लोकगायन परम्परामा बर्सात
बर्सातलाई खेती, गृहस्थीका लागि मात्र होइन, निरन्तरको झरी, आकाशमा चम्किने बिजुलीको भयावह तरंग र यस भययुक्त वातावरणमा पनि नायक नायिकाबीच उत्पन्न हुने काम उद्यीपन भावको आकर्षण हाम्रा रीतिकालीन काव्य परम्पराको खास विशेषता रहेको छ। यसै परिपेक्षलाई ध्यानमा राख्दै चौथो शताब्दीका महाकवि कालिदासले विश्व विश्रुत, कालजयी ग्रन्थ मेघदूतको रचना गरेका थिए। ‘अषाढस्य प्रथम दिवसे...’ बाट बर्सातको सुरुआततिर संकेत गर्दै कवि निर्वासित जीवन बिताइरहेका यक्षले अलकापुरीमा रहेकी प्रेमीकाको पे्रम–वियोगमा छट्पटिन थालेपछि अन्ततः मेघलाई दूत बनाएर कुशल सन्देशहरू पठाउन चाहन्छ। सर्ग–३ मा कवि यक्षका लागि लेख्छन्–
तस्य स्थित्वा कथमपि पुरःकौतुकाधानहेतो–
रन्तर्वाष्पश्रचिरमनुचरो राजराजस्य दध्यौ।
मेघालोके भवति सुखिनोप्यन्थावृति चेतः
कण्ठाश्लेषप्रणयिनि जनेकिं पुनर्दूरसंस्थे।
लोकगीतमा बर्सात
सृष्टिको प्रारम्भदेखि नै मानिस र प्रकृतिको सम्बन्ध रहँदै आएको छ। त्यो उज्यालोको लागि होस्, भोजनको लागि होस् अथवा अग्निको लागि होस्। पछि मानव–जीवनशैलीकै रूपमा प्रकृतिको सान्निध्य अपरिहार्य हुन गयो र मानवले आफ्नो लोकभाकामा प्रकृतिसँगको साहचर्यका तीता–मीठा कुराहरू अभिव्यक्त गर्न थाले। पछि यिनै भावहरू सघन रूपमा हाम्रा लोकगीतहरूको आत्मा बन्न पुगे, जसको निरन्तरता आजसम्म जारी छ। अथर्ववेदको यो सूक्तिले त्यस्तै प्रकृतिको आदिम तर मनमोहक स्वरूपको वर्णन गरेको छ– विस्तृत नीलो आकाश, चम्किलो सूर्य, फक्रँदा फूलहरू, शीतल, सुगन्धित वायु, छालयुक्त समुद्र, कलरवलीन चराचुरुंगी, शस्य–श्यामला धरती र विस्तृत हिमपर्वत शृङ्खला...। (प्रथम खण्ड) चतुर्थ काण्ड, सू. २, मं. ५, आर्यसाहित्य मण्डल लिमिटेड, अजमेर, वि.सं २०२२, पृ. २३२)।
यस प्राचीन ग्रन्थमा वर्णित प्रकृतिचित्रणमा समुद्रलाई हटाइदियौं भने नेपालको पहाडी प्रदेशको स्वाभाविक चित्रण भएको महसुस गर्दछौं। अर्थात् प्रकृति प्राचीन कालदेखि नै मानवीय संवेदनाको एउटा अविच्छिन्न अंग रहँदै आएको छ। मैथिली लोकगीतहरूमा प्रकृतिचित्रण प्रचुर मात्रामा आएको छ। यहाँ बर्सातको समयमा गाइने लोकगीतहरूको चर्चा गर्न चाहुँला, जसमा प्रकृतिको संयोग र वियोग आलम्बनको बडो सजीव चित्रहरू प्रस्तुत भएका छन्। मिथिलाञ्चलमा भन्ने चलन छ– ‘जेठ हे सखी, हेठ वर्षा’। अर्थात् जेठ मास आउँदै बर्सात सुरु हुन्छ। अब त प्रकृति वैज्ञानिकहरूको प्रयोगको साधन बन्दै गएको छ। आफ्नो समयतालिका मात्रै हैन, स्वरूपसमेत फेर्न विवश प्रकृतिको स्वरूप अहिले नै हेरौं– तराईको जनकपुर, सिराहा, मलंगवाको गर्मी र काठमाडौं उपत्यकाको गर्मीमा भेद छुट््याउन गाह्रो भएको छ।
प्रकृतिको यो बदलिँदो स्वरूप मौलिक लोकगीतहरूमा परम्परागत विश्वास झल्कने कथनहरूलाई प्रभाव पार्न सकेको छैन। अहिले पनि जाडो, गर्मी, बर्सातको प्राचीन मान्यताले नै समय निर्धारण गरेको छ। जेठपछि आउने बर्सातले जहाँ कृषिजन्य काममा सघाउने काम गर्दछ त्यहीँ बाटोघाटो बिगार्ने, हिलो–पानी जमाउने, घर चुहिने, बिजुली चम्कने, राति भयावह र अँध्यारो हुनेजस्ता अवस्थाको सृजना गर्दछ। एउटा सोहर लोकगीतमा हेरौं कृष्णजन्मको चित्रण–
‘उतरि साओन चढ भादव चहुदिशि कादब रे।
ललना, मेघवा झडी लगाव कि दामिनी दमकए रे।।
रिमिक झिमिक बुन्द बरसय, दादुर हर्षित रे।
ललना, देवकी वेदन व्याकुल, दगरिनि आनय रे।।’
साउन समाप्त भएर भदौ लागिसकेको हुन्छ। दिनरात मेघ बर्सिरहेको हुन्छ। सबैतिर हिलो नै हिलो भएको हुन्छ। ठूलो स्वरले चम्कने बिजुली वातावरणलाई भयावह बनाइरहेको हुन्छ। तर पनि भ्यागुताहरू यो देखेर प्रसन्न हुन्छन्, उत्साहित हुन्छन्। यस्तै समयमा देवकी प्रसवपीडाले छटपटिन थालेकी छन् र ‘दगरिनि’ (धाई) लाई बोलाउन अह्राइन्छ। प्रकृतिलाई समेटिएर गाइने लोकगीतहरूमा पावस, झूला, चौमासा, छमासा, बारहमासा, मलार आदि आउँछन्। यसमा मिलन र विरहका पनि अनेकौं रोचक प्रसंगहरू आएका हुन्छन्। बर्सातको रात, झमझम वर्षाको स्वर, ठन्डाहावाको तरंग, बाहिर मस्तीमा धुन निकाल्दै भ्यागुताहरू र यस्तो अवस्थामा घरमा एक्लै बस्नुपर्ने, सुत्नुपर्ने बाध्यता प्रोषितपतिका नायिकाहरू छटपटिन्छन्–
‘सखी पावस अति दुःखदाई, घेरी घटा घन छाई,
बिजुली चमकए, दामिनी दमकए, कारी कारी वदरा डेराई।
अन्धकार भए सुूझत नाही, दादुर कुहुकि सुनाई,
दादुर बजाए जियरा कांपय, प्रीतम प्यारे नहि आए।’
वर्षाऋतुको वर्णन गर्दै वियोगिनी नायिका आफ्नी सखीसँग भन्छिन्– ‘हे सखी, पावस निकै कष्टदायी रहेको छ। बादल घुमी–घुमी आकाशमा छाइरहेका छन्, कालो–कालो बादलको बिचमा बिजुली चम्किरहेको छ। भयंकर अँध्यारो छ, जसमा केही देख्न सकिँदैन। भ्यागुत्ताको ध्वनि चारैतिर व्याप्त छ। तर, पति आउनुभएन, मेरो जीउ डरले काम्न थालेको छ। मैथिली भाषाका महाकवि विद्यापति लोकगीतहरूमा वर्णित यस्तै खाले प्रकृतिचित्रणबाट प्रेरणा लिएर लेखेका होलान्–
‘साओन मास बरसि धनवारि
पन्थ न सूझे निसि अन्धियारि
चौदिसि देखिए विजुरी रेह
हे सखी कामिनी जीवन सन्देह।’
(विद्यापति, डा. शिवप्रसाद, लोकभारती प्रकाशन इलाहावाद, २००४)
साउन महिनामा भयंकर जलवृष्टि प्रारम्भ भइसकेको छ। अँध्यारोले गर्दा बाटोसम्म देख्न छाडिसकेको छ। चारैतिर बिजुली चम्किरहेको छ। यस्तो विकट परिवेशमा कामिनी (नायिका) लाई आफ्नै जीवनप्रति शंका उत्पन्न हुनथाल्छ। प्रकृतिको यो भयावहता विरहिणीहरूलाई सताउने खालका हुन्छन् र त्यसको चित्रण पनि लोकगीतहरूमा प्रशस्त मात्रामा आएका छन्। एउटा नौमासा गीतमा बर्सातको भयावहताको चित्र यसरी कोरिएको छ–
‘आये अषाढ बुंद वरिसत, नआई निनियां हे माघो,
तोहि बिनु सोचथि धनीआ, सेज बैरनिया हे माघो।
सावन कहिगेल आओन अवध जोतरिया हे माघो,
धरमो ने बांत हमार दोष मति धरिया हे माघो।’
असार महिनाको सघन वर्षा, आँखामा निन्द छैन। पतिका बारेमा सोचिरहेकी नायिकाका लागि ओछ्यान दुस्मनजस्तो हुन पुगेको छ। साउनमा आउने भनी गएका अझसम्म आएका छैनन्। यस्तोमा धर्म पनि बचाउन कठिन छ, दोष नदिनू है...। प्रकृतिको उद्यापन परिवेशमा आफ्नो सुझबुझसमेत बिर्सन सक्ने खतराप्रति सचेत नायिका लोकलज्जासमेत त्याग्न बाध्य हुनु निश्चय बर्सात महिनाको अद्भूत प्रतिक्रिया मान्नुपर्छ।
‘पावस’ गीतको एउटा प्रसंग हेरौं–
‘सखि बोलन लागे मोर।
उमडि–घुमरि वरसत बदरा रे,
धन गरजत चहुंओर।
चमकिदमकि दामिनी डेराबए,
तरसतु मनुवां मोर।
रयन अन्हरि घटा भेल कारी,
मदन ढवाबए जोर।’
बर्सातको मौसम, मयुरको नृत्य र बोली गुञ्जिन थालेको छ। बादल घुमी–घुमी बर्सिरहेको छ, कालो मेघभित्र बिजुली गर्जिरहेको छ। उसको सस्वर चमकले त्रास उत्पन्न गर्दछ, मनमा चिसो पसेको छ। तर बर्सातको यो मौसममा जीउ कामभावनाले जलिरहेको छ, हे नन्दकिशोर, मेरो ख्याल गर...। अर्थात् सामान्य लोकगीतहरूझैं यहाँ पनि कृष्णलाई नै माध्यम बनाई विरहवर्णन गरिएको छ।
बर्सातकै मौसममा गाइने एउटा अर्को विधा हो मलार। यसमा झूला र बर्साती दुवैको सम्मिश्रण पाइन्छ। यो मिथिलाक्षेत्रमा प्रचलित प्राचीनतम् गीतहरूमा मानिन्छ। मलारमा छन्द, लय र संगीतको त्रिवेणी प्रवाहित भइरहनाले यसको गायनलाई निकै महत्वका साथ देखिन्छ। यो गीत पुरुष र महिला समान रूपमा गाउँछन्। महिला झूलामा बसेर गाउँछिन् भने पुरुष साजबाजसाथ गाउँछन्। एउटा मलार गीतमा कृष्णकै आलम्बनमा सखीहरूमाझ राधा भन्छिन्– ‘सखी हे, कृष्णले मलाई बिर्सिसके जस्तो छ। असारको सुरुमै मसँग छुट्टिएका मोहनबिना म कसरी यो अँध्यारो रातिलाई खेप्न सक्दछु।’ पानी परेको रातमा आफ्नो घरमा बसिरहेकी नायिका सोच्दैछिन्– ‘भाद्रमा कामको थोपा बनी बर्सिरहेको मेघको पीडाले सबै गोपीहरू आफ्नो जीउबाट निराश भइसकेकी छिन्’—
‘सखि रे विसरल मोहि मुरारी,
प्रथम अषाढ तेजल मनमोहन,
कोना खेयब अन्हियारी,
रिमझिम रिमझिम साव वरिसय
सोचथि नारि अटारी,
मदन वुंद मेघ बरिसय भादव,
सव गोपियन जिब हारी—।’
‘हरिअनन्त हरि कथा अनन्ता’ जस्तो मैथिली लोकगीतमा बर्सातको विभिन्न रूपमा प्रशस्त चित्रण अनन्त रूपमा भएको छ। त्यस्ता चित्रहरूलाई आधार बनाई समसामयिक दृश्यकथाहरूको प्रस्तुति लोकारञ्जन मात्रै होइन, संस्कृति संरक्षणको क्रममा पनि उपलब्धिमूलक हुनेछ।