनमा जोड दिएको छ भने राष्ट्रिय योजना आयोगको बजेटले धार्मिक स्थलको स्तरोन्नतिमा जोड दिने जनाएको छ ।