चेपाङलाई खोई खोप ?
चितवन : राप्ती नगरपालिका १३ सार्लिङकी ६५ वर्षीया गोपीमाया चेपाङलाई कोरोनाको बारेमा खासै थाहा छैन।
गाउँमै खोरिया पाखो गर्दै जीवन बिताउने गोपीमायालाई कोरोनाको खोपको बारेमा कसैले पनि भनेका छैन्न। आफूहरू विकट इलाकामा भएकाले कसैले केही खबर नगरेको गुनासो उनले पोखिन्।
बजार क्षेत्रमा बसोबास गर्ने उनकै उमेरका अन्य नागरिकले खोप लगाइसके। तर विकट भेगका उनी जस्तै वृद्धवृद्धा खोप बारे अझै पनि अनभिज्ञ छन्।
चेपाङ समुदायका अधिकांशलाई खोप बारे थाहा नै छैन। अझ कतिपय त अरुका हल्लापछि लागेर खोप लगाउन नै डराउने गरेका छन्।
गोपीमायालाई खोप लगाए के हुन्छ भन्ने पनि थाहा छैन। तर उपलब्ध हुने हो भने आफू खोप लगाउन तयार भएको उनी बताउँछिन्। ‘खोप लगाउन त थाहा पाउन पर्यो नि बुढी मान्छेले। कसैले भन्दिएनू’, उनले भनिन्, ‘थाहा पाउन पर्यो नि। खोप आयो भने लाउने हो।’
सरकारले प्राथमिकताका आधारमा खोप लगाउन भनेर छुट्याएको उमेर समूहका नागरिक नै खोप पाउनबाट वञ्चित भएका छन्। सरकारले अति विपन्न वर्गमा सूचीकृत गरेको चेपाङ जातीका लक्षित समूहले खोप लगाउन पाएका छैनन्। उनीहरूको गाउँमा खोप लगाउन कसैले पनि खबर गरिदिएनन्। न त व्यवस्था नै भयो।
चितवन जिल्लाका चेपाङ समुदायमा खोपको बारेमा केही जानकारी छैन। राप्ती नगरपालिका १३ का नगरकुमार चेपाङले खोप बारे कसैले केही पनि नबताएको सुनाए। ‘हामीलाई न रोगको बारेमा थाहा छ, न सुई बारे थाहा छ, कसैले केही भनेका छैनन्’, उनले भने, ‘खोप लगाउनू भनेको रेडियोमा सुनेको हो तर यहाँ केही भनेनन्।’
राप्ती नगरपालिकाको वडा नम्बर १३ चितवनको सबैभन्दा विटक क्षेत्र अन्तर्गत पर्दछ। स्यामराङ, पोल्किम, सान्थली, सार्लिङ लगायतका बासिन्दालाई खोपको महत्त्वका बारेमा बुझाउन सकिएको छैन।
खोप लगाउँदा स्वास्थ्यमा जोखिम हुनसक्ने पनि कतिपयको बुझाइ छ। कतिपयले भने रोग नलाग्दा खोप लगाउन हुँदैन भन्ने भ्रमलाई पालेर बसेका छन्।
उनीहरू कोरोनाको विषयमा डर मान्छन्। गाउँ छाडेर अन्यत्र गएका पनि छैनन्। चेपाङ गाउँमा चेतनामूलक कार्यक्रम पनि पुग्न सकेका छैनन्। स्थानीय पालिकाले यस विषयमा खासै चासो दिएको पनि पाइँदैन। उनीहरूले आफ्नै परम्परागत शैलीमा जीवन गुजारा चलाएका छन्। स्थानीय इन्द्रमाया चेपाङलाई कोरोना विरुद्धको खोप वारे थाहा नै छैन। ‘एक्लो घर कसैले खबर गरेनन्, कसैले भनेनन्। के थाहा ?’, उनले प्रश्न गर्दै भनिन्, ‘खोपको बारेमा केही पनि थाहा छैन।’
कोरोनाको खोपको विषयमा लक्षित उमेर समूह नै अनभिज्ञ छन्। ‘खोप भनेको सुनेको त हो तर आको पनि छैन लाको पनि छैन’, स्यामराङका टेकबहादुर चेपाङले भने, ‘कुरा त सुनेको हो। लगाऊ भन्न कोही आएको छैन।’
राप्ती नगरपालिका वडा नं १३ का वडाध्यक्ष सूर्य प्रजाले खोप बारे वडामा कुनै जानकारी नभएको बताए। खोप कार्यक्रममा चेपाङ बस्तीलाई प्राथमिकता नदिएको उनले बताए। ‘खोप भनेको के हो भन्ने नै जानकारी गराइएको छैन। अनि के गरी लाउँछन् त ?’ उनले भने, ‘हाम्रो गाउँमा खोप बारे बुझेका नै छैनन्।’
खोपको विषयमा नबुझेपछि सबै डराएका छन्। उनीहरू रोगसँग डराएपनि खोपसँग डराएका छैनन्। स्थानीय लक्ष्मण चेपाङ पनि खोप बारे कसैले जानकारी नगराएको बताउँछन्। ‘हामीलाई कसैले खोप लगाउने भनेर खबर गरेनन्’, उनले भने, ‘खोप लगाउँदा के हुन्छ कसैले बुझेका छैनन्। बुझाउने हो भने सबैले खोज्छन् नि।’
यसबाट दुर्गम गाउँका ज्येष्ठ नागरिकलाई खोपको महत्त्वका विषयमा बुझाउन सरकार चुकेको पुष्टि हुन्छ। सरकारले जेठ २५ देखि २७ गतेसम्म देशभरका ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोपको पहिलो मात्रा दिने अभियान चलाएको थियो। यो अभियानमा चेपाङहरू समेटिन सकेनन्। अधिकांश चेपाङ स्वास्थ्य संस्थाको पहुँचमा पनि पुगेका छैनन्। उनीहरू स्वास्थ्य मापदण्डबारे जानकार पनि छैनन्। खोप लगाउँदा यो समुदाय खासै प्राथमिकता परेन।
चेपाङ समुदाय भौतिक दूरी कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको पालनामा खासै गम्भीर पनि देखिएका छैनन्। त्यस्तै बिरामी भइहाले पनि तत्काल अस्पताल जान खोज्दैनन्। जसकारण यो समुदायमा कोरोना भाइरसको जोखिम बढी देखिएको छ।