बीपी प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारजना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले बुधवार पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानमा भएको भष्ट्राचारको छानविन गरी दोषिमाथि कारवाही र प्रतिष्ठान सुधारको माग राखेर १६ निदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठानका उपकुलपतिडा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
मंगलबार आन्दोलनरत पक्षसँग वार्तामा बसेको बेला उपकुलपतिगिरीले मादक पदार्थ सेवन गरी चिकित्सक, नर्स र कर्मचारीलाई दुरव्यभार गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो । मंगलबार मध्यरातसम्म चिकित्सक र कर्मचारीहरुले उपकुलपतिगिरीलगायतका पदाधिकारीविरुद्ध विरोध प्रर्दशन गरेका थिए । कर्मचारीले कार्यकक्षमै थुनेर राखेका मादक पदार्थ सेवन गरेका उपकुलपतिगिरीलाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवर नेतृत्वको टोलीले विराटनगर पुयाए पश्चात आक्रोषित बनेका आन्दोलनकारीले बुधबार एकसाथ चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आन्दोलनकारीले मेडिकल शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गरिरहेको देशकै अग्रणी संस्था बीपी प्रतिष्ठानलाई धरासायी बनाउन वर्तमान चारजना पदाधिकारीहरुको मुख्य हात रहेकाले स्वास्थ्यमन्त्रीस्तरीय छानविन समिति गठन गरी दोषिलाई कारवाही गर्न माग गर्दै तालाबन्दी गरिएको प्रतिष्ठानको संघर्ष समितिका अध्यक्ष डा. सुर्यप्रसाद रिमालले बताएका छन् ।
उनले प्रतिष्ठानको हित विपरित काम गर्ने चारैजना पदाधिकारीलाई बर्खास्त गर्न र मन्त्रीस्तरीय वार्ता टोली गठन गरी प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न कुलपती समेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका छन् ।
१६ दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले तीन दिनदेखि रिले अनसनलाई समेत निरन्तरता दिएका छन् । प्रतिष्ठानमा भ्रष्टाचार भयो, पदाकिारीहरु दैनिक कामकाजमा भन्दा विभिन्न सामान खरिद र ठेक्का प्रक्रियामा कमिसनमा लागेर प्रतिष्ठान धरासायी बनाए भनेर यहाँका चिकित्सक , नर्स र कर्मचारीहरुले भ्रष्ट्रचार विरुद्धको आन्दोलन सुरु गर्दा संघीय सरकार र प्रदेश सरकार समेत चुप लागेर बस्नु अत्यन्तै दु:खद भएको प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पखरेलले बताए ।
प्रतिष्ठानमा बर्तमान पदाधिकारीहरुकै कारण ९० करोड घाटा भएको बताए ।' आवश्यक स्रोतसाधन हुँदाहुँदै प्रतिष्ठानलाई ९० करोड घाटा कसरी भयो ? प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गरी प्रतिष्ठान बचाउनका लागि हामीले आन्दोलन थालेका हौं,' उनले भने ।
प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले प्रतिष्ठानको उपकुलपतिजस्तो जिम्मेवार व्यक्ति कार्यकक्षमा मादक पदार्थ सेवन गरेर वितण्डा मच्चाउदा कार्वाहि गर्नुपर्नेमा प्रहरीले उल्टै संरक्षण गरेको भन्दै आक्रोष व्यक्त गरेका छन् । उनले हिजो पूर्व सभामुख कृष्णबहादुर महरालाई समेत कार्वाहि प्रकृया अगाडी बढाउदा डा. गिरीलाई कारवाही नगर्नुको कारण के हो ? भनेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सिफारिसमा नीजि मेडिकल कलेज संचालन गर्दै आएका डा. ज्ञानेन्द्र गिरीलाई २०७७ साल चैतमा प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको उपकुलपतिनियुक्त गरेका थिए ।
उपकुलपतिगिरी, रजिष्ट्रार मोहनचन्द्र रेग्मी शिक्षाध्यक्ष गुरु खनाल र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानको नेतृत्व सहि ढंकगले संचालन गर्न नसकेका कारण प्रतिष्ठानको अबस्था दिनप्रतिदिन कमजोर बन्दै गएको प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका हाडजोर्नी विभाग प्रमुख प्रा.डा पसुपती चौधरीले बताए ।
धरानका मेयर तिलक राईले वर्तमान पदाधिकारीहरुको इगोका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठान बचाउन संघीय सरकारले नेतृत्व दायी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।