चिकित्सकलाई वार्तामा बोलाएर बीपीका उपकुलपतिले गरे दुर्व्यवहार (भिडियोसहित)
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलित चिकित्सकलाई वार्तामा बोलाएर दुर्व्यवहार गरेका छन् ।
मंगलबार वार्तामा बोलाएका गिरीले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका हुन् । वार्ताको समाचार संकलन गर्न पुगेका पत्रकारमाथिसमेत दुर्व्यवहार भएको छ । आन्दोलित चिकित्सकले उपकुलपति गिरीले मादक पदार्थ खाएर दुर्व्यवहार गरेको भन्दै स्वास्थ्य परीक्षण गरेर कारवाही गर्नुपर्ने माग गरेका छन् । वार्तामा बोलाएर उपकुलपतिले दुर्व्यवहार गरेपछि चिकित्सक थप आन्दोलित बनेका छन् ।
यसअघि प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनीतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीले आन्दोलन थालेपछि दुई सातादेखि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्कमा थिएनन् ।
पन्ध्र महिना अगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए। धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर अल्टिमेटम दिएको थियो ।
प्रतिष्ठानका उपकुलपति गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र रजिस्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीलाइ आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीले कार्यालयमा थुनेर राखेका छन् । प्रहरीले उनीहरुलाई सुरक्षा दिएको छ भने चिकित्सकले आन्दोलनलाई थप चर्काएका छन् ।