सडकमै बालिकामाथि बलात्कार प्रयास !
दैलेखः दैलेखमा एक बालिकामाथि सडकमै बलात्कार प्रयास भएको छ ।
नारायण नगरपालिका–८ तर्ताङस्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयको पूर्वतर्फको सडकमै बालिकामाथि बलात्कार प्रयास भएको प्रहरीले जनाएको छ । बिहीवार दिउँसो साँढे ४ बजे ती बालिका उक्त सडक हुँदै घर फर्किँदै थिइन् । सडक छेउछाउ सल्लाघारी समेत छ ।
घरायसी काम सकेर घरतर्फ फर्किँदै गरेकी बालिकामाथि जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायण नगरपालिका–८ का १८ वर्षीय दिपेन्द्र नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।
मदिरा सेवन गरी सडकमै बसेका युवकले ती बालिकालाई सडकबाट तानेर जंगलतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवकले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा ती युवतीको आँखामा चोट लाग्नुका साथै नाक र मुखबाट रगत निस्किएको थियो । बलात्कार प्रयासमा प्रतिरोध गरेर बालिका बलात्कृत हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
प्रतिरोधका क्रममा बालिका चिच्याएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । बालिकामाथि बलात्कार प्रयास गरेका ती युवकलाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो ।
बालिकामाथि जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को आरोपमा पक्राउ परेका ती युवकमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आरोपितलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिइ हिरासतमा राखेर थप अनुसन्धान थालेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !