सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च : आसपासका क्षेत्रमा सतर्कता
धरान : सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षामा उच्च सतर्कता अपनाइएको छ।
सप्तकोसी नदीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ। सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण आतंकित बनेका छन्। पानीको बहाव उच्च हुँदासमेत भारत सरकारले कोसी व्यारेजका ५६ मध्ये २८ वटा मात्र ढोका खोलेको छ। सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ती डुवानमा पर्ने त्रास बढेको स्थानीयले बताएका छन्।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदासमेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्बसाधारण त्रसित भएको कोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए। उनले पानीको बहाव उच्च हुँदासमेत कोसी व्यारेजका सबै ढोका खोलेर सर्वसाधारणलाई र्निढुक्क साथ रात विताउन व्यवस्था मिलाइदिन सरकार सँग माग गरेका छन्। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरीको महेन्द्रनगर, प्रकासपुर, राजाबास, मधुवन, र हरिपुर क्षेत्रका सर्वसाधारण त्रसित बनेको कार्कीको भनाई छ।
सप्तकोसीमा पानीबो बहाव बढेसँगै सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले कोसी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोरसहितको सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिसकिएको जानकारी दिए।
२०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो। कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, हरीपुर, प्श्चिम कुशाहा र लौकही गाविसमा हजारौं विघा खेतियोग्य जमिन भरुभुमि बनाउनुका साथै ५ हजारभन्दा बढी घर परिवारको उठिबास बनाएको थियो।